पर्यटक भिसामा आएर गैरपर्यटकी गतिविधि
काठमाडौं: पर्यटन भिसामा नेपाल आएर गैरपर्यटकीय गतिविधिमा संलग्न विदेशीको संख्या ठूलो रहेको पाइएको छ । नेपालमा वार्षिक करिब ३० हजार जना पर्यटक भिसामा आएर गैरपर्यटकीय गतिविधिमा संलग्न हुने सरकारी अधिकारीले जानकारी दिएका छन् । नेपालमा पर्यटक भिसामा प्रवेश सहज भएकोले त्यसमा आएर गैरपर्यटकीय गतिविधि गर्नेको संख्या बढेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताएका छन् ।
'नेपाल आउने सबै विदेशी पर्यटक होइनन्', न्यौपानेले भने । विदेशीले पनि अन्य प्रयोजन खुलाउँदा झण्झटिलो प्रक्रिया हुने, भिसा नपाउने र आफ्नो रुचिअनुसार काम गर्न नपाइने भएकोले पर्यटक भिसामा नै आउने गरेको न्यौपाने बताउँछन् । अध्यागमन नीति नभएको र पर्यटकले उद्देश्य खुलाउनै पर्ने बाध्यकारी व्यवस्था नभएको तथा गैरपयटकीय गतिविधिमा पनि अपराध बाहेकमा कुनै सयाज नहुनाले विदेशीले फाइदा लुटिरहेका छन् ।
पर्यटक बनेर नेपाल प्रवेश गरेका विदेशी नेपालीसँग बिहे गर्न, लागू औषधको करोबार गर्न, लुटपाट गर्न, स्वयंसेवी बन्न तथा अन्य विविध गर्ने उद्देश्यले आउने गरेको पाइएको छ । स्वयंसेवी गर्न आउने विदेशीले आफ्नो उद्देश्य खुलाएमा झण्झटमा पर्ने भएकोले पनि पर्यटक भिसा नै लिने गरेको अधिकारीको बुझाइ छ ।
नेपाल आएका पर्यटकको अनुगमन नहुने र कुनै गैरपर्यटकीय गतिविधि गरेको फेला परे कारबाही नहुने लचिलो कानुनका कारण गैरपर्यटकीय गतिविधि बढेको नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य तथा पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले बताए । सापकोटाका अनुसार पोखरामा हिप्पी टाइपमा आएका विदेशीले खुलेआम लागूऔषधको काम गरिरहँदा कसैको ध्यान पुगेकै छैन ।
'पर्यटकलाई अप्ठारो परेकोमा सहयोग गर्ने निकाय नै नभएको अवस्था उनीहरूका गतिविधि कसले निगरानी गर्ने ? ', सापकोटाले भने । पर्यटकलाई नियन्त्रण गर्ने तथा निगरानी गर्ने नीति राज्यले बनाउनुपर्ने उनको सुझाव छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजालले नेपालमा वार्षिक साढे पाँच लाख विदेशी पर्यटक भित्रिरहेको भएपनि कुन गतिविधि गर्ने पर्यटक कति छन् भन्ने तथ्यांक नभएको बताए । 'पर्यटक आएको तथ्यांकसमेत राख्न नसक्ने सरकारबाट हरके पर्यटकको गतिविधि निगरानी कहिले हुने ? ', रिजालले प्रश्न गरे ।
पर्यटक बनेर नेपाल प्रवेश गरेका विदेशी नेपालीसँग बिहे गर्न, लागू औषधको करोबार गर्न, लुटपाट गर्न, स्वयंसेवी बन्न तथा अन्य विविध गर्ने उद्देश्यले आउने गरेको पाइएको छ
भारतीय र चिनियाँ स्वार्थ बोकेर नेपाल प्रवेश गर्ने विदेशीका कारण पर्यटकको नाममा जासुसी बढेको होटेल संघ नेपाल (हान)का महासचिव विनायक शाहले बताए । नेपालमा आएर लागूऔषधदेखि जडीबुटीसम्मको कारोबार गर्ने, आपराधिक गतिविधिमा संलग्न हुने तथा महिला तथा बालबालिका बेचबिखन पनि पर्यटकका नाममा आएका विदेशीबाट नै हुने गरकोले यसलाई नियन्त्रण गर्ने कानुन आवश्यक भएको शाहको सुझाव छ ।
पर्यटन विभागका महानिर्देशक सुदर्शन ढकालका अनुसार सामाजिक अभियन्ताका नाममा होस् वा स्वयंसेवी जो भए पनि भिसामा उल्लेख गर्ने व्यवस्था नभएका कारण समस्या बढेको हो । यसका लागि छुट्टै अध्यागमन कानुन हुनुपर्छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भिसाको प्रकार छुट्याउने नीतिगत काम गर्नुका साथै व्यवसायीले व्यक्तिगत लाभमा भएको स्वार्थलाई हटाउनु पर्ने बताए । नेपाल पर्वतारोहण संघका महासचिव ठाकुरराज पाण्डेका अनुसार जबसम्म राज्यले एकद्वार नीति अबलम्बन गर्दैन तबसम्म पर्यटन क्षेत्र व्यवस्थित हुन कठिन छ ।
अध्यागमन विभागमा पर्यटक प्रहरीमार्फत, पर्यटक आफैं र सम्बन्धित नेपाली एजेन्सीमार्फत गएका सीमित गुनासा मात्रै आउने गरेका छन् ।
सामाजिक पर्यटनको प्याकेज आवश्यक
पर्यटन मञ्च नेपालका अध्यक्ष मनोज गिरीले समुदायमा लागि काम गर्न आउने पर्यटकका लागि छुट्टै सामाजिक पर्यटनको प्याकेज बनाउनुपर्ने बताएका छन् । गिरीका अनुसार सामाजिक पर्यटनलाई प्याकेज बनाएर प्रवद्र्धन गर्न सके पर्यटनको दायरा फराकिलो हुनेछ ।
सामाजिक पर्यटन प्रवद्र्धन गर्न सके समाजमा पर्यटकीय गतिविधि नै सुरक्षित र व्यवस्थित हुन सक्ने तर्क उनको छ । सामाजिक पर्यटनले पर्यटनको उद्देश्य स्पष्ट भई पर्यटकीय गतिविधिको निगरानीमा सहजता हुने उनको भनाइ छ ।