गाउँको प्रीत सम्झेर...
'साँझको बेला, रमैलो मेला, घुम्न हिँडेको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई
पिरतीले मेरो तान्यौ कि कान्छा आज तिम्लाई मैतिर
माया मोह यसरी नै लाग्ने भो'
ल्यापटपको स्पिकरबाट मधुरो आवाजमा गीत बजिरहेछ । समय मध्यरातको उत्कर्षबाट ओरालो झरिरहेछ । आँखामा भने पटक्कै निद्रा छैन । आफैंले बनाएको स्ट्रङ कफी दुई कप पिएर ल्यापटपको किबोर्डमा औंला नचाइरहेछु । तृष्णा गुरुङबारे केही लेख्न बसेको छु । बजिरहेको स्वर उनकै हो ।
तृष्णा गुरुङ अर्थात् एक उदाउँदी गायिका । उनीभन्दा पहिला चर्चामा आयो उनको गीत- 'खनिहो यामु' । गितारसँगै मादल अनि गुरुङ भाषाबाट सुरु भएको गीत । भिडियोमा गुरुङ पहिरन । डोको फालेर दौडिरहेकी तरुनी । झोला बोकेर हिँडिरहेको तन्नेरीको बाटो छेकिरहेकी । अनि त्यही मर्मलाई गितारको धुनसँगै उतारिरहेकी सहरिया शैलीकी गायिका । सायद यही पर्याप्त थियो म्युजिक मन पराउनेलाई तान्न ।
मेन स्ट्रिम मिडियामा भन्दा बढी युट्युबमा हिट छिन् उनी । दुई वर्षअगाडि 'दा रोयल क्रिएसन'ले अपलोड गरेको भिडियो यो लेखोट तयार पार्दासम्म २३ लाख ७७ हजार तीन सय ८७ पटक हेरिएछ । युट्युबमा जति सहज छिन्, भेटघाटमा भने त्यति नै दुर्लभ । फेसबुकमा पेज छ तर सक्रिय छैनन् । ट्विटरमा भेटिइनन् । चार चौरास धाएर फोन नम्बर फेला परेपछि भने एकै फोनमा भेट्न तयार भइन् ।
०००
साउनको पहिलो साता । झमझम झरी लागिरहेको बेमानी मौसम । बागबजार शंकरदेव क्याम्पस भएको गल्ली । तृष्णा गुरुङ हामीलाई कुरी उभिएकी हुन्छिन् । स्कुटी छेउ लगाएर । हेलमेट सिउरिएर । रेनकोट भिरेर । मुख मास्कले ढाकेर । काठमाडौंमै जरा गाड्दा पनि भूगोल मेसो पाउँदिरैनछिन् । तैपनि बोलाएकै समयमा आइपुगेकी थिइन्, मोबाइलमा लोकेसन सुनेको भरमा । हतारोमा थिइन्, नयाँ गीत रेकर्ड गर्न जानुपर्ने रैछ ।
हामी बेमानी ढिलो गर्यौं आफैं । तथापि सक्दो टाइम दिने भइन् । दीपक सापकोटाले लिएर गयो उसले चिनेको क्याफेमा । सुरुमै ढुंगा लाग्यो । हामीले छानेको टेबल नजिकको अर्कोमा एक जोडी किस गरिरहेथे । कसरी बस्नु, पहिलोपटक एक समवयी गायिकासँग ? फनक्क फर्कियौं । अर्को क्याफे रोज्दा दस मिनेट गइगयो ।
०००
तृष्णा गुरुङलाई 'बडी एन्ड ब्युटी ल्यांग्वेज'मा व्याख्या गर्न चाहन्नँ म । हेर्न चाहनेलाई फोटो उपलब्ध छ । सुन्दर छिन् उनी जसरी हरेक जवान केटी हुने गर्छन् । मलाई मन परेको उनको गीत हो । गीतमा लुकिबसेको नस्टाल्जिया हो । मादलको धुन हो । गितारको झुनझुन हो ।
हो, तृष्णाका गीतहरूमा गहिरो नस्टाल्जिया पाइन्छ । लाग्छ, उनी गाउँको बैंस सम्झनामा बोकेर सहरमा उमेर लुटाइरहेको बुढेसकालको कथा गाइरहिछिन् । लाग्छ, उनी गाउँको प्रीत सम्झेर सहरको बाफिँदो मौसममा एक्लैएक्लै चुपचाप सुँक्कसुँक्क सुँक्सुकाइरहिछिन् । लाग्छ, उनी गाउँ बोकेर बाँचिरहेको सहर हुन् ।
उनको गीतमा गाउँले नस्टाल्जिया बोकेको सहर भेटिन्छ । त्यसैले उनले पप शैलीमा लोक धुन मिसाएको हुनुपर्छ । सोध्छु, कसरी अटायो यो गहिरो नस्टाल्जिया उनको गीतमा ?
