इन्जिनियरको चुनावमा तीन समूहबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी?
काठमाडाैं: नेपाल इन्जिनियर्स एसोसिएसनको ३१ औँ कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिङ परिषद्को सदस्यको निर्वाचनका लागि विभिन्न समूहले उम्मेदवारी घोषणा गरेका छन्।
यही भदौ ३१ गते हुने प्रगतिशील तथा पेसागत इन्जिनियर्स समूह, लोकतान्त्रिक इन्जिनियर्स समूह र नेपाल राष्ट्रिय इन्जिनियर्स समूह आआफ्नो उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा उत्रिएका हुन्।
अध्यक्षमा प्रगतिशील समूहबाट डा सुमित्रा अमात्य, लोकतान्त्रिक समूहबाट हरेराम श्रेष्ठ र राष्ट्रिय समूहबाट डा जगतकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। प्रगतिशील समूहका उपाध्यक्षमा माधव कोइराला, महासचिवमा प्रदीप अधिकारी, उपमहासचिवमा खिमानन्द कँडेल र कोषाध्यक्षमा सञ्जीव रोकाहाको उम्मेदवारी घोषणा गरिएको छ।
यसैगरी लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा उमाशङ्कर साह, महासचिवमा उमेशप्रसाद थानी, उपमहासचिवमा रविभूषण झा र कोषाध्यक्षमा सुसन वैद्य उम्मेदवार रहेका छन्। यस्तै राष्ट्रिय समूहबाट उपाध्यक्षका उम्मेदवारमा कृष्णभद्र अर्याल, महासचिवमा तारानाथ सापकोटा, उपमहासचिवमा गोकुल पौडेल र कोषाध्यक्षमा रामएकवल यादव छन्।
विसं २०१९ मा स्थापित एसोसिएसनमा अहिले करिब १२ हजार इन्जिनियर छन्। काठमाडौँलगायत देशभरिका ११ प्रमुख सहरमा एकै दिन निर्वाचन हुनेछ। रासस