राजा त्रिभुवनले जब जहाज चढे
भारत सरकारको पहिलो राजदूत भई सुरजित सिंह मजेठिया काठमाडौं आउनुभएको थियो । उहाँबाट पनि नेपालका राजनीतिक दलहरूलाई केही समर्थन थियो । केही समयमा नै सुरजित सिंहको बदलामा चन्द्रेश्वरप्रसाद नारायण सिंह राजदूत भई आउनुभयो । उहाँलाई पनि प्रधानमन्त्री पण्डित नेहरूले नेपालमा केही गर्नका लागि नै पठाउनुभएको थियो ।
चन्द्रेश्वरप्रसाद पटना विश्वविद्यालयका उपकुलपति भइसक्नुभएकाले राणा शासन एवं नेपालको राजनीतिक अवस्थाबारे जानकार हुनुहन्थ्यो ।श्री ५ त्रिभुवनबाट पछिल्ला राजदूतलाई भेट गर्ने ठूलो इच्छा राखिबक्सेको थियो । उहाँबाट राणाशासनको विरोधमा केही अवश्य हुनेछ भन्ने आशा मौसुफबाट राखिबक्सेको थियो ।श्री ५ बडामहारानीका बहिनीहरू काशिपुर विरापुरबाट दिदीलाई भेट्न नेपाल आउनुभएको थियो ।
उहाँहरूलाई त्रिपुरेश्वर गेस्ट हाउसमा राखिएको थियो । उहाँहरू दिनहुँ श्री ५ बडामहारानीहरूसँग भेट गर्न दरबार आउनुहुन्थ्यो । त्यस्तै भारतीय राजदूतावासमा पनि बरोबर जाने गर्नुहुन्थ्यो । उहाँहरूमार्फत राजदूत सिंहसँग श्री ५ महाराजाधिराजको सम्पर्क हुने वातावरण बन्यो । त्यस्तै डा. देवव्रतमार्फत पनि राजदूत रश्री ५ त्रिभुवनका कुराहरू ओहोरदोहोर हुन्थ्यो ।
त्यसै समय अर्थात् २००५ साल फागुनको अन्त्यतिर श्री ५ बडामहारानीको उपचारका लागि भारतबाट काठमाडौं आउनुभएकी नर्स एरिका लुस्टागमार्फत पनि राजदूत सिंहसँग सम्पर्क हुन थाल्यो । डा. देवव्रतले श्री ५ महाराजाधिराजसँग एक्लै भने दर्शन पाउनुहुन्नथ्यो, दरबारमा कर्नेल अथवा प्रधानमन्त्रीको विश्वासिलो मानिसका साथमा मात्र दर्शन पाउनुहुन्थ्यो ।
डा. देवव्रत श्री ५ अधिराजकुमारहरूकहाँ पनि बरोबर जाने गर्नहुन्थ्यो । नर्स लुस्टाग दरबार तथा भारतीय दूतावासमा जानेआउने गर्नुहुन्थ्यो । त्यस्तो अवस्थामा श्री ५ महाराजाधिराजबाट राजदूतलाई एक्लै भेट्ने कुरा सम्भव थिएन । कसरी उत्सव अर्थात् शिवरात्रि, फूलपाती आदिमा टुँडिखेल खरीको बोटमा मात्र भेट हुन्थ्यो तर त्यहाँ कुनै कुरा भने हुन सक्दैनथ्यो ।
मोहनशमशेरको समयमा हप्ताको दुईपटक काठमाडौं र पटनाको हवाई सेवा सुरु भएको थियो ।श्री ५ त्रिभुवनले हवाईजहाज देखिबक्सेको थिएन । त्यसैले हवाईजहाज हेर्ने योजना बनाएर बडामहारानी र शाहजादी सरकारहरूका साथै मौसुफ गौचर सवारी होइबक्सियो । आफ्ना सचिवका साथ भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण पनि हवाईजहाज नजर गराउन गौचर विमानस्थलमा आउनुभएको थियो ।श्री ५ महाराजाधिराजको सवारीसाथ राणा जर्नेल योगविक्रम राणा (प्रधानमन्त्रीका मानिस) पनि हुनुहुन्थ्यो ।