एकदमै सरल जवाफ आउँछ उनको । भन्छिन्, 'म गीतमा नेपाली ट्युन राख्न मन पराउँछु ।' अनि कसरी आयो त यो भावना ? कसरी आयो यो गाउँको नस्टाल्जिया ? उनीसँग नै छैन यी सबै प्रश्नको जवाफ । अचम्म ! न उनी गाउँमा हुर्किन्, न गाउँ नै जानिन्, बुझिन् ।
०००
स्याङ्जामा जन्मिएकी तृष्णाको बाल्यकाल भने भारतको हिमाञ्चल प्रदेशमा बित्यो । मेकानिकल इन्जिनियर बाले होस्टल बसाइदिए हिमाञ्चलमा । बिदामा आउँदा भैरहवा घर आउँथिन् । आमाको माइती बुटवल जान्थिन् । त्यसपछि काठमाडौंमा सुरु भएको बसाइ थानकोट नाघेको छैन आक्कलझुक्कलबाहेक । अचेल त बेलाबेलामा कन्सर्टमा पनि जाने गर्छिन् ।
काठमाडौंमै सुरु भएको हो उनको संगीत यात्रा । अचम्म कुनै औपचारिक कक्षा लिइनन् । घरमै सिकिन् गितार बजाउन । भन्छिन्, 'दाजुहरूले बजाएको देखेरै सिकेको हुँ ।' अचेल भने औपचारिक कक्षामा भर्ना भएकी रहिछन् । एक महिना पुगेछ संगीतको औपचारिक कक्षा लिन थालेको । अनि यो संगीतको ज्ञान ? लोक धुनको मोह ? त्योभन्दा पहिला उनको सांगीतिक यात्राकै कुरा गरौं ।
स्कुले जीवनमा साथीहरूसँग ठट्टैठट्टामा गाएको 'ए ह्यान्डसम कता जान लागेको/एकफेर हेर यता फर्केर'बाट उनको सांगीतिक जीवनमा औपचारिक आगमन हुन्छ । अहिले त उनी क्याम्पसे विद्यार्थी भइसकिन्, सोसियोलोजीमा मास्टर्स गर्दै गरेकी । टिन एजको गीतलाई उनी केवल प्रयास मान्छिन् । युट्युबमा हेरेर गएको, म कोट्याउँछु उनलाई । लाजले रातो हुन्छिन् । कुरा मोड्छिन् अर्को गीतको प्रसंग जोडेर ।
०६४/०६५ तिर वसन्त श्रेष्ठको ब्यान्ड '११:३० बसन'सँग मिलेर गरेको कन्सर्टमा गाएको 'दैव जानोस्' उनको अर्को खुड्किलो थियो । तर पनि उनी पर्दापछाडि नै थिइन् । गीत खासै चर्चामा थिएनन् । दुई वर्षअघि यु ट्युब रिलिज गरेको 'खनियो यामु' नै उनको क्वान्टम लिप बनिदियो ।
०००
'खनिहो यामु ए, कान्छा खनियो यामु ए
म पनि जान्छु तिमीसँगै, म पनि जान्छु ए'
'खनिहो यामु' अर्थात् गुरुङ भाषामा- कता जान लागेको ? कसरी आइपुग्यो तृष्णासामु यो गीत ? ब्ल्याक टिको चुस्की लिँदै सम्झिन्छिन् उनी, 'तीन÷चार कक्षा पढ्दा नै दाइहरू गितार बजाउँदै यो गीत गुनगुनाउनुहुन्थ्यो तर सुरुका दुई पंक्तिमात्रै ।' त्यति बेला नै गडेर बसेको रैछ तृष्णाको मनमा यो गीत । उनले खनिहो यामुको अर्थ खोज्दै गइन् ।
दाजुहरूले गाउँदा खानिहो रैछ खनि बनाइन् । अर्थ पत्ता लगाइन् । दाजुहरूको गीतमा भएकी कान्छीलाई कान्छा बनाइन् । अरू पंक्ति थपिन् । गीतले छलाङ मार्यो । गीत सबैको ओठमा झुन्डिन थालेपछि तृष्णाको खोजी सुरु भयो ।
०००
