मैदानमै नेइमार रोएपछि..
रियो दी जेनेरियोः ब्राजिलले रियो ओलम्पिकमा फुटबलमा विश्व विजेता जर्मनीलाई पेनाल्टी सुट आउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्वर्ण जित्यो। घरेलु मैदानमा फुटबलमा स्वर्ण जित्ने सपना सिंगो ब्राजिलसँगै टिम कप्तान नेइमारसँग थियो।
ब्राजिललाई आफ्नै कप्तानीमा ओलम्पिक फुटबलमा स्वर्ण जिताउने सपना अझ बढी थियो नेइमारसँग। त्योसँगसँगै उत्तिकै धेरै दबाब पनि थियो उनीमाथि। तर, अन्ततः ब्राजिल र नेइमारको त्यो एउटा सपना आइतबार राति पूरा भयो।
ब्राजिलले रियो ओलम्पिकमा फुटबलमा स्वर्ण जित्न नसकेको लामो समय भइसकेको थियो। अन्ततः त्यो लामो खडेरी नेइमारले तोडे। घरेलु मैदानमा भएको ओलम्पिकमा ब्राजिललाई फुटबलमा स्वर्ण जिताउने क्रममा नेइमारले निर्णायक गोल गरे।
तर, आफ्नो गोलसँगै ब्राजिलले फुटबलमा जर्मनीलाई हराएर स्वर्ण जितेपछि भने नेइमार मैदानमै बसेर रोए। त्यो दृश्यले धेरै उनका फ्यान र फुटबल समर्थकहरुलाई समेत भावुक बनायो। गोल गर्नासाथ नेइमार भने मैदानमा बसेर डाको छोडेरै रोएका हुन्। नेइमारले यसअघि ब्राजिलबाट ओलम्पिकमा कुनै पदक हात पारेका थिएउन र त्यो दबाब कप्तान नेइमारसँग थियो र त्यो पूरा परेपछि नेइमार डाको छोडेर रोएका हुन्।
नेइमारले जर्मनीविरुद्ध अन्तिममा पेनाल्टी प्रहार गरेका थिए। जर्मनीको एउटा प्रहार खेर गएपछि निर्णायक पेनाल्टी प्रहार गर्ने जिम्मा लिएर नेइमार आएका थिए, र गोल गरे। नेइमार मैदानमै रुन थालेपछि ब्राजिलका गोल रक्षकले आएर नेइमारलाई सम्हालेका थिए।
यसअघि ब्राजिल तीन पटक सन् १९८४, १९८८ र २०१२ को ओलम्पिकमा फाइनलमा पुगेपनि स्वर्ण पदक भने जित्न सकेको थिएन।