तल्कोट क्षेत्रको गौरा पर्व र धार्मिक पक्ष

तल्कोट क्षेत्रको गौरा पर्व र धार्मिक पक्ष

कैलाश मानस क्षेत्रभन्दा दक्षिण जम्बुदीप/ग्यागार/सपादलक्ष्य जे भने पनि कैलाश कर्णाली क्षेत्रकै स्वर्ग हो । स्वर्गमा देवताहरूले अनेकथरी संगीत र मनोरञ्जनको सिर्जना गरे र त्यसैले स्वर्गको राजधानी कैलाश होस् अथवा हिउँदे राजधानी खप्तड होस् त्यहाँ अनेक धार्मिक, सांस्कृतिक गतिविधि भइरहेका हुन्छन् । त्यसमध्येको सुदूरपश्चिमाञ्चलको लोकप्रिय पर्व हो गौरा अर्थात् महादेवी पार्वतीको स्मृति पर्व ।

बझाङ तल्कोटका राजा मेधन सिंहका छोरा दिलिपसिंह धार्मिक विचारका भएकाले स्थानीय रूपमा विभिन्न चाडपर्व र मेलाहरू प्रचलनमा ल्याएका थिए । तत्कालीन अवस्थामा उनको समयमा बडादसैं, चैते दसैं, छडा खेती जात्रा, मालिका पूर्णिमा, किमडाला, रामडी तथा ढँडारमस्टोका पर्वहरू धुमधामसँग मनाइन्थ्यो । त्यस क्षेत्रमा गौरापर्वलाई धुमधामसँग मनाउने व्यवस्थामा उनको ठूलो योगदान छ ।

उनले विशेष व्यवस्था गरेपछि, उक्त चाडपर्व भव्य रूपमा मनाउने चलन यथावत् चलिरहेको छ र सांस्कृतिक तथा धार्मिक दृष्टिकोणबाट अरू पर्वहरूजत्तिकै महत्त्वपूर्ण रूपमा लिन सकिन्छ ।

दिलिप सिंहले यो पर्व सञ्चालन गर्न निकै कठिनाइ बेहोर्नुपरेको थियो । डुवादु (गौरापर्व) मा गाइने तथा खेलिने गीतको किताब 'पट' पनि उनले राजस्थानको चितौडबाट ल्याउन लगाएका थिए । सो खेलमा गाइने लय (जिल अथवा भाखा) परिमार्जन गर्न दुइटा मानिसलाई विन्द्रावनमा राधा, कृष्ण र गोपिनीले खेल्ने गरेको खेल सिक्न पठाएका थिए ।

ती मानिसहरू महिनौं दिनसम्म बसी सो खेल सिक्दा पनि लय नआएको र आए पनि भुल्ने गरेकाले राति सपनामा आफ्नो जिब्रोको टुप्पो काटेर पातमा राखी वनदेवीलाई चढाएपछि मात्र उक्त खेल र गाइने लय (जिल) जान्न सक्छौ भनी सपना भएपछि सोहीअनुसार गरेर बल्लतल्ल सो खेल सञ्चालन भएको थियो भन्ने कथन छ ।

नेपालको सुदूरपश्चिममा गौरापर्व त धेरै ठाउँमा मनाइने गरे पनि बझाङ, तल्कोटको अनौठो र अन्यत्रको भन्दा फरक रहेको छ । महिलाहरूले राति खेलिने फाग, भारी खेल आदि टुनामुना खेलहरू खेल्ने गरेको पाइन्छ । यस पर्वमा वृन्दावनमा राधा, कृष्ण, गोपिनीहरूका गीतहरू, पौराणिक कालका देवी र शिव पार्वतीका फाग आदि गीतहरूको तालमा खेल तथा मनोरञ्जनका खेललगायत सबै प्रकारका खेलहरू 'फाग धमारी' नामले प्रचलित छन् ।