अहिले तृष्णा एउटा वृत्तको लाइम लाइटमा छिन् । कन्सर्टमा बोलाइन्छिन् । रमाइलो मेलाहरूमा डाकिइन्छिन् । पहिलोपटक चितवनमा आयोजित कन्सर्टमा गाएकी उनले पच्चीस रुपैयाँको पहिलो कमाइ गरिछन् । ती सबै नोटमा आफ्नो नाम लेखेर आफन्तलाई बाँडिछन् । अहिले त उनी कन्सर्ट र अरू सांगीतिक कार्यक्रमहरूमा गीत गाउनकै लागि कतारदेखि हङकङसम्म पुग्छिन् ।
कन्सर्टको माहोल सम्झिँदै भन्छिन्, 'जब स्टेज चढ्छु, मप्रति क्रेजिनेस देख्छु । दर्शकहरूको मप्रतिको माया देखेर अचम्म पर्छु । पर्सनल्ली त मैले कसैलाई चिनेको हुँदिनँ तर पनि यत्रो माया कसरी भन्ने हुन्छ ।'
योङ जेनरेसनको एउटा हिस्साले पछ्यारहेछ उनलाई । यो कस्तो हिस्सा हो ? यसलाई बुझ्न तृष्णालाई बुझ्नुपर्छ ।
०००
तृष्णालाई केवल यत्तिको लेखनले बुझ्न गाह्रो छ । तृष्णालाई बुझ्नु भनेको तृष्णाहरूलाई बुझ्नु हो । गाह्रो छ उनीसँग गफिन । खासमा गफ गर्ने केही विषय नै छैन । उनी झूठ बोल्दिनन् । सत्य भन्छिन् । त्यही सत्यले थिच्छ मलाई । गफ दिए पनि हुने नि । गफ पनि नदिएरै हैरान पारिन् ।
म सोध्छु, 'खनि हो यामु तपाईंले खोजेर ल्याउनुभएको हो ? '
उनी भन्छिन्, 'होइन' ।
'लोक धुनलाई तपाईंले पपसँग जोड्नुको पर्पोज के हो ? '
'खासै केही होइन, नेपाली ट्युन राख्न मन पर्छ त्यसैले ।'
'तपाईंको गीतमा नस्टाल्जिया भेटिन्छ, जीवनको कुनै क्षणसँग जोडिएको छ कि ? केही इभेन्ट्स ? '
'होइन, यत्तिकै कल्पना गरेर लेखेको ।'
'म्युजिकमा केही नयाँ गर्न चाहनुहुन्छ कि ? '
'अँ, नेपाली फोल्क ट्युन (लोक धुन)लाई पपसँग जोडेर ट्रेन्ड डिभल्प गर्न चाहन्छु ।'
'त्यसका लागि लोक धुनबारे केही स्टडी, रिसर्च गरिरहनुभछ कि ? '
'अँह छैन, गर्नैपर्छ भन्ने पनि त छैन नि ।'
खासमा तृष्णालाई लोक संगीतबारे खासै धेरै ज्ञान छैन । सारंगी त उनले एक वर्षअघि मात्र देखेकी रे । काठमाडौंकै महाराजगन्जमा सपिङ गर्न जाँदा दुईजना 'गाइने दाजु'ले बजाइरहेको देखिन् रे । मन छोयो रे । एक घन्टासम्म बसेर हेरिन् रे । घरमा आएर गाइनेबारे खोजतलास गरिन् रे । मम्मीहरूसँग सोधिन् रे । अनि तिनै गाइने दाइलाई जोडेर गीत लेखिछन् । त्यही गीतको रेकर्डिङको चटारोमा थिइन् उनी ।
सहरमा धेरै थरी मानिस छन् । नगरेको कामलाई गरेँ भनेर फुर्ती लगाउँछन् । तिल खोतले पहाड खोतलेको धक्कु लगाउँछन् । तृष्णा त्यस्ति छैनन् । इन्नोसेन्ट छिन् । म भन्छु, 'तपाईंसँग कुरा गर्न गाह्रो छ । तपाईंलाई गफ दिन पनि आउन्न ।' हाँसेर टार्छिन् उनले । तर, उनको हाँसोले मेरो राइट अप हुँदैन ।
दुई चरणको भेटमा तृष्णाको स्वभाव खोतल्न खोज्छु म ।
- पानी परेको मौसममा झ्यालको छेउमा बसेर गितार बजाउन मन पर्छ ।
