'महाकाली गँ: प्याखँ' को पुनर्जीवन

'महाकाली गँ: प्याखँ' को पुनर्जीवन

भक्तपुर: सात वर्ष निरन्तर रोकिएको मध्यपुर थिमि नगरपालिकाको नगदेशस्थित मल्लकालीन महाकाली गँ: प्याखँ (महाकाली गणनाच) यस वर्ष पुनः सुरु भएको छ ।

गाईजात्राको भोलिपल्टदेखि चार दिन लगातार प्रदर्शन हुने उक्त नाच नगदेशवासीको पहलमा शनिबार सुरु भएको हो ।
आर्थिक अभावले रोकिएको उक्त नाच सञ्चालन गर्न यस वर्षदेखि अक्षयकोषसमेत स्थापना गरिएको महाकाली नाच व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर घजूले जानकारी दिए ।

उनका अनुसार अष्टमातृका देवी महाकालीलाई मुख्य मानी महालक्ष्मी, कुमारी, सिंह, मयूर र महिषासुर राक्षस एकएक, भूत, भैरव, कवाङचा (कंकाल), माक (बाँदर) र ख्याक दुईदुई तथा बेताल चार गरी कुल १८ कलाकारले उक्त नाच प्रदर्शन गर्छन् ।

पहिलो दिन नगदेशका विभिन्न १० ठाउँमा यो नाच प्रदर्शन गरिएको छ । रात्रिको समयमा निस्कने यस नाचको प्रदर्शनले नगदेश क्षेत्र भूतप्रेत, पिशाच, रोगव्याधि, विभिन्न प्राकृतिक प्रकोप एवं चोरको भयबाट मुक्त हुने जनविश्वास छ ।

नाचका गुरुसमेत रहेका अध्यक्ष घजूले यो नाच दैनिक करिब चार घन्टाका दरले नगदेशका च्वे त्वाः गाः, कुमालाछी, छ्वास त्वाः, नृत्यनाथ, लाछी टोलमा प्रदर्शन गरिने जानकारी दिए ।

त्यस्तै बाहः ननीस्थित उःननी र थःननी, झ्वापुननी, क्वें त्वाः गाः र पुखुसिमा पनि यो नाच प्रदर्शन गरिन्छ ।
दस ठाउँमध्ये नृत्यनाथ, च्वे त्वाः गा, छ्वास त्वाः र उःननीमा महाकालीको सम्पूर्ण नाच प्रदर्शन गरिने महाकाली भएका कलाकार स्वस्थानी वैद्यले जानकारी दिए ।

'महाकाली नाच २१ वटा तालमा नचाइन्छ', वैद्यले भने, 'सबै तालमा १८ जना कलाकारको सहभागिता हुँदैन । तालअनुसार फरकफरक कलाकार सहभागी हुन्छन् ।' उनका अनुसार एकताल, दुताल, चौताल, परताल, ब्रह्मताल, अष्टताल, बौतय्गु ताल र दैत्यसंहार तालमा सबै कलाकार सहभागी हुन्छन् ।

नाचका गुरु घजूका अनुसार मुहाली बाजा, नायखिँ, धाँ बाजा, तः, मृदङ, भुस्याय्, छुस्याय्लगायतको बाजाको संयुक्त तालमा उक्त नाच प्रस्तुत गरिन्छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.