अब प्रचण्डसँग सहयात्रा हुँदैन : मोहन वैद्य
जनकपुरधाम: नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले अब माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहयात्रा हुन नसक्ने बताएका छन्।
जनकपुरमा आइतबार आयाजित पत्रकार सम्मेलनमा वैद्यले भने, 'प्रचण्डजीसँग पुनः सहयात्राको सम्भावना छैन।' प्रचण्ड प्रधानमन्त्री भएपछि वैद्य दुईपटक बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरिसकेका छन्। उनले टालटुले संशोधनले समस्या समाधान नहुने बताउँदै संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याए।
उनले भने, 'संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित सक्दैन।' मधेसवादी दलमा मधेसको हितभन्दा पनि संसद्को मोहका कारण आन्दोलनलाई गन्तव्यमा पुर्याउन नसकेको भन्दै उनले दलहरूले दिने गरेको धोकाबाट सजग रहनु जरुरी छ।'
जनताको हितको दृष्टिले वर्तमान सरकारको सफलताको कसी प्रष्ट छैन भन्दै उनले भने,'यो सरकारको सफलताको कुनै आधार छैन।'
अध्यक्ष वैद्यले आफ्नो दल देशमा नयाँ आन्दोलनको तयारीमा लागिपरेको पनि बताए।