आर्थिक केन्द्र बन्दैछ बुटवल-भैरहवा क्षेत्र

आर्थिक केन्द्र बन्दैछ बुटवल-भैरहवा क्षेत्र

भैरहवा: उद्योगी पशुपति मुरारकाले भैरहवामा रहेको अर्घाखाँची सिमेन्ट उद्योगको क्षमता दोब्बर बनाउँदैछन् । क्षमता विस्तार गर्न उनले चार अर्ब रुपैयाँ लगानी गर्दैछन् । खेतान समूहले काभ्रेमा रहेको मायोज चाउचाउको दोस्रो प्लान्ट स्थापनका लागि भैरहवा रोज्यो । मदिरा जगतका सफल उद्यमी विजय शाहको पनि विजय डिस्टीलरी र राज ब्रुअरी स्थापना गर्न भैरहवा रोजाइमा पर्‌यो ।

व्यावसायिक घराना गोल्छा समूहले भैरहवा आसपासमा बजाज बाइकको एसेम्बल्ड प्लान्ट खोल्दैछ । यस्तै, विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आएपछि भैरहवामा निर्यातजन्य उद्योगको पनि आकर्षण बढिरहेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै भैरहवा र लुम्बिनीमा तारे होटेल खोल्न होडबाजी चलेको छ ।

मधेसवादी दलको आन्दोलनका कारण वीरगञ्ज असुरक्षित बन्दै गएपछि कार्गो व्यवसायी पनि भैरहवातर्फ मोडिएका छन् । वीरगञ्जबाट भित्रिने नयाँ गाडी र औद्योगिक कच्चा पदार्थ भैरहवाबाट भित्रन थालेको छ । टाटा, सुजुकीलगायतका कम्पनीले भैरहवामा जग्गा भाडामा लिएर यार्ड बनाइसकेका छन् । भैरहवामा उद्योग र होटेल खोल्नका लागि जग्गा खोज्नेहरूको संख्या ह्वात्तै बढेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा बताउँछन् ।

Lumbeni Airport_1

लामो समयदेखि पूर्वी तराईमा देखिएको अस्थिरताले भैरहवा र आसपासको क्षेत्र चम्किन थालेको हो । अहिले भैरहवाले औद्योगिक तथा व्यावसायिक सहरको पहिचान बनाइसकेको छ । महिनौं लामो भारतीय नाकाबन्दी र तराई आन्दोलनमा पनि भैरहवा शान्त रह्यो । पूर्वी तराई ठप्प हुँदा भैरहवाबाट समान भित्रियो । पछिल्लो तराई आन्दोलन र नाकाबन्दीमा भैरहवा नाका नेपालको लाइफलाइनका रुपमा रह्यो । यसले पनि भैरहवाको महिमा बढाएको बताउँछन्, अध्यक्ष शर्मा ।

मधेसवादी दलको आन्दोलनले वीरगञ्ज असुरक्षित बन्दै गइरहेको छ । वीरगञ्जको भविष्यमाथि सशंकित हुँदै लगानीकर्ता भैरहवामा केन्द्रित हुन थालेका हुन् । भैरहवामा औद्योगिक वातावरण राम्रो रहेको उद्योगी मुरारकाको ठहर छ । उद्योगको क्षमता विस्तार गर्नेदेखि नयाँ उद्योग खोल्नेसम्मको रोजाइमा भैरहवा पर्न थालेको छ ।

पछिल्लो समय चर्किएको आन्दोलनले वीरगञ्ज अब सुरक्षित हुँदैन कि भनेर केही उद्योगपति व्यवसायीले आफ्नो व्यवसाय स्थानान्तरण गर्न थालेको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् । व्यवसाय स्थानान्तरण गर्ने उपयुक्त ठाउँ भैरहवा बनेको उनको भनाइ छ । आर्थिक गतिविधि बढी हुने ठाउँमा आन्दोलन गरेमा आफ्ना माग चाँडै पूरा हुने सबैलाई लागेको छ । त्यही भएर आन्दोलन गर्न सबै वीरगञ्ज नै धाउँछन् ।

'विराटनगर र वीरगञ्जमा व्यावसायिक गतिरोध धेरै देखिएको छ, त्यहाँका ट्रेड युनियन ज्यादै बिग्रिएका छन्, त्यति हदसम्म भैरहवा क्षेत्रका ट्रेड युनियन बिग्रिएको छैनन्', पूर्वसचिव खनालले भने, ‘त्यही भएर भैरहवा क्षेत्रमा औद्योगिक –व्यावसायिक सम्भवना अझ बढ्न गएको छ ।'

