आन्दोलनबाट नोक्सानबाहेक हामीले के पायौं ?

आन्दोलनबाट नोक्सानबाहेक  हामीले  के पायौं ?

जनकपुरधाम: मधेसी जनताको माग संविधानमा सम्बोधन नभएको भन्दै मधेसवादी दलहरूको उद्घोषमा ६ महिना लामो बन्द र हडतालको मार खेपेका जनकपुर क्षेत्रका व्यापारीहरू यो आन्दोलनले के पायौं भन्दै एकअर्कासँग प्रश्न गर्न थालेका छन् ।

आन्दोलनको बेला मधेसवादी दलका नेताहरूले सभा र गोष्ठी गर्दा भाषणका क्रममा आन्दोलन अवधिमा व्यापारीहरूलाई बैंकको ऋणमा लाग्ने थप ब्याज मिनाहा गराइदिने, करहरूमा छूट गराइदिने, घरभाडा लिई व्यापार गरिरहेकाहरूको भाडासमेत माफ गराइदिने आश्वासन दिने गरेका थिए । मधेसी मोर्चाले आन्दोलन काठमाडौं केन्द्रित गरेपछि भने आर्थिक रूपमा धराशायी भएको मधेसलाई पछाडि फर्केर हेर्दै नहेरेको व्यापारीहरूको गुनासो छ ।

आन्दोलनमा सबैभन्दा बढी झडप र होहल्ला हुने जनकपुरको शिवचोकमा सञ्चालित होटेल वेलकम ६ महिना पूर्ण रूपमा बन्द रह्यो । त्यसकारण आफ्नो व्यवसाय बर्सौं पछाडि धकेलिएको सञ्चालक विजय झुनझुनवाला बताउँछन् । 'हामीले कसैले भनेको भरमा होटेल बन्द गरेका थिएनौं । वातावरणले नै हामीलाई बाध्य बनाएको थियो', झुनझुनवालाले भने, 'तर यो आन्दोलनका कारण अब व्यापारीहरूमा बन्द र हडतालको विरोध गर्ने हिम्मत पलाएको छ ।'

कसैले व्यवसायलाई थप प्रभावित गर्न खोजे 'नाइँ' भनेर विरोध गर्नसक्ने अवस्थामा पुगेको उनले बताए । नेताहरूले त्यतिबेला गरेको भाषण सम्झिँदै उनले भने, 'नेताहरूको हरेक भाषणमा विश्वास गरेकै कारण यति ठूलो क्षति भयो । अब जसले राजनीतिकभन्दा आर्थिक विकासका पक्षमा कुरा गर्छ उसलाई नै पत्याउनुपर्छ ।'

जनकपुरको अर्को आन्दोलनकारी अखडाका रूपमा परिचित जनकचोकमा प्रवीण स्टोर्स सञ्चालन गर्दै आएका प्रवीणकुमार साहले भने, 'आन्दोलनको अवधिमा जे क्षति भयो, त्यसको पूर्ति अब पाँच वर्षमा पनि हुन्छ भनेर यकिन गर्न गाह्रो छ ।' उनका अनुसार आन्दोलनमा जनता बर्बाद भए पनि नेताहरूलाई पुरानै ऐसआराममा देख्दा आन्दोलन किन भयो भन्ने लाग्छ ।
आन्दोलनको अवधिमा पसलको भाडा अझ बढाएर घरपधनीले असुल गरे पनि कसैले क्षतिपूर्ति दिलाउन पहल नगरेको उनले बताए । मधेसको हकका लागि आन्दोलन भइरहेको भन्दै एकातर्फ व्यापारीहरूलाई ६ महिनासम्म कामकाज ठप्प पार्न लगाइएको, अर्कातर्फ मधेसी मूलकै घरपधनीहरूले भाडामा छूट नगर्दा मन खिन्न भएको साहको गुनासो छ । केही पहाडी समुदायका घरधनीहरूले भाडा छूट गरे पनि अन्यले एक रुपैयाँ पनि छूट नगरेको उनले बताए ।

आन्दोलनका क्रममा सुनचाँदी व्यापारीहरूले ६ महिनामा सबैभन्दा बढी घाटा बेहोर्नुपरेको सुहागन ज्वेलर्सका सञ्चालक सञ्जीव साहले बताए । उनले भने, 'आन्दोलनका क्रममा मधेसी जनताले जे घाटा बेहोरे, त्यो १० लाख दिएर वा सहिद घोषणा गरेर पूर्ति हुन सक्दैन ।' मधेसी जनतालाई ठूल्ठूलो सपना देखाएर पूरा गराउन नसकेका मधेसवादी दलका नेताहरू बेइमान भएको कारण जनता मारमा परेको उनको आरोप छ ।

यस क्षेत्रका ठूला व्यापारी एभरेस्ट पेपर मिलका प्रमुख ओमप्रकाश सर्राफका अनुसार आन्दोलनका कारण जनकपुरको उद्योगव्यवसाय पलायन हुने अवस्था उत्पन्न भएको छ । 'आन्दोलनको बेला उद्योगीव्यवसायीले कसैको समर्थनका लागिभन्दा पनि आज बन्द गरे भोलि खुल्ला कि भन्ने आसमा बन्द गर्दै आएका थिए', सर्राफले भने, 'यस क्षेत्रका नेताहरू नै डिप्रेस्ड भएका कारण आन्दोलन सफल हुन नसकेको हो । आफ्नो मुद्दाभन्दा अरूको कुरा सुन्ने प्रवृत्तिले गर्दा जनताको समर्थन पाए पनि माग सम्बोधन गराउन सकेनन् ।'

मधेस आन्दोलनका क्रममा ६ महिनाको बन्द र हडतालमा कति क्षति भयो, त्यसको निश्चित लेखाजोखा नभए पनि करिब १५ अर्ब रुपैयाँ हाराहारी स्थानीय व्यापारीले नोक्सान बेहोर्नु परेको उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष शिवशंकर साह हीरा बताउँछन् । घरेलु उद्योगलाई पनि समाहित गर्ने हो भने यहाँ ५ सय सानाठूला उद्योगव्यापार सञ्चालनमा रहेको अवस्थामा लामो बन्दमा ठूलै क्षति भएको उनको भनाइ छ ।

उनी भन्छन्, 'मधेसी जनताले आन्दोलनमा सक्दो भूमिका देखाए । अब बल नेताहरूको कोर्टमा छ ।' आन्दोलन अवधिको घरभाडा मिनाहा गरिदिने घरधनीहरूलाई संघले सम्मान गर्ने भन्दै अपिल गरे पनि कृष्ण गिरी नामका एकजनाले भाडामा आधा छूट गर्नुबाहेक कसैले पनि छूट नगरेको साहले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.