१५ वर्षीया क्विनले जितिन् स्वर्ण पदक
रियो दी जेनेरियोः ब्राजिलको रियो दी जेनेरियोमा जारी ३१औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा १५ वर्षीया चिनियाँ खेलाडी रेन क्विनले स्वर्ण पदक जितेकी छन् । उनले बिहीबार राति भएको डाइभिङको १० मिटर प्लेटफर्म स्पर्धामा स्वर्ण पदक हात पारेकी हुन् । जारी रियो ओलम्पिकमा पदक जित्ने उनी सबैभन्दा कम उमेरकी खेलाडी पनि बनेकी छन् ।
पदक जितेको दिन उनको उमेर १५ वर्ष एक सय ८० दिन पुगेको थियो । उक्त स्पर्धाको फाइनलमा रेनले पाँचमध्ये तेस्रो डाइभदेखि अग्रता लिएकी थिइन् । उक्त स्पर्धामा चीनकै सी याजीले रजत र क्यानडाकी मेघान बेनफिटोले कांस्य पदक हात पारे । अनुभवी ब्रिटिस खेलाडी टोनिया कोउचको प्रदर्शन भने बिर्सनलायक रह्यो । उनी १२औं भइन् ।
रियो ओलम्पिकमा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी बने पनि क्विन ओलम्पिक खेलकुदको इतिहासमा पदक जित्ने सबैभन्दा कान्छो खेलाडी भने होइनन् । ओलम्पिक खेलकुदको इतिहासमा पदक जित्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान ग्रिसकी जिम्न्यास्टिक खेलाडी दिमित्रियस लोन्डर्सको नाममा छ ।
आफ्नै राष्ट्रमा सन् १८९६ मा भएको ओलम्पिक खेलकुदमा कांस्य पदक जित्दा लोन्डर्सको उमेर केवल १० वर्ष दुई सय १८ दिन थियो । त्यति बेला उनले जिम्न्यास्टिकको टिम स्पर्धामा अन्य खेलाडीसँग मिलेर कांस्य पदक हात पारेकी थिइन् ।
यसैगरी सन् १९३६ मा जर्मनीको बर्लिनमा आयोजित ओलम्पिक खेलकुदमा १३ वर्षीया अमेरिकी खेलाडी मार्जोरी गेस्ट्रिङले स्वर्ण पदक जितेकी थिइन् । उक्त ओलम्पिकको डाइभिङमा स्वर्ण पदक जित्दा मार्जोरीको उमेर १३ वर्ष दुई सय ६८ दिन थियो । त्यसपछि दोस्रो विश्वयुद्धका कारण सन् १९४० र सन् १९४४ मा ओलम्पिक खेलकुद आयोजना हुन नसकेपछि उपाधि जोगाउने उनको चाहना पूरा हुन सकेको थिएन् । सन् १९९२ मा दुर्घटनामा परी उनको निधन भइसकेको छ ।
यसैगरी सन् १९९२ मा स्पेनको बार्सिलोनामा आयोजित ओलम्पिक खेलकुदमा १३ वर्षीया चिनियाँ खेलाडी फु मिङझियाले डाइभिङमै स्वर्ण पदक जितेकी थिइन् । उक्त ओलम्पिकमा स्वर्ण जित्दा उनको उमेर १३ वर्ष तीन सय ४५ दिन थियो । उनले १० मिटर प्लेटफर्म स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् ।
ओलम्पिकमा सहभागी हुनुअघि उनले ११ वर्षको उमेरमै सन् १९९० मा ‘गुडविल गेम्स’मा स्वर्ण पदक र त्यसको एक वर्षपछि आयोजित विश्व च्याम्पियनसिपमा पनि स्वर्ण पदक हात पारेकी थिइन् ।
उनले आफ्नो खेल जीवनमा ओलम्पिक खेलकुदमा थप चारवटा पदक पनि जितेकी थिइन् । यसैगरी सन् १९७६ मा क्यानडाको मोन्ट्रियलमा सम्पन्न ओलम्पिक खेलकुदमा रोमानियाकी जिम्न्यास्टिक खेलाडी नादिया कोमानेसीले १४ वर्षको उमेरमा स्वर्ण पदक जितेकी थिइन् । उक्त ओलम्पिकमा स्वर्ण पदक जित्दा नादियाको उमेर १४ वर्ष दुई सय ४३ दिन थियो । त्यसको चार वर्षपछि आयोजित ओलम्पिक खेलकुदमा पनि उनले दुईवटा स्वर्ण पदक हात पारेकी थिइन् ।
यसैगरी सन् १९९६ मा अमेरिकाको एटलान्टा र जर्जियामा आयोजित ओलम्पिक खेलकुदमा अमेरिकाकै जिम्न्यास्टिक खेलाडी डोमिनिक मोसेनुले १४ वर्षको उमेरमा स्वर्ण पदक जितेकी थिइन् । स्वर्ण पदक जित्दा उनको उमेर १४ वर्ष दुई सय ९८ दिन थियो ।
अमेरिकाकै लस एन्जल्स र क्यालिफोर्नियामा सन् १९८४ मा आयोजित ओलम्पिक खेलकुदमा ब्रिटेनकी पौडी खेलाडी सराह हार्डक्यासलले १५ वर्षको उमेरमा रजत पदक जितेकी थिइन् । उक्त ओलम्पिकमा पदक जित्दा सराहको उमेर १५ वर्ष एक सय १३ दिन थियो ।