माओवादीका पूर्वसभासद् पटेल पशुपालन व्यवसायमा
चन्द्रपुरः पहिलो संविधानसभाका सभासद् देवेन्द्र पटेल पशुपालन व्यवसायमा लागेका छन् । रौतहटको ६ नम्बर क्षेत्रबाट पहिलो संविधान सभामा निर्वाचित सभासद् पटेल अहिले पशुपालन व्यवसायमा सक्रिय छन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका पटेलले विश्रामपुर गाविस ८ बलेरी गाउँमा पशुफर्म स्थापन गरी व्यवसायिकरुपमा पाडा र बाख्रा पालन गर्दै आएका छन् ।
उन्को फर्ममा ५४ वटा पाडा र र एकसय भन्दा बढी खसीबाख्रा रहेका छन् । धनुषाको महेन्द्रनगर, जिल्ला कै गरुडा बजार, सर्लाहीको बरहथवा बजार बाट पाडाहरु खरीद गरी पालन गर्दै आएका छन् ।
पार्टीको काम सँगै केही उत्पादनमुखी काम गर्ने समेत मनसायले पशु पालन शुरु गरेको पटेलले बताए । पाडाको मासुको बजारमा माग बढेको देखेर उनले पाडा पालन गरेका हुन । आउदो दशैँमा बिक्री गर्ने उदेश्यले पाडा पालन गरेको र व्यापारीले पाडा लैजानका लागि सक्रिय छन् ।
सात हजारमा खरिद गरेको पाडा एक बर्ष पाल्दा ३० हजारसम्ममा बिक्री हुने गरेको छ । दशैँ कुर्वानी तथा होलीपर्वलाई लक्षित गरी माओवादी केन्द्रका नेता पटेलले पाडा, खसीबोका पालन गरेका छन् ।
दुइ बर्ष अघिदेखि बाख्रा पालन गरेको पटेलको फर्ममा स्थानीय जात र जमुनापारी जातका खसीबोका रहेका छन् । महिनामा १० देखि १५ वटा खसीबोका बिक्री हुने गरेको छ ।
बैंक बाट ४० लाख ऋण लिएर उनले पशु पालन शुरु गरेका हुन् । पशु बीमा गरेकाले लगानी जोखिम नरहेको उनले बताए । उनको फर्ममा चार जनाले रोजगारी पाएका छन् । खसीबोका किन्नका लागि फर्ममा नै व्यापारी पुग्ने गरेका छन् ।
जिल्ला पशु सेवा कार्यालयबाट पाउने अनुदान तथा सेवा सुविधा नपाएकोले निजी भेटनरी बाट नै परामर्श र उपचार गराउनु पर्ने बाध्यता रहेको पटेलको गुनासो रहेको छ ।