एक इमानदार पञ्चको बयान

एक इमानदार पञ्चको बयान

अमेरिकी लेखक मार्क ट्वेनले भनेका थिए, ‘म जीवनमा खतरनाक मोडहरूबाट गुज्रेको छु, तीमध्ये केही चाहिँ मैले साँच्चै नै भोगेकै हुँ ।’ आत्मकथा भित्रको व्यक्तिचित्र बुझ्नलाई उनको यो भनाइ धेरै सान्दर्भिक हुन्छ अर्थात् मान्छे आफ्नो कथा बुन्दा भए/नभएका धेरै पाटोहरूको चर्चा गर्छ । तीमध्ये केहीमात्रै उसको जीवनमा साँच्चै नै घटेका हुन्छन् ।

त्यसो त आत्मकथा भनेको व्यक्तिले आफ्नो नायकत्व आफैंले स्थापित गर्न गरेको प्रयास हो । कतिपय यस्ता परिवेशहरू हुन्छन्, जसको सत्य÷असत्य प्रमाणित गर्ने कुनै आधारहरू देखिँदैनन् । त्यस्ता प्रसंगहरूको बाहुल्य हुनु आफैंमा एउटा कमजोरी हो । वास्तवमा आत्मकथा आफूले आफैंबारे लेख्ने आख्यान हो । जीवनक्रममा बोलिएका सबै संवाद जस्ताको तस्तै सम्झिएको हुन्छ भनेर विश्वास गर्नु मान्छेको स्मरण शक्तिलाई असाधारणीकरण गर्नु हो । घटनाहरूको ‘सेन्सरसिप’ मा लेखकको ठूलो भूमिका हुन्छ । अर्थात् सबै सत्य भनिँदैन, भनिएका पनि ‘मिलाएर’ भनिएका हुन्छन् ।

पाठकले आत्मकथामा मूलतः दुई विषय खोज्छ– एउटा भाषाको साहित्यिक स्वरूप र दोस्रो कथाका नायकको जीवनबाट प्राप्त गर्न सकिने ऊर्जा । व्यक्ति सार्वजनिक जीवन बाँचेको छ भने ऊसँग जोडिएका सार्वजनिक महत्वका घटनाहरूको नालीबेली, रहस्यको पर्दाफास र घटनाहरूमाथि उसको दृष्टिकोण मानिसको चासोका क्षेत्र हुन् । घटनाहरूको सपाट र रेखीय वर्णन पाठकहरूले रुचाउँदैनन् । आत्मकथाको सबभन्दा डरलाग्दो समस्या भनेको घटनाहरूको वर्णनमा देखिने अन्तरविरोध हो । अन्तरविरोध देखिनुको संकेत हो- लेखकीय इमानदारीमाथि प्रश्न । तर्कशास्त्रमा एउटा अवधारणा छ- करोडौं संख्याका काला कागको अवलोकनपछि निकालिएको ‘सबै काग काला हुन्छन्’ भन्ने निष्कर्ष एउटै सेतो कागको अस्तित्वले निष्फल गराइदिन्छ । अर्थात् धेरै सत्य र पत्यारलाग्दा विषयलाई एउटै असत्य र कृत्रिम लाग्ने घटनाले कमजोर बनाइदिन्छ ।

मान्छेको जिन्दगीलाई राम्रा र असल कुराहरूको संग्रह भनेर सोच्नु एउटा अतिवाद नै हो । तर प्रायःजसो आत्मकथा व्यक्तिका राम्रा र सकारात्मक प्रसंगहरूले मात्र भरिएको हुन्छ । आफूलाई सामान्य मानिसको दर्जामा राखेर आफ्ना गल्ती र दोषको पनि यथास्थान विवेचना गरिएका आत्मकथाहरू विरलै फेला पर्छन् । आफूले गरेको कर्मप्रति लज्जा उत्पन्न हुने घटनाहरू पनि साहसका साथ लेखिएको छ भने त्यसको सकारात्मक प्रभाव पर्दछ । आफ्ना असफलताका कथा, आफ्ना कारण उत्पन्न हानि, नोक्सानी आदि तटस्थ भावले लेखिएका आत्मवृत्तान्तले पाठकलाई सन्तोष दिन्छन् ।