बाराको निजगढमा बनाउने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि ओझेलमा परेको छ । यस्तै, निजगढ–काठमाडौं जोड्ने द्रुतमार्ग पनि तत्काल बन्ने सम्भवना देखिएको छैन । तर, भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम धेरै अगाडि बढिसकेको छ । यसले पनि भैरहवाको व्यावसायिक सम्भवनालाई झनै बढाएको खनाल बताउँछन् । यद्यपि, निजगढ विमानस्थल र द्रुतमार्ग बनाउ सकेमा वीरगञ्जको आकर्षण कायमै रहनेछ ।

प्रस्तावित पाँच नम्बर प्रदेशमा पर्ने भैरहवा नेपालको मध्यभागमा पर्छ । राजधानी काठमाडौंबाट पनि भैरहवा नजिकै छ । त्यसमाथि भारतसँग नजिक रहेको र उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधारसमेत विकास भइरहेको हुँदा भैरहवा महत्वपूर्ण बन्दै गइरहेको छ । भैरहवामा मुलुककै पहिलो सेज हालसालै सञ्चालनमा आएको छ । सेजमा निकासीजन्य उद्योगको आकर्षण देखिएको छ ।

भैरहवाबाट नवलपरासीको भुमही निस्कने सडकखण्डमा नयाँ उद्योग खुल्ने क्रम बढेको शर्माले जानकारी दिए । भैरहवा भूमही सडक निर्माण भएपछि भैरहवा हुँदै काठमाडौं भित्रिने सामान बुटवल भएर लैजानुपर्ने बाध्यता हटेको छ । ट्रक तथा कन्टेनर भैरहवाबाट सीधै नवलपरासीको भूमहीमा निस्किएर काठमाडौं जान सक्छन् ।

भैरहवाको बेलहियादेखि बुटवलसम्मको सडक ६ लेनमा स्तरोन्नति गर्ने काम भइरहेको छ । सुनौलीतर्फ पनि भारतले सडक विस्तार गर्दैछ । भैरहवा भन्सारको स्तरोन्नति तथा कन्टेनर यार्डको क्षमता विस्तारको काम पनि सँगसँगै भइरहेको छ । यसले पनि भैरहवा नाका आयात निर्यात व्यापारका लागि सहज बन्दैछ ।

वीरगञ्ज कलकत्ता बन्दरगाहसँग नजिक रहेका कारण चम्किएको हो । त्यसमाथि सीमा क्षेत्रसम्म आएको रेलले सीधै समान बोकर आउँथ्यो । नेपालले साँघुरो बन्दै गएको कलकत्ता बन्दरगाहको विकल्प खोजिरहेको छ । नेपाल सरकार र भारत सरकारबीच हालैमात्र नेपाललाई विशाखापट्टनम बन्दरगाह प्रयोग गर्न दिने सम्झौता भएको छ । तुलनात्मक लाभको हिसाबले विशाखापट्टनम कोलकात्ताभन्दा सस्तो, सजिलो र समय कम लाग्ने हुँदा व्यवसायी त्यहाँबाट समान ल्याउन उत्साहित देखिएका छन् ।

कलकत्ताबाट वीरगञ्ज नजिक पर्छ । तर, विशखापट्टनमबाट वीरगञ्ज र भैरहवाको दूरी लगभग समान छ । भोलि विशखापट्टनम बन्दरगाह सञ्चालनमा आउने वित्तिकै तेस्रो मुलुकको समान वीरगञ्जबाट नभई भैरहवाबाट भित्रिन थाल्ने पूर्वसचिव खनाल बताउँछन् ।

भैरहवादेखि बुटवल तथा नवलपरासीको भूमहीसम्म सडकको अवस्थामा पनि राम्रो छ । बुटवल भैरहवा सडक ६ लेनमा स्तरोन्नति भइरहेको छ । त्यसमाथि विराटनगर वीरगञ्जतिरको राजमार्गभन्दा भैरहवातिरको राजमार्गको वस्तीमा मधेसवादी आन्दोलनकारीको प्रभाव कम छ ।

प्रमुख पर्यटकीय गन्तव्य

गौतम बुद्धको जन्मस्थल लुम्बिनी भैरहवाबाट नजिक पर्छ । लुम्बिनी विश्वका अर्बौं बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र हो । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीमा पर्यटकको ओइरो लाग्नेछ । विमानस्थलमा ऋण लगानी गरिरहेको एसियाली विकास बैंक (एडीबी)ले भैरहवामा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । एडीबीले भैरहवा सहरको 'ब्युटिफिकेसन' का लागि समेत ठूलो लगानी गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनी प्रमुख पर्यटकीयस्थल बन्ने पूर्वसचिव खनाल बताउँछन् । भैरहवामा औद्योग धन्दाभन्दा पर्यटन व्यवसाय झनै चम्किने सम्भवना छ । अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि भैरहवामा दर्जनौं तारे होटेल निर्माण हुन लागेका छन् ।