भदौ शुक्लपक्षको पूर्णिमाको दिनमा गौरादेवी भित्र्याइने कोटघरमा सफासुग्घर (लिपपोत) गरी ब्राह्मण पूजारीबाट 'जमरा' राखिन्छ । प्रतिपदाको दिनमा पञ्चअन्न 'बिरुडा' जम्मा गरी द्वितीयामा केलाउने तृतीया र चतुर्थीमा (दुई दिन) भिजाउने, पञ्चमीमा विरुडालाई डालामा राखेर पञ्चेबाजाका साथ पञ्चकन्या केटीहरूले पँधेरामा लगेर सफा गर्ने गर्छन् । षष्ठीमा पातमा पोको बनाएर राखेर सप्तमीमा गौरादेवी कोटघरमा ल्याएपछि चढाइन्छ ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक परिवेशमा आफ्नै किसिमको गरिमामय गौरा पर्व मध्य तथा सुदूर पश्चिमेली जनताको अनुपम पर्वको रूपमा स्थापित छ ।

सप्तमीको बिहान बाटोमा कुनै मानिसले नभेट्ने गरी ब्राह्मणले गौरादेवीको प्रतिमा (पाती, काँस आदि विभिन्न बोटबिरुवाबाट निर्माण गरेको) लाई स्थानीय बाबैपातल भन्ने जंगलको घना रूख भएको स्थानमा लुकाएर राखिन्छ ।

त्यस दिन कोटघर, बाटो सरसफाइ गरिन्छ । अपरान्हतिर जात्रुहरू जम्मा भएर पन्चेबाजा बजाउँदै डोलीमा गौरादेवीका लुगा, गहना लगी गौरालाई जंगलमा खोज्न जान्छन्, जसले भेट्टायो, उसको भाग्य राम्रो हुन्छ भन्ने जनविश्वास छ । गौरादेवीलाई भेटाएपछि लगेका गहना, लुगा लगाएर डोलीमा राखी पञ्चैबाजा बजाउँदै चाभाइ गीत गाउँदै, खौलाको नाचनथली भन्ने ठाउँमा आइपुग्छन् ।

त्यहाँबाट 'दुबी धाम्चो' (एक हात लम्बाइ, चौडाइ भएको दुबोसहित भएको जमिनको टुक्रा) झिकेर गौरादेवीका साथ लगेर कोटघरमा भित्र्याइन्छ । महिलाहरू गौरा भित्र्याउने दिनदेखि गौरापर्वको अवधि भर व्रत, उपवास बसेका हुन्छन् । गौरादेवी भित्र्याइसकेपछि ब्राह्मण (पूजारी) र व्रतालु महिलाबाट बत्ती बालेर पूजा गरिन्छ ।

'चन्दयो' (एक हात लम्बाइ, चौडाइ, एक बित्ता मोटाइ भएको सिँगारिएको काठको टुक्रा) लाई व्रतालु महिलाले टाउकोमा राखी घुमेर पूजा गर्ने गर्दछन्, जसलाई 'चदयो पर्छन्' भनिन्छ । यो कार्य मर्यादाक्रमअनुसार गरिन्छ । सो काम सकिएपछि पुरुषहरू चाभाइ भन्ने खेलेर पहिलो दिन बिताउँछन् । गौरादेवी भित्र्याउने दिनदेखि बिदाई नगरुन्जेल दियो अटुटरूपले बालिराख्नु पर्छ र दिनको तीनपटक (बिहान, दिउँसो, बेलुका) पूजा हुन्छ ।

गौरादेवी भित्र्याइएको दोस्रो दिन अष्टमीको बिहान ब्राह्मणले कुशबाट महेश्वरको प्रतिमा बनाएर गौरादेवीको दायाँतर्फ राख्छन् । त्यसै दिनको अपरान्हदेखि गाउँगाउँबाट जात्रु जम्मा भएर जात्रा सुरु हुन्छ । जात्राको प्रथम दिन सर्वप्रथम 'फाग' गीतबाट खेल सुरु गरिन्छ । जुन हातको इशारा र खुट्टाको चाल गरी गीतको लयअनुसार खेल्दै विस्तारै पाइला अगाडि बढाएर दुई पंक्तिमा तथा दोहोरी भई खेलिन्छ ।