मोहनशमशेरको समयमा हप्ताको दुईपटक काठमाडौं र पटनाको हवाई सेवा सुरु भएको थियो ।श्री ५ त्रिभुवनबाट हवाईजहाज कहिल्यै देखिबक्सेको थिएन । त्यसैले हवाईजहाज हेर्ने योजना बनाएर बडामहारानी र शाहजादी सरकारहरूका साथ मौसुफ गौचर सवारी होइबक्सियो । आफ्ना सचिवका साथ भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण पनि हवाईजहाज नजर गराउन गौचर विमानस्थलमा आउनुभएको थियो ।श्री ५ महाराजाधिराजको सवारीसाथ राणा जर्नेल योगविक्रम राणा (प्रधानमन्त्रीको मानिस) पनि हुनुहुन्थ्यो ।
श्री ५ को सवारी गौचरमा पुगेपछि राजदूत सिंह आफैंले मोटरको ढोका खोजी सरकारको दर्शन गर्नुभयो । राजदूत सिंहले श्री ५ त्रिभुवनलाई हवाईजहाज नजर गर्न बिन्ती चढाएर विमानभित्र सवारी चलाउनुभयो । सैनिक जनरल योगविक्रमका साथ बडामहारानीहरू सबै गौचरमा नै होइबक्सिन्थ्यो ।
श्री ५ महाराजाधिराज एक्लैलाई लिएर राजदूत सिंह विमानभित्र पस्नुभयो । एकछिनपछि विमान उडाएर काठमाडौंको आकाशमा दुईतीनपटक घुमाइयो । त्यही मौका मिलाएर श्री ५ त्रिभुवन र भारतीय राजदूत सिंहबीच पहिलोपटक ४५ मिनेटजति आकाशमै कुराकानी भएको थियो ।
त्यसपछि जर्नेलले श्री ५ बडामहारानी र शाहजादीहरूलाई विमानमा सवारी चलाउनुभयो । राजदूत पनि साथमा नै हुनुहुन्थ्यो । त्यस बखत श्री ५ त्रिभुवन भने पालतमा राज होइबक्सिएको थियो । त्यो योजना पहिले नै गुप्त रूपमा तय भएकाले कसैलाई पनि थाहा भएन । राजदूत सिंहसँगको त्यो गुप्त भेटबाट भारत सरकार नेपालमा प्रजातन्त्र स्थापना गर्ने पक्षमा रहेको कुरा श्री ५ लाई बोध भएको थियो । त्यसै कारण श्री ५ मा आत्मबल निकै बढ्यो ।
मोहनशमशेर तथा उहाँका भाइहरूलाई राजदूत सिंहले श्री ५ महाराजाधिराजलाई एक्लै विमानमा सवारी चलाएको मन परेको थिएन । यद्यपि त्यस विषयमा उहाँहरूले राजदूतसँग बोल्न भने सक्नुभएन ।
जनतामा पनि मोहनशमशेरप्रति आस्था घट्दै गएको थियो । त्यस बखत मोहनशमशेरको परिवारमा त्यति राम्रो मेल नभएको सुनिन्थ्यो । शंकरशमशेर हजुरिया जर्नेल पद छाडी राजदूत भएर बेलायत जानुभएको थियो । शारदाशमशेरलाई परराष्ट्रको महानिर्देशक पदमा नियुक्ति गरिएको थियो । परराष्ट्रको हाकिममा सरदार नरेन्द्रमान सिंह र सरदार नरेन्द्रमणि दीक्षितको नियुक्ति गरिएको थियो ।
श्री ३ महाराजसँग राय नमिलेकाले सरदार नरेन्द्रमाथ सिंहले आफ्नो जागिरबाट राजीनामा दिनुभएको थियो । त्यस बेला प्रधानमन्त्रीको हुकुमलाई काटी राजीनामा दिनु सानो कुरा थिएन । त्यसबाट पनि उच्चपदस्थ भारदारमा मोहनशमशेरको शासनमाथि विश्वास घटेर गएको देखिन्थ्यो ।
