अमेरिकामा वाइवाइ उद्योग र सिलिकन भ्यालीमा भेन्चर क्यापिटल
काठमाडौं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले अमेरिकामा वाइवाइ चाउचाउ उद्योग र सिलिकन भ्यालीमा भेञ्चर क्यापिटलमार्फत पहिलो नेपाली उद्योग स्थापना गर्ने लक्ष्य रहेको बताएका छन् ।
उनले अमेरिकामा रहेका नेपालीसँग शनिबार अमेरिकी सहर ड्यालस र आइतबार लस एन्जेल्समा भएको छलफल कार्यक्रममा यस्तो विचार व्यक्त गरेका हुन् । उनले त्यहाँ नेपाली व्यवसाय विस्तारको आफ्नो योजना सुनाउँदै यस्तो कुरा बताएका हुन् । ‘म सानैदेखि सपना देख्ने मान्छे, त्यो पनि राति होइन दिनमा । मेरो सपना थियो नेपालको पहिलो बहुराष्ट्रिय कम्पनी खोल्ने', चौधरीले भनेका छन्, ‘त्यही सपनालाई पछ््याउँदै यहाँसम्म आइपुगेको छु ।'
गैरआवासीय नेपाली संघ अमेरिकाको समन्वय समितिका स्थानीय च्याप्टरमार्फत अमेरिकाका विभिन्न स्थानमा नेपाली समुदायसँग व्यावसायिक सफलता विषयमा छलफल गर्ने क्रममा अमेरिका पुगेका चौधरीले आफ्नो ग्रुपको लगानी विस्तारका सम्बन्धमा सिलिकन भ्यालीमा भेन्चर क्यापिटलमार्फत उदयमान र नयाँ सोचका नेपाली युवालाई प्रोत्साहित गरी कम्पनी खोल्न प्रेरित समेत गरेका छन् ।
‘तपाईंसँग विश्वलाई बदल्न सक्ने क्षमता छ,' चौधरीले भने, ‘तपाईंहरू सिलिकन भ्यालीमा जम्ने र नेपाली पौरख स्थापित गर्ने स्तरको योजना लिएर आउनुहोस्, म तपाईंलाई साथ दिन तयार छु ।' उनले नेपाल धनी नभएसम्म तपाईं हामी कसैको स्वाभिमान उँभो नलाग्ने भन्दै पहिले नेपाल बन्नुपर्ने उल्लेख गरेको छन् । त्यसका लागि सबैले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नु जरुरी छ ।
उनले अरुलाई फलो गरेर धेरै अघि जान नसकिने भन्दै अघि बढ्ने हो भने अरुलाई उछिन्नैपर्ने बताएका छन् । राष्ट्रिय अर्थतन्त्र र निजीक्षेत्र दुवैको विकासमा उदार अर्थव्यवस्थाको महत्व रहेको उल्लेख गर्दै उनले सन् १९९० पछि चौधरी ग्रुपले विदेशमा लगानी नगरेको भए अहिले पहिलो नेपाली अर्बपतिको सूचीमा आफू नपर्ने समेत बताएका छन् । हाल नेपालका छवटा र भारतका आठवटा प्लान्ट (उद्योग)मा वाइवाइको उत्पादन भैरहेको छ ।
चौधरी गु्रपले न्युयोर्कको जोन एफ केनेडी विमानस्थालमा रहेको र्याडिसन होटेलमा समेत लगानी गरेको छ । र त्यसको पुनरसंरचना गर्ने योजना समेत रहेको उनले कार्यक्रममा उल्लेख गरेका छन् ।