यो पृष्ठभूमिमा रेवतीरमण खनालको ‘अनुभूति र अभिव्यक्ति’ आत्मकथाबाट केही प्रसंग उल्लेख गर्नु सान्दर्भिक हुन्छ । एउटा सन्दर्भ हो २०३६ साल जेठ १० गते जनमतसंग्रह घोषणा गर्नुअघि खनालले राजालाई दिएको सल्लाह । खनाल भन्छन्– ‘अब अहिले २०१७ सालको भन्दा सानो कदम चालिबक्सनुप¥र्यो । ठूला पञ्चहरूले धेरै वर्ष ठूला पदमा बसेर धेरै सम्पत्ति कमाए, अधिकारको दुरुपयोग गरे, जनता रिसाउँदा पनि राजाबाट तिनीहरूलाई केही भएन भनेका छन् । त्यस्ता करिब दस जनालाई अख्तियार दुरुपयोग निवारण आयोगमार्फत कारबाही गराउने, पदमा भएका उपर निवेदन लिई पदबाट हटाई अख्तियारलाई कारबाही गर्न सहयोग गर्ने, दरबारबाट मिलाएर विज्ञप्ति निकाल्ने ...।’(पृ. १७२ (७३) लगत्तै पृष्ठ १७७ मा लेखिएको छ, ‘संविधानमा तेस्रो संशोधन गरी २०३७ साल पुस १ गते अख्तियार दुरुपयोग निवारण आयोगको व्यवस्था भयो ।’

प्रश्न उठ्छ लेखकले हुँदै नभएको आयोगमार्फत भ्रष्ट पञ्चहरूलाई कारबाही गर्ने सल्लाह कसरी दिए होलान् ! लेखकले आन्दोलनको राजनीतिक पृष्ठभूमि नबताई अमृत साइन्स कलेजमा विद्यार्थीको कुटपिटबाट सिर्जित हडताल भनेर यथार्थलाई तोडमरोड गर्न खोजेका छन् । तर जनमतसंग्रहको घोषणा राजनीतिक थियो, कुनै भ्रष्टाचारको विरुद्ध लक्षित थिएन भन्ने जगजाहेर छ ।


आत्मकथा पढिसक्दा लेखक एक इमानदार पञ्च भएको स्पष्ट हुन्छ । पञ्चायत व्यवस्था र आफूलाई सच्चा राजभक्त प्रमाणित गर्न लेखकले भरमग्दुर प्रयास गरेका छन् ।

‘पञ्चायतको पक्षमा दुई-तिहाइभन्दा बढी मत आउँछ’ (पृ. १७४) भन्ने विश्वासका साथ विरोधीलाई चुप लगाउन खेलिएको खेल थियो त्यो । खनालको सल्लाह र तत्कालीन विद्यार्थी मागबीच कुनै तालमेल थिएन भन्ने निष्कर्ष हो- जनमतसंग्रहको घोषणा ।

तर खनाल जिकिर गर्छन् जनमतसंग्रहको बेलामा टक्र्याएको सोही जाहेरीले आफूलाई सचिवमा पदोन्नति गर्न मद्दत गर्‍यो पृ. १८३)। यसबाट अनुमान गर्न सकिन्छ- कि खनालले सत्य कुरा बोलेका छैनन्, कि त राजाको मूल्यांकन गर्न सक्ने क्षमता थिएन भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