श्री ३ महाराजको प्रशासनमा विशेष त्रुटि बढ्दै गएका थिए । शासनसत्तामा रहेका राणाहरूबीच आपसी कलह हुनु, भारत सरकारद्वारा श्री ५ सँग निकट हुने प्रयास हुनु, नागरिक अधिकारको माग राख्दै नेपाली जनताले सत्याग्रह गर्नु, नेपाली कांग्रेसले प्रजातन्त्रका लागि संगठन विस्तार गर्दै लैजानु र पर्चा तथा भारतीय अखबारमा राणा शासनका विरोधमा खबरहरू छापिनुजस्ता घटनाबाट मोहनशमशेरको शासन लामो समयसम्म नटिक्ने संकेत देखिएको थियो । त्यस्तै श्री ५ त्रिभुवनसँग पनि महाराजको सम्बन्ध नराम्रो हुँदै गएको थियो ।
त्यसैबीच युवराज्ञी इन्द्रराज्यलक्ष्मीको गाथमा आराम भएन । त्यसै समयतिर अर्थात् २००७ साल साउन महिनातिर गणेशमान सिंह, सुन्दराज चालिसेहरू हातहतियारका साथ गोप्य रूपमा काठमाडौं आइपुग्नुभएको खबर मैले पाएँ । उहाँहरूले मसँग भेट गर्न खोज्नुभएकाले मैले उहाँहरूलाई बेलुका ताहाचल घरमा भेट गर्ने खबर पठाएको थिएँ ।
श्री ५ त्रिभुवनलाई पनि उहाँहरू आउनुभएको खबर जाहेर गरेँ ।श्री ५ महाराजाधिराजबाट हुकुम भयो, 'भेटेर कुरा गर्नू, उहाँहरूको प्रोग्राम के छ, राम्ररी बुझ्नू ।'
'गणेशमानजी यहाँ आउन नहुने, अरू नै कोही आए हुने थियो । गणेशमानजी जेलबाट भागेर भारत गएको, उहाँको नाममा वारेन्ट पनि छ । गणेशमानजीलाई जिउँदो अथवा मृत पक्रेर ल्याएमा ठूलो इनाम दिने घोषणा भएको छ । गोप्य रूपमा उहाँहरूको बासको व्यवस्था गर्नू । होसियारीसाथ उहाँहरूलाई भेट्नू" मौसुफबाट हुकुम भयो ।
उता युवराज्ञी सरकारलाई आराम नभएकाले उपचार गरिए पनि केही सुधार हुन नसकेकाले श्री ५ त्रिभुवन र युवराजहरूमा ठूलो चिन्ता परेको थियो ।
गणेशमानजी र चालिसेजीसँग दिनहुँ ताहाचल घरमा गोप्य रूपमा बेलुका मेरो भेट हुने गथ्र्यो । ताहाचल घर खाली नै भएकाले कसैको ध्यानमा परेको थिएन । गणेशमानजी र सुन्दरराजजीले दिनहुँ नयाँनयाँ योजनाबारे कुरा गर्नुहुन्थ्यो । कहिले श्री ५ त्रिभुवनलाई काठमाडौंबाट भगाएर बाहिर लैजाने भन्नुहुन्थ्यो त कहिले टुँडिखेलमा सवारी चलाउने र जनरल महावीरशमशेरको हिमालयन एअरवेज विमान अवतरण गराई त्यसैबाट बाहिर लैजाने सोच बनाउनुहुन्थ्यो ।
त्यसैगरी श्री ५ युवराज्ञी इन्द्रराज्यलक्ष्मीलाई सारै आराम नभएको खबर गरी राणा प्रधानमन्त्रीलगायत सत्र भाइलाई एकै स्थानमा जम्मा गरेर हाते बमले उडाउने प्रस्ताव पनि गरिएको थियो । यस्तै अनेकौं प्रस्ताव राखिन्थे । ती प्रस्ताव श्री ५ त्रिभुवनमा बिन्ती चढाउन उपयुक्त लागेन ।
श्री ५ त्रिभुवनबाट बक्सेको खर्च बरोबर उहाँहरूलाई दिने गरेको थिएँ । गणेशमानजी र सुन्दरराजजी काठमाडौंमा गोप्य रूपमा मानिसहरू भेटी राणाविरोधी संगठन बनाउन सफल हुनुभएको थियो ।
