सत्यको खोजीमा स्वधर्म
काठमाडौंः कक्षा ८ बाट ९ मा प्रवेश गर्दै थिएँ । १३ वर्षको उमेरमा सत्यको खोजका लागि पाल्पाबाट भारत पसेँ । जोगीबाट यो सम्भव होला भन्ठानेर वनारस, हरिद्वार र उत्तराखण्डका आश्रमहरू घुमेँ तर तिनले बाँध्न सकेनन् अथवा सकिनँ । दीक्षित भएर बस्न सकिनँ । परम स्वतन्त्रता र अनन्तको उडान नै अध्यात्म हो भनेर यत्रतत्र दौडधूप गरिरहेँ । ऋषिकेषमा गएँ र गेरुवा लगाएँ, त्यहीँ आफ्ना लुगा गंगालाई विसर्जन गरेँ ।
शिवको सन्देशबाट प्रभावित थिएँ । सात वर्ष यसरी विविध विषय सिकेँ । र अन्त्यमा, अबको समाजमा शारीरिक रूपमा गृहस्थी र मानसिक रूपमा सन्न्यासी हुने बाटो सत्य र उत्तम ठानेँ । गृहस्थ भनेर विवाह गर्नैपर्छ भन्ने छैन, संसारसँग जोडिन सकिन्छ । म अझै अविवाहित छु । त्यहाँ बस्दा प्राकृतिक चिकित्साबारे पनि अनौपचारिक, औपचारिक रूपमा धेरै सिकेँ । अलिअलि सुरु भए पनि २०५० सालदेखि योग र प्राकृतिक चिकित्सालाई अभियानकै रूपमा अघि बढाएँ ।
स्वधर्म नामक दर्शनशास्त्रको शुक्रबार राजधानीमा पृष्ठभूमि बताउँदै प्राकृतिक चिकित्सक मानसाग्नि (हरिप्रसाद पोखरेल) ले थपे, ‘मानिस नै विकासको केन्द्र रहेछ अनि मानिस नै विनाशको पनि केन्द्र । स्वधर्मले परिकल्पना गरेको कुरो सत्यको खोजीमार्फत विश्वलाई सुन्दर बनाउने नै हो ।’
कोइलाबाट सुरु भएको जीवनलाई हीरा बनाउनुपर्ने भए पनि हामी मानिस हीरा (बालबालिका) भएर पनि जीवनभर संघर्ष गरेरसमेत आफूलाई हीरा बनाउन सक्दैनौं भन्ने यथार्थलाई मानसाग्निले सारका रूपमा बुझेका छन् । उनले विश्व परिदृश्यमा सुरु भएको ‘भ्याकुम इनर्जी’ अबको एक डेढ दशकमै संसारभर फैलिने र अबको युग नै ‘भ्याकुम इनर्जीको युग’ हुने दाबी गरे । उनले थपे, ‘जीवन आनन्दको पराकाष्ठा हो तर हामी नजानेर जीवनको त्यही आनन्द जीवनभर खोजेर पनि पाइरहेका छैनौं ।’
शान्ति र स्वधर्मको सम्बन्ध, नकारात्मक कुरा कसरी हटाउने, मानव जीवनको शिखर कसरी प्राप्त होला, मौन जीवनको महŒव, अहंकारले पार्ने प्रभाव, अध्यात्म र विज्ञानको महत्वजस्ता एक सय ७३ वटा जीवन र जगत्सँग सम्बन्धित प्रश्न र उत्तर छन् स्वधर्ममा । स्वधर्मका सम्पादक नेत्र आचार्यले स्वर्धम साधनाले व्यक्ति, विश्व र अनादि सत्ताबीच टुट्दै गएको सेतु बाँध्ने चेष्टा गरेको बताए ।