ठूलो करदाता बन्न कम्पनीबीच प्रतिस्पर्धा
काठमाडौंः सरकारलाई सबैभन्दा बढी आयकर बुझाउनेमा दूरसञ्चार सेवाप्रदायक कम्पनी अगाडि देखिएका छन् । पछिल्लो केही वर्षयता एनसेल र नेपाल टेलिकम पहिलो र दोस्रो आयकरदाता बन्दै आएका छन् ।
एनसेल निजी क्षेत्रले सञ्चालन गरेको कम्पनी हो भने नेपाल टेलिकम सरकारी स्वामित्वमा सञ्चालित कम्पनी हो । आयकर बुझाउने कम्पनीमा नेपाल टेलिकम धेरै वर्षदेखि पहिलो बन्दै आएको थियो । पछिल्ला वर्षमा एनसेलले टेलिकमलाई उछिनेको छ ।
टेलिकम र एनसेलको सेवा विस्तार तथा विविधीकरण हुनुका साथै प्रयोगकर्ताको संख्या बढेपछि दुवै कम्पनीको कारोबार बढेको हो । अहिले धेरैजसो नेपालीको हातमा मोबाइल फोन पुगिसकेको छ । मोबाइल फोनबाट भ्वाइस कल र इन्टरनेट चलाउँदा टेलिकम कम्पनीको आम्दानी बढेको हो । इन्टरनेट सेवा नै टेलिकम कम्पनीको मुख्य आम्दानीको स्रोत बन्न थालेको छ ।
गत आर्थिक वर्ष एनसेल, नेपाल टेलिकम, सूर्य नेपाल, गोर्खा ब्रुअरी र नबिल बैंक क्रमशः एकदेखि पाँचौं नम्बरसम्म परेका छन् । यी कम्पनीहरू अघिल्लो आव २०७१/७२ मा पनि सोही स्थानमा थिए । गत आवमा एनसेलले २० अर्ब ८५ करोड, टेलिकमले सात अर्ब १६ करोड, सूर्य नेपालले तीन अर्ब १८ करोड, गोर्खा ब्रुअरीले एक अर्ब ५६ करोड र नबिल बैंकले एक अर्ब ४५ करोड रुपैयाँ आयकर बुझाएको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ ।
अघिल्ला वर्षहरूमा प्रमुख २५ आयकरदाताभित्र नपर्ने नेपाल आयल निगम गत वर्ष छैटौं नम्बरमा पर्न सफल भएको छ । गत आवमा आयल निगमले सरकारलाई एक अर्ब ३९ करोड रुपैयाँ आयकर बुझाएको छ । अघिल्लो वर्ष छैटौं नम्बरमा रहेको कृषि विकास बैंक भने गएको वर्ष नवौं स्थानमा झरेको तथ्यांकले देखाएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले लगातार दुई वर्ष सातौं स्थानमा आफ्नो पकड जमाउन सफल भएको छ ।
यो बैंकले गत वर्ष एक अर्ब ३४ करोड रुपैयाँ आयकर बुझाएको छ । आठौं नम्बरमा रहेको एभरेस्ट बैंक ११औं नम्बरमा झरेको छ । १२औं नम्बरमा भएको हिमालय बैंक १०औं नम्बरमा उक्लिएको पनि तथ्यांकले देखाएको छ ।
अघिल्लो आवमा ११ नम्बरमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंक १३औं नम्बरमा धकेलिएको छ । टाटा गाडी बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङ २२ बाट १४ मा उक्लिएको छ । त्यस्तै १२औं नम्बरमा रहेको हिमालयन बैंक दुई स्थान माथि चढेर १० नम्बरमा आइपुगेको छ । यसैगरी १३औं नम्बरमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण १५औं नम्बरमा झरेको छ । १४ औं नम्बरमा भएको एसबीआई बैंकले आफूलाई १२औं नम्बरमा चढाउन सफल भएको छ ।
गएको वर्ष राम्रो प्रगति गर्ने कम्पनीमा नेपाल बैंक पनि परेको छ । अघिल्लो वर्ष आयकर बुझाउनेको सूचीमा १७औं नम्बरमा रहेको यो बैंक गत वर्ष आठौं नम्बरमा उक्लिन सफल भएको देखिएको छ । प्राइम बैंकले गत वर्ष पनि २१औं स्थान कायम राखेको छ । १५औं स्थानमा रहेको ग्लोबल आईएमई बैंक १७ मा झरेको छ । १८ नम्बरमा रहेको सिद्धार्थ बैंक १६ नम्बरमा उक्लिएको छ । गत आवमा राष्ट्रिय वाणिज्य बैंक आयकर बुझाउनेको सूचीमा नवौं स्थानबाट १८औं स्थानमा झरेको छ ।
प्रमुख २५ बाट भित्रिने/बाहिरिने कम्पनी
आव २०७१/७२ मा बढी आयकर बुझाउने २५ कम्पनीको सूचीमा रहेका ६ कम्पनी गत आवमा बाहिरिएका छन् । ती कम्पनीको ठाउँमा नयाँ कम्पनी भित्रिएका छन् । सूचीबाट बाहिरिनेमा नेपाल दूरसञ्चार प्राधिकरण, अग्नि इन्कर्पोरेट, नेपाल वायुसेवा निगम, इम्प्रेजिलो एसपीए, युनिलिभर, एसियन डिस्ट्रिलरी र एनआईसी एसिया बैंक छन् । अघिल्लो आवमा बढी आयकर बुझाउनेमा प्राधिकरण १६, अग्नि १९, इम्प्रेजिलो १० र युनिलिभर २०औं नम्बरमा थिए ।
यसैगरी गत आवमा नेपाल आयल निगम, हिमाल पावर कम्पनी, सनराइज बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, सानिमा बैंक र माछापुच्छे बैंक प्रमुख २५ आयकरदाताभित्र परेका छन् ।