इन्द्रजात्रामा कुमारीको रथ सँगसँगै प्रधानमन्त्रीलगायत उच्चपदस्थ राणाहरू सहर घुम्ने गर्नुहुन्थ्यो । त्यस बखत कोही हात्तीमा, कोही बग्गीमा र कोही घोडामा जंगी पोसाकमा सवार हुनुहुन्थ्यो । त्यसै बखत उहाँहरूमाथि बम हान्ने योजना पनि बनेको थियो । उहाँहरूले सोच्नुभएको त्यो योजना पनि त्यति सजिलो थिएन ।
विभिन्न भेटमा विभिन्न योजनाबारे जानकारी पाएपछि मैले गणेशमानजी र सुन्दरराजजीलाई भनेँ, 'तपाईंहरूले बनाउनुभएको योजनाबाट काम सफल हुन सक्दैन, बरु यसबाट राणाहरूको आँखा खोल्ने काम मात्र हुनेछ । त्यसबाट हामीलाई राणा शासनविरुद्ध क्रान्ति गर्न झन् मुस्किल पर्नेछ ।'
उहाँहरूले पनि मेरो कुरा स्वीकार्नुभयो । उहाँहरूसँग भेटमा भएका कुराहरू म श्री ५ त्रिभुवनमा जाहेर गर्थें ।
श्री ५ त्रिभुवनको कार्यदक्षता बुझ्न राणाहरूलाई मुस्किलै थियो । श्री ३ जुद्धशमशेरको समयमा मौसुफको हजुरिया जर्नेल बहादुरशमशेर र नरशमशेरहरूसँग गरिहो मित्रता थियो ।श्री ३ पद्मशमशेरको समयमा मौसुफबाट जर्नेले नरेन्द्रशमशेर (पुन्टे) र वसन्तशमशेरसँग गहिरो मित्रता गरिबक्सियो ।
श्री ३ मोहनशमशेरको समयमा मौसुफको जर्नेल शारदा र विजय शमशेरसँग एकदम मित्रता थियो । यो सबै श्री ५ त्रिभुवनको कूटनीतिज्ञतको परिचय थियो । मौसुफ कसैलाई पनि सजिलैसँग हातमा लिन सकिबक्सिन्थ्यो, सबैसँग सरल र मीठो भाषामा कुरा गरिबक्सिन्थ्यो । श्री ५ त्रिभुवनबाट हुकुम होइबक्सेको कुरालाई सबैले मन पराउँथे र मान्दथे पनि ।
श्री ५ अधिराजकुमारहरू पनि भारततिर कहिले सवारी होइबक्सेको थिएन । मौसुफहरू कलकत्ता नजर गर्न इच्छा गरिबक्सिन्थ्यो ।श्री ३ महाराज पद्मशमशेरले श्री ५ अधिराजकुमारहरूलाई भारतको कलकत्ता सवारी होइबक्सिन मञ्जुरी दिइबक्सेको थियो ।
त्यो भ्रमणको मुख्य उद्देश्य जनरल सुवर्णशमशेर र महावीरशमशेरसँग भेट गरी नेपाल राजनीति र राणाशासनको विरोधबारे कुरा गर्नु थियो । राणाहरूले भने अधिराजकुमारहरू जवान होइबक्सेकाले देशविदेश नजर गर्ने इच्छा राखिबक्सेको ठानेका थिए । श्री ५ अधिराजकुमारहरूको सवारी चलाउन सरदार पशुपतिभक्त र राणा कर्नेल खटिनुभएको थियो ।
सरदार पशुपतिभक्त महाराज पद्मशमशेरको ठूलो विश्वासिलो हुनुहुन्थ्यो । महाराज पद्मशमशेरको समयमा पशुपतिभक्त निकै प्रभावशाली हुनुहुन्थ्यो । उहाँलाई महाराजको खोपीसम्म जानआउन रोकतोक थिएन ।
गणेशमानजी र सुन्दरराजजी काठमाडौंमा हुनुभएको जानकारी श्री ३ महाराज मोहनशमशेरलाई गुप्तचरहरूबाट भयो । महाराजबाट चारजना कमान्डिङ जनरल र अरू पत्यारका राणा जनरलहरूलाई बोलाइ सिंहदरबाट बैठक गर्नुभयो । खासगरी गणेशमानहरूलाई पक्रने विषयमा उक्त बैठक बोलाइएको थियो ।