- बाथरुममै प्रायः गीतको फ्रेमिङ गर्छिन् ।
- मौसमबाटै प्रेरणा लिन्छिन् ।
- गाउँघरतिरको कल्पना गर्छिन् ।
- प्रायः लभ सङ नै बनाउन मन पराउँछिन् ।
- अचम्म ! गीत सुन्दिनन् । टीभी हेर्दिनन् । रेडियो सुन्दिनन् । फेसबुकमा सक्रिय छैनन् । न्युजपेपर, बुक पढ्दिनन् ।
एउटा सानो सर्कल छ पाँचजना साथीको । त्यही सर्कलमा घुम्न निस्कन्छिन् ।
भयो अब ? के कुरा गर्ने ? टपिक्सअनुसार धारणा माग्छु ।
म्युजिक- 'डिप मिनिङ भएको विषय हो । जति अर्थ लगायो यसको त्यति नै अर्थ निस्कन्छ ।'
लभ- 'एउटा रेस्पेक्ट हो । केटाकेटीबीच मात्र हुँदैन । आमाबुवासँगको लभ बेग्लै हुन्छ । लभ भनेको माया हो । सानो मद्दत गरे पनि लभ नै हो ।'
गड- ' श्रद्धा गर्छु । विश्वासचाहिँ अहिलेसम्म गर्दिनँ ।'
रमाइलो दोस्रो भेटमा साउन मध्यतिर थियो । उनको हातमा हरियो चुरा मेहन्दी थिएन । किन होला ? भनिन्, 'ममले इभ्री एयर चुरा दिनुहुन्थ्यो । यसपालि बिर्सनुभयो । त्यसैले लगाएको छैन ।'
अनि पोलिटिक्स ?
- नो इन्ट्रेस्ट ।
केही समकालीन सन्दर्भका घटना कोट्याउँछु । उनी अन्जान हुन्छिन् । अब गर्ने के ? त्यसैले त भनेको तृष्णालाई बुझ्नु तृष्णाहरूलाई बुझ्नु हो ।
०००
तृष्णा र तृष्णाहरू योङ एज गु्रपको डेन्जर जेनरेसन हुन् । एउटा सानो सर्कलमा थोरै च्वाइसहरूसहित जीवनको आफ्नै बाटो खनिरहेको यो जेनरेसन धेरै विषयमा ओठ लेप्य्राइदिन्छन् । भनिदिन्छन्- 'ड्याम केयर' । यो ड्याम केयर जमातले गरेको केयरलेसले समाजमा भइरहेको भ्रष्टीकरणलाई साथ दिन्छ । तृष्णाहरूजस्ता उदाउँदा सेलिब्रेटी ड्याम केयर हुँदा त्यसलाई पछ्याउने ठूलो जमात झनै डेन्जर जोनमा फस्छ ।
हो, तृष्णासँग गाउँले जीवन अनुभूतिको नस्टाल्जिया छ । तर, त्यो सापटी मागेको नस्टाल्जिया हो । आमा, काकी, फुपूहरूसँग सापटी मागेको नस्टाल्जियाले देखाउने गाउँको बोध पर डाँडामा धिप्धिप् गरिरहेको दियो देखेर कल्पना आकाशमा उड्ने चेतनाभन्दा बढी होइन ।
चित्रको गाउँ देखेर वाह गाउँ भन्नुभन्दा बढी होइन । अब तृष्णाहरूले सापटी नस्टाल्जियामा संगीत खोजेर हुँदैन । झोला बोकेर मूल थलोमा पुग्नुपर्छ । बल्ल उनले भनेजस्तो ट्रेन्ड डिभल्प हुन्छ ।फिचर राइट अपका लागि कुराकानी गर्न गएको म लेक्चर हान्छु । उनी मुन्टो हल्लाउँदै सुनिरहन्छिन् ।
०००
पहिलेकै क्याफेमा भएको दोस्रो भेटमा हामीबीच बाँकी रहेका सारा कुराकानी रित्तिन्छन् । कफीको बिल पे गरेर उठ्दै गर्दा उनी कमेन्ट गर्छिन्, 'तपाईं कस्तो इन्नोसेन्ट लाग्यो ।' 'मलाई पनि तपाईं इन्नोसेन्ट लाग्यो' भन्छु म । 'तर यो इन्नोसेन्स मलाई मन परेन', थप्न त मन हुन्छ तर थप्दिनँ ।