सेयर नपरेको पैसा पनि अब बैंक खातामै
काठमाडौंः सेयर नपरेको पैसा फिर्ता लिन घन्टौं लाइनमा उभिनुपर्ने झन्झटबाट लगानीकर्ताले छुटकारा पाउने भएका छन् । पुँजी बजार धितोपत्र बोर्डले आईपीओ तथा एफपीओ आवेदनमा सेयर नपरेको पैसा अनिवार्यरूपमा बैंक खातामै उपलब्ध गराउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । लाभांश र पैसा फिर्ता गराउन कुनै पनि बैंकले नयाँ खाता खोल्नसमेत बाध्य पार्न सक्नेछैनन् ।
लगानीकर्ताले उपलब्ध गराएको जुनसुकै बैंकको खाता भए पनि पैसा सोही खातमा फिर्ता गरिदिनुपर्नेछ । तर, यसरी पैसा फिर्ता गरिने बैंक नेपाल क्लियरिङ हाउसको सदस्य भने भएको हुनुपर्नेछ । यो नियम सबै सूचीकृत कम्पनीसहित सेयर रजिस्ट्रार तथा बिक्री प्रबन्धकले पालना गर्नुपर्नेछ । सेयर नपरेको पैसामात्र होइन, सूचीकृत कम्पनीले दिने नगद लाभांश पनि बैंक खातामै राखिदिनुपर्नेछ ।
लगानीकर्ताले उपलब्ध गराएको जुनसुकै बैंकको खाता भए पनि पैसा सोही खातमा फिर्ता गरिदिनुपर्नेछ । यसरी पैसा फिर्ता गरिने बैंक नेपाल क्लियरिङ हाउसको सदस्य भने भएको हुनुपर्नेछ ।
‘लगानीकर्ताले उपलब्ध गराएको बैंक खातामा अनिवार्य नगद लाभांश जम्मा गर्नुपर्नेछ,’ धितोपत्र बोर्डको निर्देशनमा भनिएको छ । अब कुनै बैंकमा एउटा खाता छ भने थप नयाँ खाता नखोले पनि लगानीकर्ताले सोही खातामा पैसा फिर्ता पाउनेछन् ।
केही समयअघि राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई लगानीकर्ताको नगद लाभांश बैंक खातामै उपलब्ध गराउन निर्देशन दिएको थियो । तर, यसमा सम्बन्धित बैंकहरूले लाभांश जम्मा गर्न आटनै बैंकमा नै खाता खोल्न बाध्य पार्न सक्छन् कि भन्ने आशंका गरिएको थियो ।
बोर्डको निर्देशनले अब यो आशंका पनि समाधान गरिदिएको छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि विशेषगरी राजधानी बाहिरका लगानीकर्तालाई निकै ठूलो राहत मिल्ने भएको छ । अहिलेसम्म लाभांश लिन र सेयर भर्दा नपरेको पैसा फिर्ता पाउन विकट गाउँका लगानीकर्ता समेत काठमाडौं धाउनुपर्ने बाध्यता छ । अबदेखि यो झन्झट हुनेछैन ।
सेयर बजार आधुनिकीकरण गर्नेक्रममा धितोपत्र बोर्डले नयाँ कदम चालेको हो । डिम्याट सेयर कारोबार कार्यान्वयनमा आइसकेको छ । डिम्याट भएपछि कारोबारीले निकै सुविधा पाएका छन् । डिम्याट खातामा सेयर किनबेचको जानकारी पाउन सकिन्छ । अब सेयर नपरेको र लाभांश बैंकबाट पैसा फिर्ता पाउने व्यवस्था कार्यान्वयन भएपछि बजार आधुनिकीकरणमा अर्को सफलता मिल्नेछ ।