'डम्पिङसाइट' बन्दैछ रामसीताको विवाहमण्डप

'डम्पिङसाइट' बन्दैछ रामसीताको विवाहमण्डप

जनकपुरधाम: भगवान् रामसीताको विवाहस्थल जनकपुरको एतिहासिक रंगभूमि (बाह्रबिघा) मैदान फोहोर फाल्ने चौरमा परिणत भएको छ । सौन्दर्यीकरणका लागि झन्डै तीन करोड रकम खर्चिए पनि रंगभूमि मैदानको अवस्था पुरानो स्वरूपभन्दा झनै जर्जर बनेको हो ।

भारतीय दूतावासको अनुदान सहयोगमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पाँच वर्षअघि रंगभूमि मैदानमा २ करोड ५७ लाख रकम खर्चेको बिल भर्पाईमा देखाइएको छ ।

मैदानको सौन्दर्यीकरणको नाउँमा विभिन्न चारवटा योजना बनाएर रकम खर्चिएको हो । तर मैदानको अवस्था हेर्दा कहाँ सौन्दर्यीकरण भएको छ भन्ने स्थान फेला पार्न गाह्रो हुन्छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वृक्षरोपण, गेट निर्माण, पर्खाल निर्माण, मैदानको ठाउँठाउँमा वाक वे निर्माण, हाई मास लाइट जडान, शौचालय निर्माणलगायत शीर्षकमा आव २०६८÷०६९ मा २ करोड ५७ लाख ८९ हजार ७ सय ६७ बजेट विनियोजन गरेको थियो ।

पर्खाल, वृक्षरोपण, वाक वे निर्माणको जिम्मेवारी लिएको काठमाडौंस्थित चन्द्रा एन्ड वसन्त कम्पनीले १ करोड ३२ लाख भुक्तानी लिइसकेको छ तर वाक वे, वृक्षरोपणलगायत कार्य रंगभूमि मैदानमा कहींकतै देखिँदैन ।

महोत्तरी बगडाको सन्नी कन्स्ट्रक्सनले ४८ लाखको ठेक्का पाएर माटोभराइको काम हातपार्‌यो । तर माटोभराइ कागजमै सीमित भएको हो । वास्तविकतामा उक्त मैदानमा चारैतिर खाल्डाखुल्डीका कारण पानी जम्ने गरेको छ । काम नगरे पनि ४८ लाखको बजेटमध्ये ४७ लाख रकम सन्नी कन्स्ट्रक्सनले पाइसकेको छ ।

सौन्दर्यीकरणको योजनाअनुसार हाइमास लाइट मैदानमा ठड्याइएको छ । परीक्षणका लागि केही समय लाइट बालिए पनि हाल प्रयोजनविहीन बनेको छ ।बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले तीन वर्षअघि लगाइएको ठेक्काको रकम सम्बन्धित निर्माण कम्पनीलाई दिइसकेको छ । कुन आधार र प्रक्रियामा गएर बिल फस्र्योट गरिएको छ त्यस विषयमा बृहत्तरका कार्यकारी निर्देशक जबाफ दिन पन्छिने गरेका छन् ।

बाह्रबिघाको सौन्दर्यीकरण योजना हातपारेको चन्द्रा एन्ड वसन्त, सन्नी कन्स्ट्रक्सन र हिम इलेक्ट्रोनिक्स गणबहाल काठमाडांैले समयमै निर्माणकार्य सम्पन्न गरेन । सम्पन्न गरे पनि गुरुयोजनाअनुरूप नभई ठेकेदार कम्पनीले आफ्नो सहुलियतबमोजिम टालटुल पार्ने काम मात्रै गरेको छ ।

यसले गर्दा अढाइ करोड खर्चिएर सौन्दर्यीकरण गर्ने लक्ष्य राखिएको बाह्रबिघा हाल कुरूप र जीर्ण अवस्थामा पुगेको छ । जनकपुरमा कुनै पनि ठूलो सभासम्मेलन, मेला वा शिविर सञ्चालन गर्नुपर्दा सबैभन्दा उपयुक्त मैदानका रूपमा रंगभूमि भए पनि अहिले संरक्षणको अभावमा यो फोहोरले भरिभराउ भएको छ । जानकी मन्दिरअन्तर्गत पर्ने यो मैदानको संरक्षण संवद्र्धनका लागि मन्दिरका तर्फबाट पनि खासै पहल भएको छैन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.