नेइमारको निर्णायक गोलमा ब्राजिलले जित्यो फुटबलमा स्वर्ण
रियो दी जेनेरियोः कप्तान नेइमारको निर्णायक गोलको मदतमा आयोजक राष्ट्र ब्राजिलले ओलम्पिक फुटबलमा स्वर्ण पदक जितेको छ।
आइतबार बिहान ब्राजिलको रियो दी जेनेरियोस्थित मराकाना रंगशालामा भएको फाइनल भिडन्तमा विश्व विजेता जर्मनीलाई पेनाल्टी सुट आउटमा ५–४ गोल अन्तरले पराजित गर्दै ब्राजिलले फुटबलमा स्वर्ण पदक हात पारेको हो।
ब्राजिललाई स्वर्ण पदक जिताउँदा ४–४ गोलको बराबरी हुँदा अन्तिममा पेनाल्टी प्रहार गर्न आएका नेइमारले गरेको गोल नै निर्णायक बन्यो।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको समयमा पनि दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि पदकको छिनोफानो पेनाल्टी सुटआउटबाट लिइएको थियो। जितसँगै ब्राजिल विश्वकप फुटबलमा ब्यहोरेको हारको बदला पनि लिन सफल भयो।
यसअघि खेलको २७ औं मिनेटमा नेइमारले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ५९ औं मिनेटमा म्याक्स मेयरले जर्मनीका लागि बराबरी गोल फर्काउका थिए।