रियो ओलम्पिकमा अमेरिकाद्वारा शीर्ष स्थान कब्जा
रियो दी जेनेरियोः विश्वको शक्तिशाली राष्ट्र अमेरिकाले ब्राजिलमा भएको ओलम्पिकको ३१ औं संस्करणमा शीर्ष स्थान हासिल गरेको छ।
अन्तिम दिनको खेल जारी रहँदा शीर्ष स्थान कब्जा गरेको अमेरिका ४३ स्वर्ण, ३७ रजत र ३६ कास्य पदक गरी ११६ पदक जितेको छ।
यस्तै दोस्रो स्थानमा रहेको बेलायतले २७ स्वर्ण, २२ रजत र १७ कास्य पदक गरी ६६ पदक हात पारेको छ। चीन भने तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो। चीनले २६ स्वर्ण, १८ रजत र २६ कास्य गरी ७० पदकका साथ तेस्रो स्थानमा रह्यो।
यस्तै १७ स्वर्ण, १७ रजत र १९ कास्यसहित ५३ पदक जितेको रुस चौथो स्थानमा छ। यस्तै १७ स्वर्ण, १० रजत र १४ कास्य गरी कुल ४१ पदक जितेको जर्मनी भने पाँचौ स्थानमा रह्यो।
यस्तै १२ स्वर्ण, ८ रजत र २१ कास्य पदक गरी कुल ४१ पदक हात पारेको जापान छैठौ स्थानमा रहेको छ।
ओलम्पिकको ३०६ स्वर्णमध्ये अहिलेसम्म २९५ स्वर्णको टुंगो लागिसकेको छ। बाँकी ११ स्वर्णका लागि भने प्रतिस्पर्धा जारी छ।