यो खबर मैले मेरा साथीबाट पाएको थिएँ । त्यसबारे दरबारमा श्री ५ महाराजाधिराजमा जाहेर गर्नु जरुरी थियो । दरबारबाट निस्केपछि बेलुका दरबारभित्र पस्न कर्नेल साहेबको आदेश चाहिन्थ्यो । तत्काल श्री ५ लाई भेट्न मसँग केही उपाय थिएन । त्यसैले युवराज्ञी सरकारलाई औषधि लिन पठाइबक्सेकाले औषधि लिएर आएको बहानामा दरबारभित्र पस्ने योजनाका साथ दरबारतिर लागेँ । दरबारको ढोकामा गारतका हाकिम कप्तान भण्डारी हुनुहुन्थ्यो ।कप्तान साहेबको सोध्नुभयो, 'डिठ्ठा साहेब ! यस बेला कहाँबाट आउनुभयो ? '
मैले तुरुन्त 'युवराज्ञी सरकारका लागि औषधि लिन पठाइबक्सेको थियो, बल्ल पाएर लिएर आएको' भन्दै औषधिको पोको देखाएँ । त्यसपछि 'जानुहोस्, भित्र औषधि जरुरी छ होला' भन्दै जान दिनुभयो । सरकारहरू सबै युवराज्ञी राज होइबक्सेको स्थान महेन्द्र मञ्जिलमा होइबक्सिन्थ्यो । महेन्द्र मञ्जिलको ढोकामा गई 'औषधि लिएर हाजिर भएको छु' भनी श्री ५ महाराजाधिराजमा बिन्ती चढाइदिन भनेँ । ढोकेले हाजिर पुर्याउनासाथ कर्नेल नारायणनरसिं राणा बाहिर ढोकामा आउनुभयो ।
'किन दयाराम यसबलो ? ', उहाँले सोध्नुभयो ।कर्नेल साहेबलाई पनि औषधिको पोको देखाई औषधि लिएर आएको बिन्ती गरेँ । उहाँले मलाई भित्र लिएर जानुभयो । सबै सरकार युवराज्ञी आराम भएको खोपीमा राज होइबक्सेको थियो । कर्नेल साहेबले मैले औषधि लिएर आएको छ भनी श्री ५ महाराजाधिराजमा हाजिर पुर्याएपछि श्री ५ महाराजाधिराज खोपीबाट बाहिर सवारी होइबक्सियो र सोधनी गरिबक्सियो, 'औषधि सबै पायौ ? ' मैले पनि बिन्ती चढाएँ, 'पाएको जति ल्याएको छु, सरकार !'
श्री ५ बाट अर्को खोपीमा लगिबक्सियो । हजुरिया कर्नेललाई अर्कै काममा बाहिर पठाई मलाई सोधिबक्सियो, 'यस बेला एक्कासि किन आएको ? '
'गणेशमानजीहरू आउनुभएको थाहा पाएर श्री ३ महाराजले अहिले बेलुका दाजुभाइहरूलाई बोलाई बैठक गर्नुभएको खबर पाएको छु, सोही कुरा सरकारमा जाहेर गर्न हाजिर भएको बेलुका कर्नेल साहेबको आदेश नभई दरबारभित्र आउन पाइँदैन । सरकारबाट औषधि लिन पठाइबक्सेकाले औषधि लिएर आएको भनेपछि मात्र ढोकाको कप्तानले भित्र आउन दियो ।'
श्री ५ त्रिभुवनबाट हुकुम भयो, 'गणेशमानहरूलाई अरू मानिस भेट्न बन्द गर्नु र भूमिगत बस्नु भन्नू ।' कर्नेलको अगाडि सरकारबाट हुकुम भयो, 'भोलि अर्को औषधि पनि लिएर आउनू ।'
त्यहाँबाट फर्केर मेरा आफ्ना मानिसहरूलाई गणेशमान र सुन्दरराज चालिसेकहाँ श्री ५ का सबै खबर पुर्याउन तथा भोलि ताहाचलमा मलाई भेट्नका लागि खबर गर्न पठाएँ ।