हरिप्रसाद प्रधानलाई सर्चोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्ति दिँदा नेपाली कांग्रेसले विदेशी प्रभाव बढाएको भनेर आलोचना गरिएको छ (पृ. २५) । तर पछि तिनै प्रधानलाई महेन्द्रले नेपाली नागरिकता दिएर २०१८ सालमा फेरि प्रधानन्यायाधीश बनाएकोमा प्रशंसा गरेका छन् । महेन्द्रले असल मानिस खोज्ने क्रममा बोलाएका सूर्यविक्रम ज्ञवाली, लैनसिंह वाङ्देल महेन्द्रको बुद्धिमत्ता हो भन्नु लेखकको आग्रहबाहेक केही होइन । २०६३ सालमा राजा ज्ञानेन्द्रले गठन गरेको भ्रष्टाचार निवारण शाही आयोगका अध्यक्ष भक्तबहादुर कोइराला गिरिजा कोइरालाले प्रशासनिक सुधारको क्रममा हटाइएका व्यक्ति भएकोले त्रुटिपूर्ण चयन भन्ने लेखकको धारणा छ (पृ.२७५)। तर अधिकारको दुरुपयोग गरेकै कारण महेन्द्रले कारबाही गरेका अनिरुद्धप्रसाद सिंहलाई (पृ.१०३) वीरेन्द्रले गलैंचा काण्डको अनुसन्धान गर्ने जाँचबुझ आयोगको अध्यक्ष बनाएको (पृ.१७६) प्रति भने लेखकको कुनै प्रतिक्रिया छैन ।

राजा ज्ञानेन्द्रले आफूप्रति पहिलेदेखि नै नकारात्मक धारणा राख्दै गरेको अनुमानमा (पृ.२६८) लेखक ज्ञानेन्द्रप्रति त्यति सकारात्मक नभएकोले यस्तो निष्कर्ष निकालेको बुझिन्छ ।

आत्मकथा पढिसक्दा लेखक एक इमानदार पञ्च भएको स्पष्ट हुन्छ । पञ्चायत व्यवस्था र आफूलाई सच्चा राजभक्त प्रणामित गर्न लेखकले भरमग्दुर प्रयास गरेका छन् । नेपाली कांग्रेसको चर्को आलोचना गर्छन् लेखक । बीपी सही थिएनन् भन्ने देखाउन महेन्द्रको प्रशस्त गुणानुवाद गरिएको छ । पछि गिरिजा कोइरालाको आलोचना गर्न बीपीलाई ‘सिद्धान्तवादी’ (पृ.२५०) पनि भनिएको छ । तर पञ्चायती व्यवस्था असफल हुनुमा दरबार र सरकारको दोहोरो प्रशासन हो भन्ने कुरा लेखकले देखेका छैनन् । दरबारको प्रशासन चलाउन राजाको प्रमुख सहायक भएर काम गरेकोले आफूलाई गलत नदेख्नु अस्वाभाविक होइन । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि संवैधानिक भएका राजालाई सरकार प्रमुखले भेट्न चाहेका बखत विभिन्न अड्को थापेर अवरोध गरेको कुरालाई आफ्नो सफलता ठान्छन् लेखक ।

तर २०४६ सालअघि नेपाली कांग्र्रेसका नेतालाई राजासँग भेट्न नदिएको भनेर मरिचमान सिंहको तिखो आलोचना पनि गरेका छन् । आफूले गरेको उस्तै काम असल नियतले र पञ्चायत तथा राजाप्रति इमानदार भएर गरेको ठान्ने लेखक मरिचमानको त्यस्तै काममा अज्ञानता देख्छन् ।

२०४६ सालको परिवर्तनलाई लेखक नेपाली जनताको आन्दोलनको परिणाम हो भनेर जनतालाई जश दिँदैनन्, बरू राजाले ‘निगाह गरेर’ मागभन्दा बढी दिएको भनेर असन्तुष्ट हुन्छन् । चेतनशील नेपालीमाझ भएको बहुदलको लोकप्रियतालाई पनि भारतीय प्रोत्साहन मात्र ठान्नु लेखकको अल्पदृष्टि हो । काठमाडौंबाहेक मुलुकका ७२ जिल्लामा शान्ति नै थियो (पृ. २०९) भनेर इतिहासलाई दिग्भ्रमित गर्ने प्रयास पनि गरेका छन् लेखकले ।

