किन भयो डलरको हाहाकार ?

किन भयो डलरको हाहाकार ?

काठमाडौंः बुढानिलकण्ठकी उशा खड्काले डलर साट्न सोमबार दिनभरि बैंक चाहारिन् । तर, उनले आफूले चाहेको जति डलर पाउन सकिनन् ।

भिसा लागेको पासपोर्ट बोकेर एकैदिन चारवटा बैंक भौतारिएकी उनी दिउँसो तीन बजे रित्तै हात घर फर्किनु पर्‍यो । डलर नभएको भन्दै बैंकले दिन मानेनन् । धेरै अनुरोध गरेपछि दुई सय डलरसम्म दिइने आश्वासन उनले पाएकी छन् ।

चाहे जति डलर साट्न नपाएपछि उनलाई डलरको जोहो गर्ने चिन्ताले सताएको छ । खड्काले कार्ड बोकेर गए पनि साथमा कम्तीमा हजार डलरसम्म नगद हुँदा ढुक्क हुने बताइन् ।

प्युठानका पदम पोखरेलको डेनमार्कको भिसा लागेको एक महिना भयो । इन्जिनियरिङ पढ्न डेनमार्क उड्न ठिक्क परेका उनले डलरको खोजीमा तीन दिनदेखि राजधानीका बैंक चाहारे । उनले पनि डलरको जोहो गर्न सकेनन् । अर्को सातासम्म आफन्तले डलर उपलब्ध गराइ दिने आश्वासन उनले पाएका छन् ।

नेपालमा डलर साट्न नपाएपछि पकेट मनिबाहेकको खर्च भिसा तथा मास्टर कार्ड प्रयोगबाट गर्ने निधोमा उनी पुगेका छन् । खड्का र पोखरेल त प्रतिनिधिपात्र मात्र हुन् । बजारमा डलर नपाएर भौंतारिनु । डलरको खोजीमा बैंक चाहार्नु विदेशिन लागेका पहुँच नहुनेको दिनचर्यानै बनेको छ हिजोआज ।

बजारमा डलरको अभाव भएसँगै यसको खोजीमा दौडधुप गर्नेको संख्या दिनप्रतिदिन बढ्दैछ । आइतबारको तुलनामा डलर खोज्न आउनेको संख्या सोमबार वृद्धि भएको बैंकरले बताएका छन् । उनीहरूले आम उपभोक्तालाई विश्वका कुनै पनि कुनामा कारोबार गर्न नगदको आवश्यता नपर्ने भएकाले कार्ड प्रयोग गर्न सुझाव पनि दिएका छन् । ‘अब नगदभन्दा कार्डको प्रयोगमा लाग्नुपर्छ,’ सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले भने, ‘नेपालमा डलर चल्ने होइन, विदेशमा पानी पिउन पनि कार्डको प्रयोग गर्न सकिन्छ ।’

आम उपभोक्ताको नगदै बोक्ने बानीका कारण डलरको अभाव भएको उनले बताए । ‘प्रायः पर्यटकले कार्ड प्रयोग गर्छन्, नेपाली भने विदेश जाँदा नगद लैजान खोज्छन्, अनि कसरी डलरले बजार मागलाई धान्न सक्छ’, उनले प्रतिप्रश्न गरे । कार्डबाट भुक्तान गर्दा नगद नआउने हुँदा बजारमा डलरको अभाव भएको उनले बताए । अहिले बजारमा ३० देखि ४० प्रतिशतसम्म डलर कम छ । मुद्रा सटही र होटेल व्यवसायीका अनुसार नेपाली बजारमा वार्षिक करोडांै डलरको कारोबार हुन्छ ।

राष्ट्रबैंक विदेशी विनिमय विभागका निर्देशक वासुदेव अधिकारीका अनुसार डलर अभाव कृत्रिम हो, तैपनि भुक्तानीको तरिका परिवर्तन हुँदै जानु यसको अर्को कारण हो । ‘पछिल्लो समय पर्यटकको भुक्तान पद्धती फरक भएकोले डलरको अभाव भयो,’ राष्ट्र बैंकका निर्देशक वासुदेव अधिकारीले भने, ‘पर्यटकले होटेल, ट्राभल्स फेयर अनलाइन पद्धतीबाट बुकिङ गर्दा बजारमा डलरनै कम आएको हो ।’

बजारमा डलरको अभाव भएसँगै यसको खोजीमा दौडधुप गर्नेको संख्या दिनप्रतिदिन बढ्दैछ ।

जानकारका अनुसार डलर अभावको सम्बन्ध सुन तस्करीसँग छ । सुन आयात नभए पनि बजारमा सुन पर्याप्त हुने गरी तस्करी भइरहेको छ । बैंकले आयात गरेको ठूलो परिमाणमा सुन बिक्री भएको छैन । सुन तस्करी गर्न पठाउन तस्करले बजारबाट डलर खिच्ने भएकाले पनि डलर अभाव भएको छ । यस्तै बजार तात्ने दसैंको मौसमामा अरु सामान आयात गर्नपनि न्यून बिजकीकरण गर्ने आयातकर्ताले डलर खिच्छन् ।

बजारमा डलर पाइएन भनेर उपभोक्ताले भौतारिनुको सट्टा अब उपभोक्ताले पुरानो पद्धतीलाई छाडेर आधुनिक कार्ड प्रयोग गर्न तिर लाग्न उनको सुझाव छ । आधुनिक प्रविधिको प्रयोग गर्न बैंकले आम उपभोक्तालाई सिकाउनुपर्छ,’ उनले थपे ।

उपभोक्ताले पनि जोखिम लिएर यात्रा गर्नुभन्दा सहज र सरल यात्रा गर्नु बढी उपयोगी हुने उनको भनाइ छ । नगद बोकेर यात्रा गर्नुभन्दा जोखिममुक्त यात्रा गर्नु बढी फलदायी हुने उनको सुझाव छ । नेपालीले विदेश जाँदा स्वदेशमा भित्रिएको डलर बोकेर लैजानु पर्ने आवश्यकता नभएको उनले बताए । राष्ट्रबैंकले विदेशमा अध्ययन गर्न जानेका लागि दुई हजार पाँच सय डलरसम्म लैजान पाउने व्यवस्था गरेको छ । बजारमा डलरको अभाव भएपनि राष्ट्रबैकसँग भने दश अर्ब अमेरिकी डलर सञ्चिति छ ।

डलरको नगद कारोबारले कालो धनलाई सेतो बनाउन अर्थात आतंकवादलाई प्रोत्साहन गर्ने मद्दत पुग्ने राष्ट्रबैंकको विश्लेषण छ । पर्यटकले डलर साट्दा बिल लिने र व्यवसायीले पनि बिल दिने असर कारोबारको प्रयोग गरेमा बजारमा डलरको अभाव नहुने विश्लेषक बताउँछन् । बिल नलिने अभ्यासका कारण अनौपचारिक कारोबार मौलाउँदै गएको हो ।

यसलाई न्युनीकरण गर्न गृह प्रशासन वा नियामक निकाय शतर्क हुनुपर्ने अधिकारीले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.