यी खेलमा गाइने गीतका शब्दहरू विभिन्न भाषाहरूबाट आएको पाइन्छ । जस्तै-हिन्दी, संस्कृत, फारसी, उर्दू, देहाती शब्द रहने यो गीतको रोल वा अर्थ बुझ्न सबैले सक्दैनन् । फाग पनि धना श्री राग, आबावरी राग, नटराग, सारंग राग आदि लयका हुन्छन् । सर्वप्रथम गाइने तथा खेलिने खेल हो 'एको बारो हमारो जो गृह फिरी तुमु आई रे, फिर तुमु आई रे !' अर्को खेल 'शाही तील जोवन, रंग रच्यो हमारो जो गृह फिरी तुमु आई रे !' आदि ।

कल्याण राग 'बनवासी मेरे बनवासीया जो वृन्दावन मेरे बनवासीया !' धना श्री रागमा श्रीकृण भन्छन्, 'चलो वृन्दावन जाइतो सौ कुन्जलावौ कानया कहांकी हो ? तिमी ग्वालिनी कांही ददी लेवेनचली जाई तो सौ कुन्ज बोला बो !' भनी कृष्णले ग्वालिनी तथा गोपिनीसँग संवाद गरेको पाइन्छ । जस्तै-गोपिनी भन्छन्, 'कनैया हामी मथुराको ग्वालिनी गोकुल ददी बेचैनचली जाई तो सौ कुन्ज बोलायाँहु !' यस्तै थरीथरीका शंकर शिव-पार्वतीजीका देवीको फाग पनि हुन्छन् ।

दोस्रो खेल 'धमारी', यो फागभन्दा रमाइलो हुन्छ । यसमा पन्चेबाजा र दाइने टाम्को, झ्याली, सहनाई, नरसिंगाका साथै दुवैथरीले गीतको लयमा गाउँदै हातमा मिजुरा समातेर बजाउँदै निहुरिएर अगाडि-पछाडि पाइला चाल्दै रमाइलोका साथ खेलिन्छ । जस्तै, गीतको बोल हुन्छ, 'अम्मर भरी हो, नेत्र कनैया अम्मर भरी हो ? दाइने हात बाजत डम्फु बायाँ हात ताल मिजुरा ! कै हात घसी चन्दन, कै हात पानको बिडा ! दाहिने हात घसी चन्दन, बायाँ हात पानकी बिडा !' आदि ।

यो धमारी खेलमा धेरै प्रकारका गीत, लयहरू हुन्छन् । जस्तै- 'रैनी रुपैनी चन्दासाथ ददी बेचन चली जमुनाघाट !' आदि । त्यस्तै- 'रनका कनुमुसि ल्याहो राधा !' यो खेल मार्मिक हुन्छ । मिजुरा नहुने खेलाडीहरूले कम्मरमा हात राखेर घुमीघुमी दायाबाया फर्कंदै बाजाको तालमा मिजुराको छन्दमा नाच्दै खेल्छन् । गौरादेवी बिदाइ गर्ने दिनको अघिल्लो राति र सो दिन अरू दिनमा भन्दा बढी किसिमका खेल खेलिन्छन् । जस्तै- देवीको फाग 'मुकमारी, मनुमारी छैया किला कहाँ राखौँ ? '

कतै स्थानीय मनोरञ्जन पनि गाएर खेल्छन् । जस्तै- 'शंक गएडी चरोधुल खेल गयडो चरो, धुलखेल !' भन्दै गीतअनुसार हाउभाउ गरिन्छ । अन्य खेलहरू- रामकृष्ण बंगोलर बिहानीपख हातमा लामा–लामा लौरा समातेर 'हरुपानी' भन्ने खेल खेलेर घरमा जान्छन् ।

अन्तिम दिन अपरान्हतर्फ पुनः जात्रा सुरु हुन्छ । यसमा 'ख्याले गुन्जरिया यो रंग त्यो रंग माथु डोलै !' भन्ने खेल तथा गीत गाएपछि सबै खेलाडी तथा जात्रुहरूले आपसमा अबीर फ्याँक्ने तथा गाउने गर्छन् । त्यस्तै 'गाडी दे नेत्र कनैया गाडी दे !' बोलसहितको अर्को खेल हुन्छ । यसमा गाउँदै पाइला अगाडि बढाउँदै गीत भन्ने समयमा बस्ने अनि उठेर अगाडि बढ्ने गरिन्छ । त्यस्तै 'उद्यम कि नगरा करे जैमली पन्ना यै साहै बन्दुककी ? गडागड, यै तरबार कि ? छसा छस् यै जमदारकी ? लागी घोस !' आदि ।