भोलिपल्ट साबिकबमोजिम दरबार गएँ । माथिको खबरले गर्दा धेरै होसियार हुनुपर्यो । अहिले के हुन्छ, भरे के हुन्छ भन्ने त्रासमा थिएँ । डर त हुने नै भयो । केही भएर गणेशमान र चालिसेलाई पक्रियो भने मलाई पनि बाँकी राख्ने सम्भावना थिएन । त्यसका साथै श्री ५ त्रिभुवन एवं युवराजहरूलाई पनि राणाले केही गर्न सक्छन् भने कुरा मनमा खेल्न थाल्यो । यस्तै कुरा मनमा खेलाएर श्री ५ त्रिभुवनको दर्शनका लागि पर्खी बसेँ ।
श्री ५ त्रिभुवन एक्लै राज होइबक्सेको मौका पारी बिन्ती गरेँ, 'आज बेलुका गणेशमान र सुन्दरराज चालिसेलाई भेट्ने कार्यक्रम छ । उहाँहरूसँग भावी प्रोग्रामबारे छलफल गर्नेछु ।'
इन्द्रराज्यलक्ष्मीको स्वर्गारोहण
श्री ५ युवराज्ञी इन्द्रराज्यलक्ष्मीको स्वर्गारोहण २००७ साल भदौ महिनामा भयो । पशुपति आर्यघाटमा लैजान सेनाको टुकडी, बाजा इत्यादि दरबारमा व्यवस्था हुँदै थियो । शवयात्राका लागि जंगी तथा निजामती कर्मचारी सामेल गरिएको थियो । स्वर्गीय युवराज्ञीको शवयात्राका लागि जंगी तथा निजामती कर्मचारी सामेल गरिएको थियो । स्वर्गीय युवराज्ञीको शव पालकीमा राखी राजकीय ढंगबाट पशुपति आर्यघाटतर्फ शवयात्रा अगाडि बढाइयो ।
श्री ५ त्रिभुवन, युवराजाधिराज, अधिराजकुमार महेन्द्र मञ्जिलमा शोकसन्तप्त होइबक्सिन्थ्यो । त्यस्तो अवस्थामा पनि श्री ५ त्रिभुवनबाट छोराहरू र मलाई राखी हुकुम भयो, 'गणेशमान र चालिसेलाई सकेसम्म छिटो नेपालबाट भगाउने अथवा भूमिगत रूपमा राख्ने व्यवस्था मिलाउनु अति आवश्यक छ ।'
त्यसका लागि के कसो गर्ने भन्नेबारे छलफल भयो । सबैजना शोकले विह्वल भइरहेको, त्यसमा युवराज्ञी स्वर्गे भएको बेलामा पनि धैर्य गरी सरकार छलफलमा राज होइबक्सेको देखेर मलाई आश्चर्य लाग्यो । त्यस्तो दुःखको समयमा पनि आइपर्न लागेको आपत्बारे छलफलमा भाग लिनु युवराज महेन्द्रको धैर्यको प्रतीक थियो । साधारण मानिसले त्यस्तो दुःखलाई त्यसरी सहन सक्दैन ।
निर्धारित योजनाअनुसार बेलुका ताहाचलमा गणेशमान र सुन्दरराज चालिसेसँग भेट भयो । आफूहरू राजधानी आएको राणाहरूले थाहा पाएको खबर पाउँदा उहाँहरूलाई ग्लानि भएको पाएँ ।
उहाँहरूले भन्नुभयो, 'अब के गर्ने ? भाग्न त सकिँदैन होला । भूमितल कति दिन बस्ने ? एउटा उपाय छ, दयाराम भाइ । तपाईं कलकत्ता गई प्रधान कार्यालयमा भनी छिट्टै एक्सनमा आएमात्र हामी बाँच्नेछौं । नत्र अरू उपाय छैन । हामी भूमितल भएर बस्नेछौं तर सकेसम्म छिटो तपाईं कलकत्ता जानुपर्यो । तत्काल यो कदम नचालेमा हाम्रो कार्य सबै व्यर्थ हुनेछ र हामीलाई पनि समातेर झुन्ड्याइनेछ । तपाईं जसरी भए पनि गएमात्रै हाम्रो कार्य सफल हुनेछ । तपाईं जाँदा हामीलाई खर्चको बन्दोबस्त पनि गरेर जानुहोस् ।'
