रियो ओलम्पिकमा नेपालको अन्तिम खेलः तेक्वान्दोकी निशा भिड्दै
काठमाडौँ: ब्राजिलमा जारी ‘रियो ओलम्पिक’मा नेपालको अन्तिम खेल आज महिला तेक्वान्दो खेलाडी निशा रावलले खेल्दैछिन् ।
उनले तेक्वान्दोको ६७ केजी भन्दामाथिको तौल समूहमा चीनकी सुयिन झिङसँग नेपाली समयअनुसार आज साँझ ७ः४५ बजे प्रतिस्पर्धा गर्दैछिन् । रियोस्थित कारिओका एरिना–३ मा उत्रँदा उनले गतवर्ष भएको युनिभर्सिटी ओलम्पियाडमा ७३ केजी मुनिको प्रतिष्पर्धाकी स्वर्ण जितेकी झिङसँग भिड्नुपर्ने हुन्छ ।
नेपालका लागि ओलम्पिकमा खाली सहभागितामा सिमित रहेकाबेला अन्तिम आशा निशाले पनि कठिन प्रतिस्पर्धी पाएकी हुन् ।
निशा शनिबार ओलम्पिक खेल्ने दोस्रो महिला तेक्वान्दो खेलाडीको रुपमा ब्राजिलमा खेलिरहेकी हुनेछिन् । सन् २००४ मा सङ्गीना वैद्यले ओलम्पिकमा छनोट भएर पहिलोपल्ट ओलम्पिक खेल्न गएकी थिइन् । अहिले तिनै सङ्गीना निशाकी प्रशिक्षक छिन् । निशा भने ‘वाइल्ड कार्ड’मार्फत ओलम्पिक खेल्दैछिन् ।