अन्त्यमा खेलिने 'चाभाई' बढी रमाइलो र मनोरञ्जन दिने एक खेल हो । यो महिला, केटाकेटी, बूढापाका सबैले बुझ्ने हुँदा यसलाई सबैले रमाइलो र राम्रो मान्दछन् । यसमा देवीदेवताको पुकारदेखि लिएर मानिसको जीवनसँग सम्बन्धित दुःखसुखको वर्णन गरिएको हुन्छ । यस खेलमा हातमा रुमाल लिएका १५/२० जनाजति अघिपछिका खेलाडीहरू त्यस्तै चाल र लयमा नै चाभाई भन्दै नाच्दै खेल्दै पछ्याइरहेका हुन्छन् ।

शान्त वातावरणमा मग्न भई ध्यानपूर्वक नाचेर खेलिने यस खेलमा जात्रुहरू खेलाडीहरूतर्फ टोलायमान भई विरक्तिका गीत सुनेर एकछिनको लागि सुखदुःख पनि बिर्सन्छन् । मानिसको जिन्दगी कर्कलोको पातमा रहेको पानी जस्तै हावाले छचल्किएर पोखिएजस्तो छ । तसर्थ यो जात्रा राम्रोसँग खेली यो पर्व मनाउन अर्को साल कतिलाई अवसर मिल्छ या मिल्दैन भन्ने भावसहितको विरक्ति गीत गुन्जिएको स्वरले कतिपयलाई हृदय पग्लेर आँखाबाट आँसु झरेको देखिन्छ । यस्तै चाभाईकै दोस्रो चरणमा 'ठाडो चाभाइ' हो ।

यो करुवामा लगेर खेलिन्छ । यसमा उफ्रँदै खेलिने हुँदा बूढा, असक्त, कमजोर मानिसहरू खेल्न सक्दैनन् । यो जोस र उमंगका साथ खेलिने हुँदा कोही धामीझैँ काम्ने पनि गर्छन् । एकछिन वातावरण कोलाहलमा बदलिएको हुन्छ । यसरी मौसमअनुसार गौरापर्व ८/१० दिनसम्म मनाइन्छ । यी नित्य खेल र अन्त्यमा गौरादेवीलाई पूजा गरेर खेल सकिएपछि प्रसाद लिई गौरादेवीलाई पुनः ल्याएजसरी नै डोलीमा राखेर पञ्चेबाजासहित अगाडि गौरादेवीको डोली लगाई सबै जात्रुहरू चाभाइ भन्दै पछिपछि लागेर स्थानीय थलाराको चौर (मैदान) मा लगेर सबै भेला हुन्छन् ।

अनि गौरादेवीलाई सोही बाबैको जंगलको एक निश्चित ठाँउमा (ठूलो रूखमा) राखिन्छ । त्यहाँ गौरा देवीको साथमा लगेका फल फूल, विरुडा कपडामा राखेर चारजनाजतिले आकाशतर्फ फ्याँक्ने गर्छन् । सो प्रसाद लिन जात्रुहरूबीच तँछाडमछाड हुन्छ । सो प्रसाद ग्रहण गरेपछि राति सोही स्थानमा भव्य मेला हुन्छ, जसमा स्थानीय डेउडा खेल सुरु हुन्छ ।

यसरी गौरादेवीको पर्व समाप्त हुन्छ । यो पर्वमा उक्त भेगका देशविदेश गएका मानिसहरू आफ्नो पर्व मनाउन आफ्नो गाउँ आइपुग्छन् । विवाहित महिलाहरू तथा पराइ घर गएकी छोरी, बहिनी यो पर्व मनाउन माइती आउँछन् । यस पर्वमा दसैंजस्तै नयाँ कपडा लगाउने, मीठो खाने आदि गरेर धुमधामसँग मनाइन्छ । उपरोक्तबमोजिम गौरापर्व यहाँका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक परिवेशमा आफ्नै किसिमको गरिमामय पर्व भएकाले यसको लोकप्रियता अनुपम छ ।

-सिंह तल्कोट राज्यका राजाका सन्तति हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.