ट्यांकी सफाइ प्रक्रियामा जाँदा पेट्रोल अभाव
काठमाडौं: रक्सौलस्थित इन्डियन आयल निगम (आईओसी)को डिपोको ट्यांकी सफा गर्न सुरु भएकाले त्यसको प्रत्यक्ष प्रभाव उपत्यकामा परेको छ । ट्यांकी सफाइका कारण मागअनुसार इन्धन आपूर्ति नहुँदा गत बिहीबारदेखि उपत्यकामा पेट्रोलको चर्को अभाव देखिएको छ ।
ट्यांकीमा लेदो जमेकाले नियमित प्रक्रियाअनुसार सफाइ सुरु भएकाले हो । यसैगरी गत बिहीबार जनै पूर्णिमाको सार्वजनिक बिदा भएकाले त्यस दिन आईओसीले पनि इन्धनको लोड नदिँदा त्यसको प्रभाव पनि बजारमा परेको हो ।
नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार १५ दिन अघिदेखि रक्सौल डिपोको ट्यांकी सफा गर्ने काम काम सुरु भएको हो । पूर्णरूपमा ट्यांकी सफा गर्न अझै १५ दिन लाग्छ । आईओसीले प्रत्येक पाँच-पाँच वर्षमा ट्यांकी सफा गर्दैआएको छ ।
उपत्यकामा कुल खपत हुने इन्धनमध्ये रक्सौलबाट ८० प्रतिशत आयात हुन्छ । ट्यांकी सफाइ प्रक्रियामा गएपछि त्यहाँबाट हाल दैनिक दुई सय केएल (दुई लाख लिटर) मात्रै पेट्रोल आपूर्ति भइरहेको छ । यसअघि सामान्य दिनमा रक्सौल डिपोबाट दैनिक साढे चार सय केएल (चार लाख ५० हजार लिटर) देखि पाँच सय केएल (पाँच लाख लिटर) आयात हुन्थ्यो ।
रक्सौल डिपोको कुल क्षमता दुई हजार दुई सय ५० केएल (२२ लाख ५० हजार लिटर) हो । अहिले १५ लाख लिटर क्षमताको ट्यांकी सफाइ प्रक्रियामा गएको छ । 'उनीहरूले आफ्नो ट्यांकी सफाइ प्रक्रियामा लगेका कारण त्यसको प्रत्यक्ष प्रभाव उपत्यकामा देखिएको हो', नायव कार्यकारी निर्देशक साहले भने, 'मागअनुसार आपूर्ति नभएको र बिहीबार सार्वजनिक बिदा परेर लोड नदिएकाले त्यस दिन इन्धन वितरण नहुँदा उपत्यकाका पम्पमा ठूलो लाइन देखिएको हो । तर, मंगलबारदेखि उपभोक्ताले सहजरूपमा पेट्रोल लिन पाउनेछन् ।'
निगमका अनुसार रक्सौलबाट मागअनुसार इन्धन आपूर्ति नहुँदा असहज बनेको बजारलाई सहज बनाउन रक्सौलको विकल्पमा आईओसीको गोन्डाबाट नेपालगञ्ज, बेतालपुरबाट भैरहवा, बरौनीबाट विराटनगर हुँदै विराटनगर, बरौनीबाट रक्सौल हुँदै वीरगञ्ज नाका प्रयोग गरी मागअनुसार पेट्रोल भित्र्याउने प्रक्रिया सुरु गरिएको छ ।
'रक्सौलको डिपोको विकल्पमा गोन्डा, बेतालपुर र बरौनी डिपोबाट मागभन्दा पनि केही बढी परिमाणमा पेट्रोल ल्याउन सुरु गरेका छौं', साहले भने, 'आइतबार र सोमबार वैकल्पिक स्थानबाट आयात हुने पेट्रोलको परिमाणले मंगलबारदेखि बजार पूर्णरूपमा सहज हुन्छ । हल्लाको भरमा पनि एकै पटक सबैले इन्धन लिन खोजेकाले केही असहज बनेको हो ।'
बिदाको दिन लोड नदिने आईओसीको नीति भएपनि आइतबार निगमले डिपो खोलाएर पनि वैकल्पिक स्थानबाट चार सय केएल(चार लाख लिटर) पेट्रोल आयात गरेको छ । रक्सौलको ट्यांकीको सफा गर्ने काम सम्पन्न भएपछि पुनः सोही स्थानबाट मागअनुसारको परिमाणमा पेट्रोल भित्र्याइनेछ ।
