इम्जा हिमताल खतरामुक्त

इम्जा हिमताल खतरामुक्त

काठमाडौं: नेपालकै सबैभन्दा जोखिममा रहेको सोलुखुम्बुको इम्जा हिमतालको पानी केही साताभित्रै बाहिर बग्ने भएको छ । अस्वाभाविक रूपमा बढिरहेको ताल घटाउन इम्जामा कुलो तथा अन्य भौतिक काम सम्पन्न भइसकेको छ ।

एक सय ५० मिटर गहिरो तालमा अहिले करिब आठ करोड घनमिटर पानी छ । अबको दुई महिनामा सो तालबाट चार लाख घनमिटर पानी बाहिर जानेछ । 'यति पानी बाहिर पठाएपछि तत्कालका लागि ताल विस्फोटको खतरा टर्छ,' जलवायु तथा मौसमविज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले भने ।

करिब डेढ किलोमिटर चौडाइ भएको यो तालबाट अहिले तीनेदेखि चार घनमिटर पानी बाहिर बगिरहेको छ । सोही ठाउँमा पानी बगाउने कुलो निर्माण गरिएको छ । ढलान गरेको कुलो सुक्न अझै एक महिना लाग्ने जानकारी निर्माणमा संलग्न नेपाली सेनाले दिएको छ । ढलान सुकेपछि मात्रै पानी बाहिर बगाउने विभागको योजना छ । धेरै पानी पठाउँदा अरू खतरा हुनसक्ने भएकाले बिस्तारै पानी बाहिर निकाल्ने योजना विभागले बनाएको हो ।

यो ताल सन् १९५० मा सानो पोखरीका रूपमा देखिएको थियो । १९८० पछि भने तीव्र गतिमा बढ्न थालेको हो । जलवायु परिवर्तनका कारण बढिरहेको तापक्रमका कारण हिमाको हिउँ पग्लिएर पोखरीमा जम्मा हुन थालेपछि यसको आकार निरन्तर बढिरहेको छ । अहिले पनि तालको एकातिर हिमालले छोएको छ । पग्लिएको हिउँ त्यहींबाट तालमा जम्मा हुन्छ ।

हिउँ पग्लिएर हिमतालको आकार अस्वाभाविक रूपमा बढेपछि जोखिम न्यूनीकरण गर्न वातावरण मन्त्रालयले नेपाली सेनालाई जिम्मा दिएको थियो ।

पाँच हजार १० मिटरको उचाइमा रहेको इम्जा ताल विस्फोट भए तल्लोतटीय क्षेत्रमा ठूलो क्षति हुने चेतावनी विभिन्न अध्ययनले दिएका छन् । हिमताल नेपालकै तीव्र गतिमा बढिरहेको ताल हो । सरकारले पानी घटाउन विभिन्न समयमा बोलपत्रसमेत आह्वान गरेको थियो । तर कुनै कम्पनीले पानी घटाउने आँट नगरेपछि सरकारले नेपाली सेनाको जिम्मा लगाएको थियो ।

यसअघि नेपालमा पहिलोपटक च्छोरोल्पा हिमतालको पानी घटाएर जोखिम न्यूनीकरण गरिएको थियो । च्छोरोल्पाबाटै हिमतालको पानी घटाउन सकिने प्रमाणित भएको थियो ।

इम्जा हिमताल वैशाख १२ को भूकम्पपछि विस्फोट हुन सक्ने चेतावनी विज्ञहरूले दिइरहेका थिए । नेपाली सेनाले हेलिकोप्टरको सहायताले आवश्यक मेसिन र उपकरण इम्जा पुर्‌याएको थियो । कुलो खनेर इम्जाको पानी दूधकोसीमा मिसाउने योजना छ ।

जलवायु तथा मौसम विज्ञान विभागका अनुसार इम्जाको पानी तीन मिटर घटाउन नेपाली सेनालाई ३३ करोड रुपैयाँ प्रदान गरिएको छ । तालको पानी निकासका लागि डाइभर्सन च्यानल बनिसकेको छ भने गेट निर्माणसमेत सम्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.