ओलम्पियन हमालको बायोग्राफी
नेपालगन्जः भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी ओलम्पियन सुरेन्द्र हमाल यतिबेला आत्मकथा (बायोग्राफी) प्रकाशनको तयारीमा व्यस्त छन् ।
आइतबार नेपालगन्जको घरबारीटोलस्थित निवासमा भएको अनौपचारिक भेटघाटमा ओलम्पियन हमालले पत्रकारलाई छिट्टै आफ्नो आत्मकथा आउन लागेको जानकारी दिए । नेपाली भारोत्तोलनका सफल खेलाडी हमालको आत्मकथा भदौ तेस्रो साता ‘बजारमा आउने तयारीका साथ काम भइरहेको उनले बताए ।
आत्मकथा लेखन, सम्पादन र प्रकाशनको सम्पूर्ण जिम्मेवारी क्रिएटिभ बुक्सले लिएको छ । दुई वर्षअघि क्यान्सरबाट पीडित भई उपचारपछि निको भएका हमालले त्यतिबेलादेखि नै आफ्नो जीवनको समीक्षा गर्न थालेको जानकारी दिए ।
‘जब म मृत्युसँग लडिरहेको थिएँ, मेरा मनमा अनेक कुराहरू खेले, त्यतिबेलादेखि नै जीवनका बारेमा समीक्षा गर्न थालेँ’, उनले भने, ‘फलस्वरूप पुस्तकको आकार तयार भयो ।’
राजधानी काठमाडौंदेखि टाढा एक सीमावर्ती सहरमा बसेर खेलकर्म गर्न कति मेहनत र परि श्रम गर्नुपर्यो भन्ने संघर्षका कथा पनि पुस्तकमा समावेश गरिएको उनले सुनाए । ‘सुविधासम्पन्न प्रशिक्षण केन्द्र थिएनन् ।
पहिलो राष्ट्रिय खेलकुदमा भाग लिन काठमाडौं जाँदा भारतीय बाटो हुँदै गएको र भोजनलगायत बन्दोबस्तीका सामान नेपालगन्जबाटै बोकेर लैजानु परेको थियो । नदी पार गर्दा चामलका बोरा हामी आफैं बोक्थ्यौं,’ उनले आफ्नो विगत सम्झिए ।
हमालले बाल्यकालदेखि आफ्नो खेल जीवनको बारेमा आत्मकथामा उल्लेख गरेका छन् । केटाकेटीमा कपडा बेरेर बनाएको बल खेलेर खेलजीवन सुरु गरेका हमालले आफ्नो टोलमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माएका छन् ।
घरबारीटोलमा पावर्ती थापा, अनिता श्रेष्ठ र हमाल गरी तीनजना ओलम्पियन खेलाडी छन् । क्यान्सरजस्तो रोगलाई जितेर नयाँ जीवन पाएका हमालले खेलाडीको मनोबल बढाउन र प्रेरणा प्रदान गर्न आत्मकथा प्रकाशन गर्ने लागेको बताए । उनी हाल राष्ट्रिय खेलकुद परिषद्मा कोषाध्यक्षको जिम्मेवारीमा छन् ।