ताइफूनका कारण सयौँ उडान अवरुद्ध
टोक्यो: जापानमा एघार बर्षपछि आएको एक शक्तिशाली सामुद्रिक आँधीको प्रहार राजधानी टोक्यो क्षेत्रमा सीधै परेकाले यहाँका दुवै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा पाँच सयभन्दा बढी आन्तरिक र बाह्य उडान अवरुद्ध भएका छन्।
राजधानी टोक्योबाट दक्षिणपूर्व ८० किलोमिटर टाढा तातेयामा नगरमा स्थानी समयानुसार मध्याह्न साढे १२ बजे ‘मिन्ड्युल’ नामक सो सामुद्रिक आँधी अकमास्त आएको जापानको मौसम तथा जलबायु विज्ञान विभागले जनाएको छ।
सुरुमा यस आँधीको बेग १४४ किलोमिटर प्रतिघण्टा मापन गरिएकोमा गति कम हुँदै गई साँझ ७ः०० बजेसम्ममा ३५ किलोमिटर प्रतिघण्टा मापन गरिएको थियो। आँधी उत्तरी टोक्योको फुकुसिमा जिल्ला पुगी त्यहाँबाट अझै उत्तरतर्फ अघि बढ्दै गइरहेको पनि जनाइएको छ।
जापानको लोकप्रिय टेलिभिजन प्रसारण संस्था एनएचकेका अनुसार यस आँधीका कारण ३० जना बालबालिका सामान्य घाइते भएका छन् भने हुरीले उडाएर लडाइदिएकाले ३४ वर्षीय एक जनाको करङ भाँचिएको छ।
आँधीपश्चात् परेको भारी वर्षात्का कारण टोक्योक्षेत्रका सबै नदीमा बाढी आएता पनि पानीको सतह खतराको चिन्हभन्दा माथि उक्लेको छैन।आँधी र भारी वर्षात्का राजधानीका नारिता र हानेदा दुवै अन्तर्राष्ट्रिय विमानस्थल अस्थायीरुपमा बन्द गरिएका कारण आन्तरिक र बाह्य गरी ५०८ उडान रद्ध गरिएका र साना ठूला सबै बिमान भूमिस्थ गरिएका छन्।
टोक्योका कतिपय ठाउँमा रेल यातायत सेवा पनि अवरुद्ध भएका र होक्खाइदो जिल्लामा पनि कोम्पासु नामक सामुद्रिक आँधीले प्रभाव पारेको जनाइएको छ।