आगामी तीन वर्षभित्र भैरहवा र लुम्बिनीमा चारवटा पाँचतारे होटेल सञ्चालनमा आउँदैछन् । पाँचतारे होटेल पवन प्यालेस, टाइगर प्यालेस, बोधी रेडसन र नान्सको निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । काठमाडौं, पोखरा र सौराहामा होटेल चलाइरहेका ठूला लगानीकर्तासमेत लुम्बिनीमा होटेल सञ्चालनका लागि जग्गा खोजिरहेका छन् ।

एसियन फर्मास्यूटिकल्स ग्रुपले बर्मेली टोलमा चारतारे होटेल खोल्दैछ । स्थानीय पर्यटन व्यवसायी राम थापाले चारतारे होटेल खोल्दैछन् भने होटेल तिब्बत काठमाडौंले लुम्बिनीको पर्साचोक नजिकै पाँचतारे होटेल खोल्न पाँच बिघा जग्गा खरिद गरिसकेको छ । महांघका पूर्वअध्यक्ष सुरज वैद्यले तारे होटेल सञ्चालनका लागि जग्गा खोजिरहेका छन् ।

पाँचतारे होटेल सोल्टीले लुम्बिनीमा चारतारे होटेल खोल्ने एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ बताउँछन् । अहिले बाँकेमा सोल्टीले चारतारे होटेल बनाइरहेको छ । त्यसपछि लुम्बिनीमा होटेल निर्माण कार्य अगाडि बढाउने उनको भनाइ छ ।
पाँचतारे सांग्रिलाले पनि लुम्बिनीमा होटेल खोल्दैछ । लक्जरी बुटिक होटेल द्वारिकाजले पनि लुम्बिनीको ८ नम्बर गेटमा होटेल खोल्न जग्गा लिइसकेको बताइएको छ । पोखरा र सौराहामा ल्यान्डमार्क होटेल सञ्चालन गरिरहेका सीएन पाण्डेले पनि लुम्बिनीमा होटेल खोल्न जग्गा लिइसकेका छन् ।

डलर अर्बपति विनोद चौधरी पनि लुम्बिनीमा खर्चालु पर्यटकलाई लक्षित गरेर लक्जरी होटेल खोल्ने योजनामा छन् । यसका लागि उनी जग्गाको खोजीमा रहेको बुझिएको छ । नाङ्लो समूहले पनि लुम्बिनीमा होटेल खोल्दैछ ।

पूर्वाधारमा छलाङ

पूर्वाधार विकासमा पनि भैरहवा अगाडि देखिएको छ । भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, ६ लेनको सडक, विशेष आर्थिक क्षेत्र, भित्री सडकको स्तरोन्नति, लुम्बिनी परिक्रमा सडक, अन्तर्राष्ट्रिय स्तरको रंगशाला, व्यवस्थित यार्ड निर्माणलगायतका काम भइरहेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा एक हजार जना क्षमताको अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हल बनाउने घोषणा गरिसकेका छन् । यसले पनि भैरहवा लुम्बिनी क्षेत्रको महिमा बढाउने निश्चित छ ।

भैरहवा पुग्दा यस्तो लाग्छ, मुलुकको विकास भैरहवाबाट सुरु हुँदैछ । ‘पछिल्लो समय नेपालको कुनै सहर चम्किएको छ भने त्यो भैरहवा हो', गत वैशाखमा भैरहवा पुगेका उद्योगपति चौधरीले भन्दै थिए, ‘बुटवल भैरहवाको विकास देख्दा यो क्षेत्र एकातिर, बाँकी नेपाल अर्कोतिर हुने महशुस भयो ।' उनले पनि भैरहवा क्षेत्रमा उद्योग व्यवसाय विस्तार गर्न खोजिरहेका छन् । भैरहवामा ११ वटा सिमेन्ट उद्योग छन् । नेपालमा खपत हुने कुल सिमेन्टमा भैरहवा क्षेत्रको योगदान ४० प्रतिशत छ । खाद्यन्नमा पनि भैरहवा क्षेत्रको योगदान धेरै छ ।

यसैगरी स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि भैरहवा अगाडि छ । लुम्बिनी अञ्चलकै स्तरीय हस्पिटल भैरहवामा छन् । यहाँ रहेको आँखा अस्पताललाई दक्षिण एसियाकै राम्रो मानिन्छ । यहाँ आउने बिरामी नेपालीभन्दा भारतीय बढी हुन्छन् ।

– नाकाबन्दीपछि चम्कियो भैरहवा भन्सार
– १० वटा स्तरीय तारे होटेल सञ्चालनमा
– ११ वटा सिमेन्ट उद्योग
– मुलुककै पहिलो सेज
– दर्जनौं स्टिल र खाद्यन्न उद्योग
– होटेल र उद्योग खोल्न जग्गा खोज्दै लगानीकर्ता ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.