लैंगिक विवादमा परेकी सेमेन्याले स्वर्ण जितिन्

लैंगिक विवादमा परेकी सेमेन्याले स्वर्ण जितिन्

रियो दी जेनेरियोः कुनै समय लैंगिक विवादका कारण निकै चर्चित बनेकी दक्षिण अफ्रिकाकी धाविका कास्टर सेमेन्याले रियो ओलम्पिकअन्तर्गत महिला आठ सय मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् । २५ वर्षीया सेमेन्याले निर्धारित दूरी एक मिनेट ५५.२८ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा बुरुन्डीकी फ्रानसिन नियोनसाबाले रजत र केन्याकी मार्गरेट न्याइरेराले कांस्य पदक हात पारे ।

विश्व च्याम्पियनसिपका क्रममा प्रतिद्वन्द्वी खेलाडीले सेमेन्या महिला नभई पुरुष भएको आशंका व्यक्त गरेपछि उनको लैंगिक परीक्षण गरिएको थियो । लैंगिक परीक्षणमा सेमेन्या महिला नै भएको तर, उनमा पुरुषमा पाइने हार्मोन पनि रहेको पुष्टि भएपछि यी दक्षिण अफ्रिकी धाविका अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएकी थिइन् । उनले सन् २०१२ मा आयोजित लन्डन ओलम्पिकमा आठ सय मिटर दौडमा रजत हात पारेकी थिइन् । त्यतिबेला रुसी खेलाडी मारिया साभिनोभाले स्वर्ण हात जितेकी थिइन् ।

लन्डन ओलम्पिकपछि डोपिङ विवादमा परेकी साभिनोभा अहिले प्रतिबन्धित अवस्थामा छिन् । ‘हरेक खेलाडीको सपना पदक जित्नुहुन्छ, विशेषगरी ओलम्पिक खेलकुदमा’, स्वर्ण जितेपछि सेमेन्याले भनेकी छिन् । सेमेन्या विश्व कीर्तिमानी जर्मिला क्राटोचभिलोभाको कीर्तिमान तोड्नबाट केवल दुई सेकेन्डले पछाडि परिन् । चेकोस्लोभाकियाकी क्राटोचभिलोभाले सन् १९८३ मा बनाएको एक मिनेट ५३.२८ सेकेन्ड समयको कीर्तिमान हालसम्म कसैले तोड्न सकेको छैन ।

सन् २००९ मा भएको विश्व च्याम्पियनसिपमा सेमेन्याले उत्कृष्ट प्रदर्शन गर्दै आठ सय मिटर दौडमा पहिलो स्थान हात पारेपछि उनलाई महिला खेलाडीका रूपमा सहभागी हुन दिने कि नदिने भन्ने विवाद लामो समय चलेको थियो । परीक्षणका कारण उनले करिब ११ महिनासम्म कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन पाएकी थिइनन् ।

सन् २०१० मा सेमेन्यालाई महिला खेलाडीकै रूपमा प्रतिस्पर्धा गर्न सफाइ दिइएको थियो । सन् २०११ मा यदि कुनै महिला खेलाडीको प्राकृतिक अवस्था सामान्यभन्दा निकै फरक भएमा उनीहरूले औषधि सेवन गर्नुपर्ने नियम बनाइए पनि त्यसलाई सन् २०१३ मा हटाइएको थियो । ‘यो हाम्रो नियन्त्रणभन्दा बाहिरको विषय हो’ सेमेन्या भन्छिन् । सेमेन्याले सन् २०११ मा आयोजित विश्व च्याम्पियनसिपमा दोस्रो स्थान हात पारेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.