उनका अनुसार आइतबार मात्रै ६ सय ८५ केएल (६ लाख ८५ हजार लिटर) पेट्रोल भित्र्याएर वितरण गरिएको छ । यसैगरी गत शुक्रबार पाँच सय ९७ केएल (पाँच लाख ९७ हजार लिटर) पेट्रोल निगमले वितरण गरेको थियो । उपत्यकामा सामान्य दिनमा साढे तीन लाखदेखि चार लाख लिटरको हाराहारीमा पेट्रोल खपत हुन्छ ।
कृत्रिम अभाव
वीरगन्जको तेजारथ टोलका सुरज थापाले पेट्रोल नपाएपछि पाँच दिनदेखि मोटरसाइकल घरमै राखेका छन् । 'पाँच दिन भयो कुनै पनि पम्पमा पेट्रोल पाइएको छैन त्यसैले मोटरसाइकल घरमै थन्क्याको छु', उनले भने,' पहिले पम्पमा तेल नपाउँदा मिनरल वाटरको बोत्तलमा पनि पाइन्न्थ्यो' तर अहिले त्यो पनि छैन ।'
वीरगन्जको बजारमा विगत पाँच दिनदेखि पेट्रोलको कृत्रिम अभाव भएको छ । वीरगन्जमा रहेका अधिकांश पम्पमा पेट्रोल छैन भन्ने सूचना लेखिएका बोर्ड झुण्ड्याइएको छ । वीरगन्जको छपकैयामा रहेको दुर्गा आयल, बाइपास सडकमा रहेको पशुपति आयल, शुभलाभ आयल सेन्टर, श्रीपुरमा रहेको कमल विनायक फ्युल सेन्टर, पावर हाउस चोकको केडिया अटो इन्टर प्राइजेज, मनोज अटो केयर र गण्डक चोकको अटो केयरलगायतका पेट्रोल पम्पले गत बुधबारदेखि नै पेट्रोलको बिक्री ठप्प पारेका हुन् ।
भारतबाट वीरगन्ज नाका हुँदै पर्याप्त परिमाणमा पेट्रोल आयात भइरहेको छ । यस्तै वीरगन्जमा रहेको नेपाल आयल निगमको क्षेत्रीय कार्यालयले पनि यहाँका पेट्रोल पम्पलाई बजारको मागभन्दा बढी परिमाणमा पेट्रोल वितरण गर्दै आएको छ । भारतबाट वीरगन्ज नाका हुँदै गत बुधबारदेखि शनिबारसम्म चार दिनको अवधिमा ६१ लाख ६७ हजार लिटर पेट्रोल भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
भदौ १ गते बुधबार ८३ लाख ८७ हजार, २ गते ६ लाख चार हजार ,३ गते सात लाख चार हजार र ४ गते शनिबार चार लाख ७२ हजार लिटर पेट्रोल भारतबाट वीरगन्ज नाका हुँदै भित्रिएको भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए । 'वीरगन्ज नाकाबाट साविकको परिमाणमा पेट्रोल, डिजेल र ग्यास आयात भइरहेको छ', उनले भने ।
यस्तै चार दिनको अवधिमा वीरगन्ज र आसपासमा रहेका पेट्रोल पम्पलाई वीरगन्जमा रहेको नेपाल आयल निगमको क्षेत्रीय कार्यालयले एक लाख २० हजार लिटर पेट्रोल वितरण गरेको छ । वीरगन्ज र आसपासको बजारमा दैनिक २४ देखि ३६ हजार लिटर पेट्रोल माग भए पनि आयल निगमले दैनिक ६० हजार लिटर पेट्रोल वितरण गर्दै आएको नेपाल आयल निगमको क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख अभिषेक ठाकुरले बताए ।
पेट्रोल पम्पका सञ्चालकले भने आयल निगमले मागे जति पेट्रोल नदिएकाले अभाव भएको बताएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बजारमा देखिएको पेट्रोल अभावबारे बजार अनुगमन गरिने बताए ।