तामाङ भाषाको गजल संग्रह सार्वजनिक
काठमाडौँः पत्रकार तीर्थमान बलको तामाङ भाषाको गजल संग्रह ‘छार होअीस्हेर’ (नयाँ किरण) सार्वजनिक भएको छ । नाङशाल क्लब नेपालले राजधानीमा गरेको सार्वजनिक कार्यक्रममा कृषि राज्यमन्त्री राधिका तामाङले गजल संग्रह विमोचन गरिन् ।
‘तामाङ साहित्य पछिल्लो सयम उदाउँदो बाटोमा लागेको छ,’ राज्यमन्त्री राधिकाले भनिन्, ‘भाषा संस्कृतिको विकासका लागि सम्बन्धित भाषाका रचना प्रकाशित हुनु सकारात्मक छ ।’ उनले आफू साहित्य विद्याको नभएपनि साहित्यको पाठक भएको बताउँदै साहित्यले सकरात्मक रुपमा सामाजिक रुपान्तरण गर्नु पर्ने धारणा राखिन् ।
शान्ति फाउण्डेशन नेपाल र सेलो थिएटरको प्रकाशन रहेको गजल संग्रहमा तामाङ भाषा, धर्म, संस्कृति र पहिचानका विषय उठान गरेको लेखक बलले बताए। उनले तामाङ समुदायभित्रका विभिन्न बिम्बलाई गजलमा मिथकको रुपमा प्रयोग गरेको बताए।
नाङशाल क्लबका अध्यक्ष दीर्घ तामाङको सभाध्यक्षमा भएको ६८ औं साहित्यिक कार्यक्रममा स्रष्टाहरुले रचना समेत वाचन गरे ।