चैत २४ गतेको जनसागर मरिचमानलाई हटाएर लोकेन्द्रबहादुरलाई प्रधानमन्त्री नियुक्त गरेर जनतालाई धोखा दिन खोजेको बुझेर काठमाडौंका तीनै सहरबाट स्वतस्स्फूर्त लहर थियो । तर लेखक त्यसलाई प्रायोजित आन्दोलन ठहर गर्छन् । नेपाली कांग्र्रेससँगको असन्तुष्टिले लेखक बहुदलीय व्यवस्थाप्रति नकारात्मक रहेको प्रष्ट देखिन्छ । २०३७ सालको जनमतसंग्रहपछि राजाको ‘अल्पमतको कदर गर्ने’ भनाइप्रति पनि लेखक सन्तुष्ट देखिँदैनन् (पृ. १९४) । लेखकको नजरमा “हार्नेलाई सहानुभूति“ थियो त्यो, जुन गलत थियो ।

लेखक कानुनका ज्ञाता र विद्वान हुन् । यसमा विवाद छैन । तर यो तथ्य स्थापित गर्न लेखकले अतिरिक्त प्रयास गर्नु पनि जरुरी थिएन । उदाहरणको लागि २०४७ सालको संविधान मस्यौदामा भएको त्रुटि देखाउने क्रममा व्यक्त गरिएको शैलीले लेखकको दम्भ देखाउँछ । तर मरिचमानलाई हटाएर लोकेन्द्रबहादुरलाई असंवैधानिक बाटोबाट प्रधानमन्त्री बनाउँदा लेखकको ज्ञान काममा आएन । २०१९ सालको संविधानको तेस्रो संशोधनले प्रधानमन्त्रीमा नियुक्त हुन औपचारिक रूपमै राष्ट्रिय पञ्चायतको सिफारिस चाहिन्थ्यो । मरिचमान राजीनामा दिइसकेपछि अर्को व्यवस्था नभएसम्म कार्यवाहक प्रधानमन्त्री भएर रहनु पथ्र्यो ।

आत्मकथा पढिसक्दा लेखक एक इमान्दार पञ्च भएको स्पष्ट हुन्छ । पञ्चायत व्यवस्था र आफूलाई सञ्चा राजभक्त प्रमाणित गर्न लेखकले भरमग्दुर प्रयास गरेका छन् । 

आत्मकथामा लेखकको निजी जीवनका पाटाहरू धेरै उल्लेख गरिएका छैनन् । जरायोको सुकुटी खाँदा दाँतमा अड्कएको कारण सबै दाँत निकालेर नक्कली दाँत राख्नु परेको दुःखद् घटनाको उल्लेख छ । पहिलो विवाहबाट सन्तान नभएकोले झन्डै पचास वर्ष पुग्नै लाग्दा दोस्रो विवाह गरेको र यो विवाहबाट जन्मेका तीन सन्तानको सफल जीवनको चर्चा पुस्तकमा उल्लेख छ । दुःख गरेर उच्च शिक्षा हासिल गरेको कुरा प्रेरणास्पद छ । विद्यार्थीकालमा संस्कृत छात्र संघमा सक्रिय रहेका प्रसंगहरू चाखलाग्दा छन् ।

संस्कृत छात्र संघमा लाग्दैदेखि लेखकको नेपाली कांग्रेससँग असहमति भएको रहेछ । लेखकको यही स्वभावलाई महेन्द्रले उपयोग गर्ने नीति लिएको देखिन्छ । पञ्चायतको प्रादुर्भाव भइसकेपछि विद्यार्थीहरूमाझ पञ्चायतको प्रचारप्रसार गर्न राजाका घुमन्ते दूत भएर काम गर्ने क्रममा राजाको विश्वास जितेकाले राजाको नजिक रहेर काम गर्ने अवसर पाएका रहेछन् । राजाबाट बेलाबेलामा दिने बकस, दानलाई सर्वोपरी ठानेर नूनको सोझो गरेको कुरालाई लेखकले नलुकाइकन व्यक्त गरेका छन् । आमा‍-बाको मृत्यु हुँदाभन्दा महेन्द्रको मृत्यु हुँदा बढी दुःखी भएको लेखेर आफ्नो मनोभावलाई लुकाएका छैनन् । राजाका अरू सहायकहरूको इमानदारीमा प्रश्न खडा भए पनि लेखकको वर्णनअनुसार आफूले कुनै कमी हुन दिएका रहेनछन् ।

