रौतहटमा गोली लागेर घाइते गैंडालार्इ चितवन ल्याइयो
चितवनः रौतहटमा सिकारीको गोली लागेर घाइते भएको गैैंडाको उद्धार गरी चितवन ल्याइएको छ।
चन्द्रपुर नगरपालिका–२, गैडाटार नजिकै जंगलमा गोली घाइते अवस्थामा शनिवार बिहान फेला परेको भाले गैंडाको उद्धार गरी चितवनको जनकौली सामुदायिक वनमा ल्याइएको हो।
खाग तस्करी गर्नका लागि सिकारीले गोली हानेर घाइते बनाएको गंैडालाई गैडाटार नजिकै चाँदी नदी किनारमा स्थानीयले भेटाएपछि प्रहरीलाई खबर गरेका थिए। गैंडाको टाउको, खुट्टा र पछाडिको भागमा गोली लागेको छ। गैंडाको स्वास्थ्य अवस्था निकै नाजुक रहेको छ।
घाइते गैंडालाई चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत चन्द्रशेखर चौधरी, प्रकृति संरक्षण कोषका सूचना अधिकारी रामुकमार अर्याल, पशु स्वास्थ्यकर्मी पुरुषोत्तम पाण्डे, नेपाली सेनासहित खटिएको टोलीले उद्धार गरी आइतबार बिहान चितवन ल्याएको थियो।