उच्चस्तरीय भ्रमणको आधार तयार भएको प्रधानमन्त्रीको विश्लेषण

उच्चस्तरीय भ्रमणको आधार तयार भएको प्रधानमन्त्रीको विश्लेषण

काठमाडौंः चिसिएको सम्बन्ध सुधार्न पठाइएका आफ्ना विशेष दूतको ‘ब्रिफिङ’ पछि प्रधानमन्त्री पुष्पकमल दाहालले भारत र चीनमा उच्चस्तरीय भ्रमणको आधार तयार भएको विश्लेषण गरेका छन् ।

विशेष दूतका रूपमा चीन गएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भारत गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो भ्रमणका क्रममा भएको छलफलको जानकारी गराएपछि प्रधानमन्त्री दाहालले त्यस्तो विश्लेषण गरेका हुन् ।

दाहालले नेपालको भारत र चीनसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्यालउन विशेष दूतहरूको भ्रमण ‘कामयाव’ भएको समीक्षा गरेका हुन् । ‘भारत र चीनमा उपप्रधानमन्त्री स्तरको कूटनीतिक भ्रमण गराउने हाम्रो निर्णय ठीक रहेको पुनर्पुष्टि भएको छ ।

मेरो भारत भ्रमण र भविष्यमा हुने अरू उच्चस्तरीय भ्रमणको आधार तयार भएको छ । नेपालका छिमेकी भारत र चीनसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्यााउन दुवै भ्रमण कामयाव भएको छ’, प्रधानमन्त्री दाहालले भ्रमणको समीक्षा गर्ने क्रममा मन्त्रिपरिषद् बैठकमा व्यक्त गरेको अभिव्यक्ति उद्धृत गर्दै एक मन्त्रीले अन्नपूर्णसँग भने ।

दुई साताअघि मन्त्रिपरिषद्ले महरालाई चीन र निधिलाई भारतमा प्रधानमन्त्रीको विशेष दूतका रूपमा पठाउने निर्णय गरेको थियो । ती मन्त्रीका अनुसार उपप्रधानमन्त्री निधिले प्रधानमन्त्री दाहाललाई भदौ ३० गते नयाँदिल्ली जाने गरी भ्रमणतालिका बनाउन भारतीय अधिकारीले पठाएको सन्देश मन्त्रिपरिषद्मा जानकारी गराएका थिए ।

‘सोचेभन्दा बढी सम्मान भयो । हाम्रो प्रधानमन्त्रीको भ्रमणको प्रस्तावित मिति लिएर आइएको छ । त्यो मितिमा भएमा उहाँहरू (भारतीय अधिकारी) ले सजिलो हुन्छ भन्नुभएको छ । हामीले निर्णय गरेपछि मात्रै भ्रमणको मिति तय हुने हो’, मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री निधिले भारत भ्रमणका बारेमा जानकारी गराउँदै भनेका थिए । पाँचदिने भारत भ्रमण पूरा गरी निधि मंगलबार मात्रै स्वदेश फर्किएका हुन् ।

मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री महराले चिनियाँहरूले व्यक्त गरेको आशंकालाई आफूले मेटाएको दाबी गरेका छन् । ‘राम्रो ढंगले काम गर्न शुभकामना दिएका छन् । भ्रमण आदानप्रदान गर्ने भनिएको छ । अघिल्लो सरकारले गरेका निर्णयहरू कार्यान्वयन हुन्छन् कि हुँदैनन् भनेर चिनियाँहरूले प्रश्न उठाए । अघिल्लो सरकारले गरेका निर्णयका बारेमा चिनियाँहरूको बढी जिज्ञासा थियो ।

ती विषयहरूलाई हामीले रेस्पोन्स गरेपछि उनीहरू खुसी भएका छन्’, महराको भनाइ उद्धृत गर्दै अर्का एक मन्त्रीले भने । महरा पाँचदिने चीन भ्रमण पूरा गरी शनिबार काठमाडौं फर्किएका हुन् । जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीका अनुसार भारत र चीनसँगको सम्बन्ध सुदृढ, विकसित र सन्तुलित ढंगबाट अगाडि बढ्नका निम्ति विशेषदूतको भ्रमण सौहार्दपूर्ण र सम्मानजनक भएको समीक्षा गरिएको छ । मन्त्री जोशीले अन्नपूर्णसँग भने, ‘ती मुलुकसँगको सम्बन्ध अझै उचाइमा जान्छ भन्नेमा हामी आशावादी भएका छौं ।

भदौ ३० गतेभित्रै प्रधानमन्त्रीको भारत भ्रमण हुने, त्यसलगत्तै भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण हुने कुरा छ । चीनले पनि नयाँ सरकार र अघिल्लो सरकारसँग भएका सम्झौताहरूका बारेमा चासो व्यक्त गरेको छ । चीनका राष्ट्रपति सी जिनपिङले पनि नेपाल भ्रमण गर्नुहुन्छ ।’ सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले भारत र चीन दुवै मुलुकले नयाँ सरकारको प्राथमिकताका बारेमा चासो व्यक्त गरेको बताए ।

‘उत्तर र दक्षिणका छिमेकी मुलुकमा दुईजना विशेष दूत पठाइएको थियो । उहाँहरूले त्यहाँ भएका छलफलको संक्षिप्त ब्रिफिङ गर्नुभयो । उत्तर तथा दक्षिण दुवै छिमेकी परिवर्तित सरकार र नयाँ सरकारका प्राथमिकतामा सकारात्मक चासो राखेको रिपोर्ट गर्नुभयो । चीन र भारत दुवै मुलुकका राजनीतिक नेतृत्व, नागरिक समाज र राजनीतिक पार्टीहरूले नेपालको संक्रमणकालमा सदासयता देखाएको दुवै उपप्रधानमन्त्रीले रिपोर्ट गर्नुभयो’, उनले भने ।

मन्त्रिपरिषद्ले राष्ट्रिय विपद् प्रतिकार्यको कार्यढाँचासम्बन्धी विधेयकलाई मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने निर्णय गरेको छ । तर मन्त्रिपरिषद्ले पूर्णता नपाएका कारण समितिहरू गठन भएका छैनन् । प्रधानमन्त्रीको निर्देशनमा र आपूर्ति मन्त्रालयको अगुवाइमा गरिएको संयुक्त बजार अनुगमनबाट केहीलाई कारबाहीको दायरामा ल्याइएको मन्त्री कार्कीले बताए ।
कार्कीका अनुसार औषधि व्यवस्था विभागबाट नौ, स्वास्थ्य सेवा विभागका ११, खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागबाट ३२, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र स्थानीय प्रशासनबाट ३८ जनालाई कारबाहीका लागि सिफारिस गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.