पुस्तकको लामो खण्ड नेपाली राजनीतिक इतिहासको पुनर्लेखन जस्तै हो । यसमा उल्लेख गरिएका प्रायः सबै प्रसंग राजनीतिमा चासो राख्नेलाई थाहा भएकै हो । दरबारसँग सम्बन्धित केही व्यक्तिका एकाध व्यक्तिगत जानकारीबाहेक प्रस्तुत पुस्तकमार्फत नेपाली राजनीतिमा दूरगामी प्रभाव पार्ने नयाँ जानकारी प्रकाशित भएको छैन । पछिल्लो कालमा दल र दलका नेताहरूको कारण देश उत्तरोत्तर समस्याबाट गुज्रिँदै गएकोप्रति लेखकले असन्तुष्टि व्यक्त गरेका छन् ।

पञ्चायतको पतन र राजकीय सत्ता जनतामा स्थापित गरिएको कारण यो सब बर्बादी भएको भन्ने लेखकको आसय उपयुक्त ठहर्दैन । यद्यपि व्यक्ति आफ्नो विचार राख्नर स्वतन्त्र छ । पुस्तकमा उल्लेख गरिएका कतिपय अंशहरू दिवंगत व्यक्तिहरूले व्यक्त गरेकोले त्यसको सत्यासत्यको जाँच हुन सक्ने कुरा भएन । त्यस्तै, आफ्ना गल्ती, कमजोरीलाई उल्लेख नगर्नुलाई सन्तुलित आत्मकथा ठान्न सकिँदैन ।

किताबमा धेरै त्रुटिहरू छन् । पुनरुक्ति दोष पनि प्रशस्त छन् । केही ठाउँमा संकथन प्रवाहमा अलमल छ । पृ. २८ मा राजा ‘त्रिभुवन’ हुनुपर्ने ठाउँमा महेन्द्रको नाम परेको छ । कतिपय प्रसंगलाई पुष्टि गर्ने क्रममा पादटिप्पणी पनि दिइएको छ । तर दरबारको एउटा तथ्य पुष्टि गर्ने प्रयासस्वरूप कुनै उपन्यासको प्रसंगलाई सन्दर्भ दिइनु चाहिँ हास्यास्पद नै देखिन्छ । पृ. ७८ मा खड्गमान सिंहलाई प्रजापरिषद्का पुराना नेता बताइएको छ । खड्गमान सिंह प्रचण्ड गोरखाका संस्थापक हुन्, प्रजापरिषदको स्थापना हुनुअघि १९८७ देखि नै जेलमा थिए ।

प्रजापरिषदको स्थापना १९९३ मा मात्र भएको हो । युवराज वीरेन्द्रसँग विवाह हुँदै गरेकी ऐश्वर्यलाई ‘ श्री ५ युवराज्ञी’ भनेर पहिल्यै सम्बोधन गर्नु पनि कानुनका ज्ञाताबाट भएको त्रुटि नै हो । पृ. १८३ मा युवराज ‘दीपेन्द्र’ हुनुपर्नेमा वीरेन्द्र लेखिएको छ । बहुदलको पुनस्र्थापनाको विज्ञप्ति २०४६ साल चैत २६ गते राति गरिएको हो, न कि फागुन २४ गते (पृ. २०४) । चैत २४ गतेकै दिन आन्दोलनरत दलसँग वार्ता भएर सहमति भएको कुरा पनि गलत हो । वार्ता २६ गतेमात्र भएको जानकारी मिडियामा दिइएको थियो । दरबार हत्याकाण्डमा जेठ २० गते वीरेन्द्रलगायतको दाहसंस्कार भएपछि त्यसको पर्सि जेठ २२ गते दीपेन्द्रको मृत्यु घोषणा भएको हुनुपर्नेमा अन्यथा भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.