वीरगन्जको उद्योगव्यवसाय चाैपट
वीरगन्जः मधेस आन्दोलनको केन्द्र बनेको वीरगन्जको उद्योगव्यवसाय अझै चौपट छ । झण्डै ६ महिनासम्म आन्दोलन चलेका बेला भैरहवा, विराटरनगर, नेपालगन्ज र काँकडभिट्टा नाका सुचारु रहे । तर, वीरगन्ज नाका भने एक सय ३४ दिन ठप्प रह्यो । यसको असर अहिलेसम्म कायमै छ । नाका सुचारु भएको सात महिना बितिसक्दा पनि वीरगन्जको उद्योग व्यापार पूर्ववत् अवस्थामा फर्किन सकेको छैन ।
आन्दोलन र नाकाबन्दीकै असरले मुलुककै सबैभन्दा ठूलो औद्योगिक कोरिडोर वीरगन्जका उद्योग कलकारखाना पनि सजहरूपमा चल्न सकेका छैनन् । कच्चा पदार्थ जगेडामा राखेका केही उद्योग आंशिकरूपमा चले पनि अधिकांश उद्योगको उत्पादन आन्दोलन अवधिभर नै ठप्प रहयो । भारत र तेस्रो मुलुकका सामान आयात हुने सिर्सिया सुक्खा बन्दरगाह पनि ४० दिन पूर्णरूपमा अवरुद्ध बन्यो ।
आन्दोलन र नाकाबन्दीको मारमा यहाँका ठूला उद्योगी व्यापारी मात्र नभइ स-साना व्यापार व्यवसाय गर्ने पनि निकै नोक्सानीमा परे । मधेस आन्दोलनकै कारण वीरगन्जको औद्योगिक र व्यापारिक प्रतिष्ठानले ३० देखि ३५ अर्ब रुपैयाँको आर्थिक नोक्सानी व्यवहोरेको थियो ।
२०७२ सालको साउन ३० देखि आन्दोलन थालेका मधेसी दलले असोज ७ गतेदेखि दशगजा क्षेत्रमा धर्ना दिएर वीरगन्ज नाका ठप्प पारेका थिए । माघ २२ गते मधेसी दलको धर्ना सकिएपछि नाका सुचारु भएको थियो । मधेसी दलको आन्दोलन सकिएको नभइ अहिले राजधानी केन्द्रित छ ।
मधेसी दलका नेताले अहिले पनि आफ्ना भाषणमा माग सम्बोधन नभए फेरि मधेसमै आन्दोलन चर्काउने चेतावनी पनि दिँदै आएका छन् । यसका कारण यहाँका उद्योगी व्यापारी अझै पनि आन्दोलनकै त्रासमा छन् ।
‘बन्द, हडताल र नाकबन्दी खुलेको सात महिना बितिसक्दा पनि व्यापार व्यवसाय अझै सहज हुन सकेको छैन’, वीरगन्जको आदर्शनगरमा रहेको जनर स्टोर्सका सञ्चालक गोपाल केडियाले भने,‘ मधेस आन्दोलनले व्यापारीमाथि अझ धेरै ऋण थोपरिदिएको छ ।’
मधेस आन्दोलन ताका पसल बन्द हुँदा चुक्ता गर्न नसकिएको बैंकको ब्याज तिर्न व्यापारी थप ऋण लिन बाध्य भएको उनले बताए । ‘आन्दोलनपछिका दिनमा सीमापारीबाट भारतीय ग्राहक आउनै छाडेका छन्’ ,उनले थपे ,‘सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले आन्दोलनपछि अनावश्यक चेकजाँच गर्दै आएका कारण भारतीय ग्राहक अब वीरगन्ज आउन चाहँदैनन् ।’
मधेस आन्दोलन र नाकाबन्दीका कारण वीरगन्ज कोरिडोरमा रहेका उद्योगको सञ्चालन प्रणालीको निरन्तरता नै भंग भएकाले पहिलो जस्ता सहज अवस्थामा फर्काउन नसकिएको उद्योगीको भनाइ छ ।
नाका खुले पनि उद्योग कलकारखाना पहिला जस्तो पूर्णक्षमतामा सञ्चालनमा आउन नसकेको उद्योगी विजय सरावगीले बताए । ‘आन्दोलन ताका उद्योग बन्द हुँदा घर गएका अधिकांश दक्ष भारतीय जनशक्ति फर्किएर आएनन’,सरावगीले भने, ‘नयाँ जनशक्ति खोजेर काममा लगाउँदा उनीहरूलाई दक्ष बनाउन समय लाग्छ ।’
चाहिने जति औद्योगिक कच्चा पदार्थ पनि सञ्चय गरेर राख्न नसकिएको उनले बताए । आन्दोलन र नाकाबन्दीमा उद्योगी व्यापारीले व्यहोरेको आर्थिक घाटाका सम्बन्धमा राज्यले राहत दिने घोषणा गरेको भए पनि अहिलेसम्म पाउन नसकेको उनीहरूको दुखेसो छ ।
‘नाकाबन्दीका बेला विस्थापित भएका कारोबारी अहिले पनि वीरगन्ज नाकामा फर्किएका छैनन्’, उनले भने,‘त्यसकै कारण भैरहवा नाका मुलुककै दोस्रो नाकाका रूपमा स्थापित हुँदै गएको छ ।’
वीरगन्जको उद्योग व्यापार अहिले पनि पुरानै अवस्थामा फर्किन नसकेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाको निष्कर्ष छ । तर उनले वीरगन्ज उद्योग व्यापार बाहिर हल्लामा आएको जस्तो धराशायी भने नभएको बताए । अध्यक्ष केडियाले यहाँको उद्योग व्यापार बिस्तारै पुरानो लयमा फर्किन लागेको जिकिर गरे पनि वीरगन्जका पनामका औद्योगिक घरानाले आफ्नो उद्योग व्यापार विस्तारका लागि अन्य नाका रोज्न थालिसकेका छन् ।
अहिले वीरगन्ज र आसपास क्षेत्रमा उद्योग सञ्चालन गरिरहेका औद्योगिक घरानाको पहिलो रोजाइ भैरहवा बन्दै गएको छ । भैरहवा, विराटनगर, लहान, इटहरीलगायतका सहरमा पनि उनीहरूले उद्योगका लागि जग्गा खरिद गरिसकेको स्रोतले जनाएको छ ।
यहाँका नाम चलेका हरेक औद्योगिक घरानाले भैरहवा, विराटनगर, नेपालगन्ज, लहान र इटहरीमा धेरथोर जग्गा किनिसकेका छन् । इन्फोवीरगन्जको पनामका औद्योगिक घरानाले आफ्नो उद्योगव्यापार विस्तारका लागि अन्य नाका रोज्न थालिसकेका छन् ।