कुरा सिद्धिएपछि उहाँहरूलाई बिदा गरी आफू पनि घरतिर लागेँ ।भोलिपल्ट त्यसै विषयमा विचार गरी बसेँ । केही सोच्न पनि सकिनँ । मेरा मानिसहरूलाई पनि गणेशमानजीहरू आउनुभएको खबर राणाहरूले थाहा पाइसकेकाले भूमिगत रूपमा सूचना दिएँ । पक्कै पनि गणेशमान, सुन्दरराजहरूसँग सम्बन्ध भएकाहरूबाटै उहाँहरूबारे राणालाई खबर दिएको हुनुपर्ने अनुमान गरेँ ।
सबै नेपालीले कपाल खौरी श्री ५ युवराज्ञी इन्द्रराज्यलक्ष्मीको स्वर्गारोहणको आसौच बार्नु भन्ने आदेश भयो । कपाल नखौरिने युवकहरूलाई समाती प्रहरीले खुकुरीले कपाल काट्न थाल्यो । त्यसरी प्रहरीले जबरजस्ती गरेको सर्वसाधारणलाई मन परेन । त्यसले गर्दा मानिसहरू राणा शासनविरुद्ध झन् कुरा गर्न थाले ।
काठमाडौंमा राणा सरकारको विरोधमा अनेक किसिमका हल्ला चल्न थालेका थिए । बेलुका सबै गइसकेपछि श्री ५ त्रिभुवनले बिलियार्ड बैठकमा तीन भाइ छोरा र मलाई राखी छलफल गरिबक्स्यो । त्यस अवसमरा मैले गणेशमानजीले मलाई तुरुन्त कलकत्तास्थित प्रधान कार्यालयमा गई आन्दोलन सुरु गराउन आग्रह गर्नुभएको कुरा पनि जाहेर गरेँ ।
गणेशमानजीले 'तत्काल यो कदम नचालेमा हाम्रो कार्य सबै व्यर्थ हुनेछ र हामीलाई पनि समातेर झुन्ड्याइनेछ, तपाईं गएमात्रै हाम्रो कार्य सफल हुनेछ' भन्नुभएको पनि सुनाएँ । मेरो कुरा सुनेर सरकारहरू चुप लागिबक्सियो । एकछिन त्यहाँ सन्नाटा छायो ।
सरकारले मसँग सोधिबक्सियो, 'तिम्रो विचारमा के गर्नुपर्ला ? वारेन्ट भएको मानिस गणेशमानजी आउन नहुने ।'
'सरकारबाट जसो हुकुम होइबक्सिन्छ, म गर्न तयार छु', मैले बिन्ती चढाएँ ।
त्यस बखत अनेक किसिमका छलफल भए तर निष्कर्षमा आउन सकिएन । दुई घन्टा बित्यो, के गर्ने भन्ने कुरामै छलफल अल्झिरह्यो । श्री ५ युवराजाधिराजबाट बिन्ती चढाइबक्सियो, 'दयारामलाई कलकत्ता पठाइबक्सिनु पर्ला ।'
श्री ५ महाराजाधिराज एकैछिन गम्भीर होइबक्सियो । मौसुफबाट हुकुम भयो, 'दायारामलाई पठाएर यहाँको काम कसले गर्ने ? उनी एकजना भएकाले सबै खबर थाहा पाइरहेका छौं, सम्बन्ध भइरहेको छ ।'
फेरि सन्नाटा छायो । धेरै बेरसम्म अरू उपाय खोजियो तर कुनै राम्रो उपाय पहिल्याउन सकिएन । आखिरमा श्री ५ महाराजाधिराजबाट मलाई कलकत्ता पठाउनु नै बेस हुने हुकुम भयो ।
सरकारबाट हुकुम भयो, 'तिमी जाने सबै मिलाउनू र गणेशमानहरूलाई कसैलाई नभेट्नु, गोप्य स्थानमा आफ्नो सुरक्षा गर्नू भन्नू ।”
करिब दुई घन्टाको छलफलपछि छोराहरूलाई बिदा बक्सियो ।
'कप्तान अम्बरबहादुरलाई दसैंका लागि माल लिन कलकत्ता पठाउनुपर्ला, तिमी पनि उनीसँगै जाने मिलाउनुपर्ला' हुकुम भएर मलाई पनि बिदा बक्सियो ।