पैदलयात्रुलार्इ जेब्राक्रस नै 'जोखिमपूर्ण' !

पैदलयात्रुलार्इ जेब्राक्रस नै 'जोखिमपूर्ण' !

काठमाडौं: पैदलयात्रीका लागि बाटो काट्न सबैभन्दा सुरक्षित जेब्राक्रस मानिन्छ । महानगरीय ट्राफिक महाशाखाले एक महिनायता चलाएको चेतनामूलक अभियानका क्रममा भने पैदलयात्रुले बाटो काट्न सबैभन्दा जोखिमपूर्ण जेब्राक्रस नै भएको बताएका छन् ।

सडक अनुशासन नभएको नेपालजस्तो मुलुकमा सार्वजनिकदेखि निजी सवारीसाधनको लापरबाहीले जेब्राक्रसबाट बाटो काट्न अत्यन्त जोखिमपूर्ण रहेको पैदलयात्रुले बताएका हुन् । महाशाखाले साउन पाँच गतेदेखि भदौ सात गतेसम्म चलाएको उक्त अभियानमा राजधानीका एक लाख ६५ हजार चार सय पैदलयात्रुलाई ट्राफिक नियमबारे चेतना अभिवृद्धि गराइएको थियो । अभियानमा १४ विद्यालयका पाँच सय २८ स्वयंसेवक, चारवटा कलेजका ६८ विद्यार्थी, सुपरभाइजर २७ जना र चारजना फ्रान्सेली स्काउट स्वयंसेवक राजधानीका १६ स्थानमा परिचालित थिए ।

दैनिक औसतमा १८ हजार तीन सय ६० पैदलयात्रुलाई भोलेन्टियरले ट्राफिक नियमबारे सचेत गराएका थिए । विशेषगरी जेब्राक्रसिङबाट बाटो काट्ने पैदलयात्रुलाई केन्द्रित गरेर उक्त अभियान चलाइएको थियो ।

'जेब्राक्रसिङमा बाटो काट्न लाग्दा सवारीसाधनले कानै फुट्ने गरी हर्न बजाउँछन् । कतिले त किचौंलाझैं गर्छन् । सडक सवारीसाधनका लागि मात्रै होइन, पैदलयात्रुको पनि हो भन्ने चेतना कहिले आउला सवारीचालकलाई', एक पैदलयात्रुको गुनासो सुनाउँदै महाशाखाका डीएसपी सविन प्रधानले अन्नपूर्णसँग भने ।

सवारीसाधनको अराजकता र नियम तोड्ने होडबाजी देखेर जेब्राक्रसिङबाट बाटो काट्नु अत्यन्तै जोखिमपूर्ण रहेको आभास पैदलयात्रुले गरेको टाफ्रिक प्रहरीले बताएका हुन् । प्रधानका अनुसार सडकमा देखिने जेब्राक्रस कोर्नुपर्ने, ट्राफिक लाइटको व्यवस्था गर्नुपर्ने र नियम नमान्ने चालकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने गुनासो पैदलयात्रुको छ ।

महाशाखाले पैदलयात्रुसँगै सवारीचालकलाई समेत सचेत गराएको थियो । केही सवारीचालकले त ट्राफिकको अभियानलाई वाहियातसम्म भनेको स्मरण प्रधानले गरे । 'विशेषगरी निजी सवारी हाँक्ने चालक त हामीलाई नियम सिकाउने भनेर उल्टै भोलेन्टियरमाथि जाइलागे तर उनीहरू नै नियम मिचिरहेका थिए', प्रधानले भने ।

भोलेन्टियरले दिनको तीन घन्टा सडकमा उभिएर पैदलयात्रु र सवारीचालकलाई सचेत गराएपछि साँझ ट्राफिक प्रहरीलाई रिपोर्टिङ गर्दै आएका थिए । ट्राफिक नियम मिच्न सरकारी सवारीसाधन पनि अग्रस्थानमा रहेको जानकारी पैदलयात्रुले ट्राफिकलाई दिएका थिए ।

जेब्राक्रस नै छेकिने गरी सवारीसाधन रोक्ने, जेब्राक्रस आउनु १०/१७ मिटरअगाडि नै सवारीचालकले हर्न बजाएर आतंकित बनाउने, केही सवारीचालकले त जेब्राक्रसमै 'जिकज्याक' गरेर गाडी चलाउने र केहीले जेब्राक्रस आउन लाग्दा तीव्र गतिमा सवारी हाँक्नाले ज्यान जोखिममा रहेको गुनासो पैदलयात्रुले गरेका थिए ।

ट्राफिक नियम नमान्ने सवारीसाधनमा मोटरसाइकल र माइक्रोबस रहेको एक महिनाको अभियानमा देखिएको छ । लेन्टियरले महाशाखालाई रिपोर्टिङ गरेअनुसार सडक प्रयोगकर्ता, विशेषगरी सवारीचालकमा पैदलयात्रुलाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने जानकारी छैन । पैदलयात्रुले पनि जथाभाबी बाटो काट्ने गरेको र पेटी नभएका सडकमा दाहिने किनाराबाट हिँड्नुपर्ने ज्ञान उनीहरूमा नभएको देखिएको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकामा बर्सेनि सवारी दुर्घटनामा औसतमा एक सय ६६ जनाको मृत्यु हुँदै आएको छ । त्यसमा ४० प्रतिशत पैदलयात्रु छन् । 'पर्याप्त सडक संरचनाको अभावले सडकमा हिँड्ने अनुकूल वातावरण हुन नसक्नु र भएका संरचनाको पनि उचित प्रयोग नहुँदा दुर्घटना हुँदै आएको छ । पैदलयात्रुले सडक पार गर्दा सावधानी नअपनाउने र सवारीचालकले पैदलयात्रुलाई प्राथमिकता नदिने कारण पैदलयात्रु सवारी दुर्घटनाका बढी सिकार हुँदै आएका हुन्', महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले भने ।

एक महिनासम्म नयाँबानेश्वर, माइतीघर, थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, भद्रकाली, पद्मोदय मोड, राष्ट्रिय सभागृह, शंकरदेव क्याम्पसअगाडि, पुतलीसडक, कमलादी, कृष्ण पाउरोटी मोड, केशरमहल, हात्तीसार, लैनचौर र न्युरोडमा ट्राफिक प्रहरीले चेतनामूलक अभियान सञ्चालन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.