ओलम्पिकमा बोल्टलाई आठाैै‌ स्वर्ण

ओलम्पिकमा बोल्टलाई आठाैै‌ स्वर्ण

रियो दी जेनेरियोः जमैकन धावक उसेन बोल्टले ओलम्पिक खेलकुदमा आठौं स्वर्ण पदक जितेका छन् । जारी रियो ओलम्पिक खेलकुदअन्तर्गत बिहीबार दुई सय मिटर दौडमा स्वर्ण जित्दै बोल्टले आफ्नो ओलम्पिकको स्वर्ण संख्या आठ पुर्‍याएका हुन् । यो सफलतासँगै उनी ट्रायक एन्ड फिल्डको प्रतिस्पर्धामा सर्वकालीन महान् खेलाडीको होडमा अघि देखिएका छन् ।

बोल्टले निर्धारित दूरी १९.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । उनले स्वर्णका लागि क्यानडाका एन्द्रे डी ग्रास्सीलाई पछि पारेका थिए । स्वर्ण जितेपछि आफ्नो देशको झन्डासहित केही समय ट्र्याकको वरिपरि दौडिएर खुसियाली मनाएका बोल्टले आफू महान् खेलाडी भएको दाबी गरे ।

‘मैले विश्वसामु प्रमाणित गरेको छु कि म नै महान् खेलाडी हुँ’, बोल्टले भने, ‘म रियो ओलम्पिकमा पनि यही तथ्य प्रमाणित गर्न आएको थिएँ । त्यसमा म सफल भएको छु ।’ बोल्टले आफ्ना लागि यो अन्तिम ओलम्पिक खेलकुद भएको समेत बताए ।

पछिल्लो स्वर्णसँगै बोल्ट ओलम्पिक खेलकुदको लगातार तेस्रो संस्करणमा एथलेटिक्सको एक सय, दुई सय र चार गुणा एक सय मिटर दौडमा स्वर्ण जित्ने पहिलो खेलाडी बन्ने अवसरनजिक पुगेका छन् । शनिबार हुने चार गुणा एक सय मिटर दौडमा स्वर्ण जिते उनले त्यो सफलता प्राप्त गर्नेछन् । रियो ओलम्पिक खेलकुदमा उनले यसअघि नै एक सय मिटरमा स्वर्ण जितिसकेका छन् ।

बोल्टले यसअघि सन् २००८ मा चीनको बेइजिङ तथा सन् २०१२ मा इङ्ल्यान्डको लन्डनमा भएको ओलम्पिक खेलकुदको यी तीनै स्पर्धामा स्वर्ण जितेका थिए । बोल्टले ओलम्पिक खेलकुदमा व्यक्तिगत स्पर्धा तथा समग्रमा सर्वाधिक स्वर्ण जित्ने खेलाडीको सूचीमा पनि एक स्थान सुधार गरेका छन् ।

ओलम्पिक इतिहासमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीको सूचीमा उनी चौथो स्थानमा पुगेका छन् । बोल्टसहित छ खेलाडीले ओलम्पिक खेलकुदको व्यक्तिगत स्पर्धामा ६‍-६ स्वर्ण जितेका छन् भने दुई खेलाडीले सात स्वर्ण तथा एक खेलाडीले आठ र एक खेलाडीले सर्वाधिक १३ स्वर्ण पदक जितेका छन् ।

ओलम्पिक खेलकुदमा समग्रमा बढी स्वर्ण जित्ने खेलाडीको सूचीमा पनि तेस्रो स्थानमा उक्लिएका छन् । उनीसहित आठ खेलाडीले आठ-आठ स्वर्ण जितेका छन् भने तीन खेलाडीले नौ-नौ तथा एकले २३ स्वर्ण जितेका छन् । व्यक्तिगत र समग्रमा दुवैतर्फ सर्वाधिक स्वर्ण जित्ने खेलाडीको सूचीको शीर्ष स्थानमा अमेरिकी पौडीबाज माइकल फेलप्स रहेका छन् ।

ओलम्पिक खेलकुदको व्यक्तिगत स्पर्धामा १३ तथा समग्रतर्फ २३ स्वर्ण पदक जित्ने खेलाडी फेलप्स नै हुन् । चर्चा र प्रदर्शनको हिसाबले फेलप्सपछिको सर्वाधिक सफल खेलाडी मानिएका बोल्टले ओलम्पिक अ‍ेलकुदमा आठौं प्रयासमा आठौं स्वर्ण जितेका हुन् । बेइजिङ ओलम्पिकबाट ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्न सुरु गरेका बोल्टले त्यसयता आफू सहभागी भएको स्पर्धामा आफ्नो एकछत्र राज गर्दै आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.