'राजाकाे दु:खमा जनताको साथ'
काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले महेन्द्र मञ्जिलमा विद्युत जोडिदिएकोमा ऊर्जा मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
बुधबार वक्तव्य सार्वजनिक गर्दै ज्ञानेन्द्रले सरकारलाई धन्यवाद दिएका हुन् । ‘असावधानीवस भएको त्रुटि समयमै सच्याएर जन आवाजको कदर गरेकोमा हामी ऊर्जा मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।’
ज्ञानेन्द्रले पूर्वमुमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको निवास महेन्द्र मञ्जिलमा विद्युती आपूर्ति काटिदिएपछि जनताले दर्शााएको सहानुभूतिप्रति समेत आभार व्यक्त गरेका छन् ।
‘महेन्द्र मञ्जिलको विद्युत आपूर्ति काटिएकोमा जनताले दर्शाएको सहानूभुति, सामाजिक सञ्जाल एवम् सञ्चारमाध्यमबाट व्यक्त असहमति अविस्मरणीय रहेको हामीले ठानेका छौँ,’ ज्ञानेन्द्रले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, ‘नेपाली जनता र राजसंस्थाबीच सदैव रहिआएको सम्बन्ध यस प्रकरणबाट उजागर भएको हाम्रो ठम्याइ छ ।’
उनले यो सहानुभूतिले जनताको दुःखमा राजा र राजाको दुःखमा जनताको साथ रहने परम्परागत मूल्य देशमा जीवित रहेको उल्लेख गरेका छन् ।
‘जनताको दुःखमा राजा र राजाको दुःखमा जनताको साथ रहने परम्परागत मूल्य र मान्यता देशमा जीवित रहेको सन्दर्भका रुपमा पनि हामीले यसलाई लिएका छौँ,’ उनले भनेका छन्, ‘हामी बीचको सुसम्बन्ध भविष्यमा पनि स्थिर र थप मजबुत रहने विश्वास लिएका छौँ ।’