'मल्टी इन्ट्री' भिसाका लागि दुई सय आवेदन
नुवाकोट: नेपाल र चीनको प्रमुख व्यापारिक नाका रसुवागढीबाट चीन प्रवेश गर्न 'मल्टी इन्ट्री' भिसाका लागि दुई सय जनाले आवेदन दिएका छन् । ट्रक, कन्टेनर, उद्योगी व्यवसायी गरी दुई सय जनाको आवेदन दर्ता गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।
यो भिसा पाएपछि रसुवागढी नाकाबाट व्यापारिक प्रयोजनाका लागि उद्योगी, व्यवसायी, कन्टेनर चालकलगायत केरुङसम्म आवतजावत गर्न पाउनेछन् ।
रसुवागढी नाकाबाट चिनियाँ पक्षले व्यवहारिकता हेरेर मात्र केरुङसम्म प्रवेश दिँदै आएको छ । चीनले मल्टी इन्ट्री भिसा प्रदान गरेपछि व्यापारिक कारोबार गर्न सुविधा पुग्ने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
रसुवा प्रशासनमा मल्टी इन्ट्री भिसाको सिफारिसका लागि दुई सय निवेदन परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । व्यापारी, कन्टेनर, उद्योगी तथा चालहकको आवेदन आइतबार गृहमन्त्रालयमा पठाइने उनले बताए । गृहमन्त्रालयले भने मल्टी इन्ट्री भिसाका लागि परराष्ट्र मन्त्रालयलाई ती निवेदन उपलब्ध गराउने व्यवस्था छ । परराष्ट्र मन्त्रालयलाई मल्टी इन्ट्री भिसाका लागि अन्तिम सिफारिससहित पठाइनेछ । परराष्ट्र मन्त्रालयले चीनको अध्यागमनलाई नाम पठाउने र भिसा प्रक्रिया सुरु हुने प्रजिअ अधिकारीले बताए ।
रसुवा प्रशासनले रसुवामा दर्ता भएका आठवटा ट्रक कन्टेनर व्यवसायी संघसंस्था, रसुवा उद्योग वाणिज्य संघ, नेपाल–चीन उद्योग व्यापार संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायतका संघसंस्थामार्फत मल्टी इन्ट्री भिसाको सिफारिसका लागि आवेदन दर्ता गरेको रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसाङनुर्वु तामाङले बताए । उनका अनुसार उद्योग वाणिज्य संघमार्फत मात्र एक सय जनाले निवेदन दर्ता गराएका छन् ।
आवेदन नेपालका सबैले दिन सक्ने रसुवा प्रशासनले जनाएको छ । तर, रसुवामा दर्ता भएका आठवटा ट्रक कन्टेनर व्यवसायी संघसंस्थाले भने सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै सञ्चालन भएका ट्रक कन्टेनरलाई सञ्चालन गर्न नदिने जनाएका छन् ।
गोसाइकुण्ड, पासाङल्हामु ट्रक कन्टेनर व्यवसायी संघलगायतले तातोपानी नाकामा सञ्चालित ट्रक कन्टेनरले महिनाको तीन पटक केरुङ पुगेर सामान आयातनिर्यात गरिरहेका छन् । तर, रसुवामा दर्ता भएका आठवटा ट्रक कन्टेनर व्यवसायी संघसंस्थाका ट्रक कन्टेनरले भने महिनाको एक पटक मात्र सामान आयातनिर्यात गर्न पाएकोगोसाइकुण्ड ट्रक कन्टेनर व्यवसायी समितिका उपाध्यक्ष सीताराम अर्यालले बताए ।
यसो गर्दा सिन्डिकेट हुने तातोपानीमा सञ्चालनका हुँदै आएका ट्रक कन्टेनर व्यवासायीको तर्क छ । रसुवाका प्रजिअ कृष्णप्रसाद अधिकारीले आफूलाई यसको आधिकारिक जानकारी नभएको बताए । उनले सिन्डिकेट प्रथा कानुन विपरीत भएको बताए ।
काठमाडौंबाट एकसय ५५ किलोमिटर दूरीमा रहेको रसुवागढी नाका नेपाल–चीन प्रवेशको छोटो र ठूलो नाका हो । यो नाकाबाट गत वर्षदेखि आयातनिर्यात औपचारिक रूपमा सञ्चालन गरिएको छ ।
हाल सिन्धुपाल्चोकतर्फको तातोपानी नाका बन्द रहेको अवस्थामा एकमात्र रसुवागढी नाका सञ्चालनमा छ । नाकाबाट सहज व्यवस्थापनका लागि चिनियाँ पक्षसँग छलफल जारी रहेको रसुवा प्रशासनले जनाएको छ । चीनले दिने मल्टी इन्ट्री भिसाको अवधि ६ महिनाको हुनेछ ।
यो भिसा पाएपछि रसुवागढी नाकाबाट व्यापारिक प्रयोजनाका लागि उद्योगी, व्यवसायी, कन्टेनर चालकलगायत केरुङसम्म आवतजावत गर्न पाउनेछन् ।