ठूला आयोजनामा विदेशी लगानी आवश्यकः देउवा
काठमाडौंः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ठूला आयोजना निर्माण गर्न विदेश लगानी आवश्यक रहेको बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्र आर्थिक मेरुदण्डका रूपमा रहेको र पर्यटन पूर्वधार नभएसम्म पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए । काठमाडौं तराई द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल स्वदेशी लगानीमा बनाउन निकै कठिन भएको देउवाको भनाइ छ ।
नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले फास्ट ट्रयाक बनाउन १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा कांग्रेस सभापति देउवाले पूर्वाधारका ठूला आयोजनामा विदेशी लगानी भिœयाउनुपर्ने धारणा राखे । उनले फास्ट ट्रयाक र निजगढ विमानस्थल नेपाल आफैंले बनाउन सके राम्रो हुने भए पनि नेपालीले आफ्नै लगानीमा बनाउने सम्भावना भने निकै कम रहेको औंल्याए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिह केसीले पर्यटन क्षेत्रको विकास गर्न सबै पर्यटन व्यवसायी एक नभएसम्म पर्यटन क्षेत्रले आर्थिक संवृद्धिको बाटो लिन नसक्ने बताए । कार्यक्रममा पर्यटन व्यवसायी मोहन लम्साललाई पर्यटन वर्ष पुरुष अवार्ड प्रदान गरिएको थियो ।