हिन्दु राष्ट्रको पुनर्स्थापना
मानव सभ्यताको विकासबारे अध्ययनमा जीवन पद्धति र सामाजिक आचरण दुई मुख्य अंगका रूपमा देखा पर्छन् । समय, परिस्थिति र भूगोलअनुसार यी दुई पक्ष आआफ्नो विशेषतामा अगाडि बढेका देखिन्छन् । यसैबीच विभिन्न महान् व्यक्तिको प्रयाससमेतले एउटा बृहत् सामाजिक अनुमोदनको प्रक्रियाबाट अनेक आचारसंहितारूपी अभ्यास हुँदै आएका छन्, जो धर्म कहलिए, जीवन दर्शन भनिए ।
मानव जातिले संसारको सृष्टिकर्ताका रूपमा कुनै सर्वशक्तिशाली पक्षलाई मानेको छ, जो भगवान् हो, जसका आआफ्ना परिस्थितिअनुरूपका नामाकरण भएको पाइन्छन् । भगवानको अस्तित्व नमान्नेहरूलाई पनि आफ्नो वैकल्पिक धारणाको चुनौती सिद्ध गर्न सजिलो भएको छैन । अपार सृष्ट्रिको विहंगमता र अनन्ता नकार्न थोरै केही सूत्रहरू पर्याप्त हुनै सक्दैनन् । हामी मानव नै सीमाविहीन यो ब्रह्माण्डको कता कति स्थान लिएर बसेका छौँ त्यो सायदै कहिल्यै पत्ता लाग्ला ।
हामी वैदिक सनातन धर्म सभ्यताका अनुनायीहरूको संसार हेर्ने दृष्टिकोण अरूको भन्दा नितान्त फरक छ । प्राणीमाथिको हिंसा, वचन कर्मबाट कसैको मन दुख्ने अवस्था र अन्याय हुने भाव, यी तीनै चीजलाई यस सभ्यताको मूल दर्शनशास्त्र श्रीमद्भागवत्गीताले वर्जित गरेको छ । मानव कल्याण र जीवात्माहरूप्रतिको अक्षुण्ण प्रेमभावनिम्ति तप अभ्यासको लागि कहलिएको हिमवत् खण्ड सारा वैदिक सनातन दर्शनधाराको उद्गमस्थल हो । यो नै नेपाल हो ।
वैदिक सनातन धर्मका पौराणिक पात्रहरू प्रायः आधुनिक नेपाल भूमिसँग आबद्ध देखिन्छन् । भगवान् शिवको निवास मानिने विशाल हिमशृंखला, सीता माताको जन्मस्थल जनकपुर र भगवान् बुद्धको जन्मस्थल लुम्बिनी यसका केही अति लोकप्रिय उदाहरण हुन् ।
यहाँ पंक्तिकारले आफ्नो जन्मजातीय, कर्मजन्य धर्मबारे बखान गर्न मात्र लागेको होइन । सबैलाई आफ्नो धर्म प्यारो छ । सबै सभ्य मानिसहरूले संसारमा प्रचलित अन्य धार्मिक अभ्यासको सम्मान गरि नै हाल्छन् ।
प्रसंग केही वर्षयताको हो, जसले गर्दा नेपालको हिन्दु राज्यका रूपमा संसारमा स्थापित छवि गुमेको छ । त्यो कुनै विशाल दुर्घटना, योजना र चाहनाबाट नभई रातारात कोही व्यक्तिको निर्णयबाट भयो, विस्मय त्यसमा छ । नेपालमा पछिल्लो दसक एक किसिमको राजनीतिक परिवर्तनको लागि शक्ति संघर्ष भयो, हिंसाचक्र चल्यो, त्यो रोकिएपछि जटिल संक्रमण चलिरहेको छ ।
यसबीच अनेकन स्वार्थको अतिक्रमण नेपाली समाजमा भइरहेको छ, जुन संसारका अन्य तुलनीय समाजमा कल्पनीयसमेत छैन । स्वभावले नै अति मन्द प्रतिक्रियाबाट चल्ने संयमित र सहनशील सनातनीय आर्य समाज बलपूर्वक, प्रभावमा गरिएको यो परिवर्तनसँग क्षुब्ध भएर आफ्नो संहिता गुमाउने उपक्रममा लागेको छैन, लाग्दैन । किनकि सनातनीय धर्मपद्धति जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि धैर्य र सहिष्णुता गुमाउनु हुन्न भन्ने दर्शनमा आधारित छ ।
परन्तु कुल जनसंख्यामध्ये ८० प्रतिशतभन्दा बढी (तथ्यांकमै समेटिएका) र भित्री हृदयमा चाहिँ अझै सनातनीय धारणा राख्ने बाँकी २० प्रतिशतमध्येका कतिपय नेपालीले समेत यो कुनै तर्कबाट स्थापित हुन नसक्ने परिवर्तनसँग सहमति राख्न सक्दैनन् । कालचक्रको कुनै विन्दुमा यसबारे समीक्षा हुने वातावरण नबनी सुख छैन ।
अलिकता पृष्ठभूमितर्फ जाऊँ । नेपाल हिन्दु राज्य भएर संसारमा एउटा शान्ति, सहिष्णुता र मिलापको मुलुकका रूपमा चित्रित रहेको थियो । हिन्दु धर्म कहिल्यै पनि नेपाली भूमिबाट कसैको मन बिझाउने, कसैलाई कजाउने माध्यम वा विषय बनेको इतिहास छैन । यति सहज, सरल र सबैलाई अपनत्वमा राख्नसक्ने धर्म अरू छैन भन्ने संसारका अनेकन गैरहिन्दु धर्म अध्ययनहरूबाट समेत स्विकारिएको अवस्था छ ।
तान्त्रिक पूजन विधिबाट भगवान्को आराधना र जीवन पद्धतिलाई तपवृतिमा राखेर शक्ति हासिल गर्ने परम्परा विश्व समुदायको लागि कहिल्यै बिझेको चिज रहेन । सनातनीय धर्मपरम्पराका कतिपय अभ्यास, यसका कतिपय हाँगाबिँगा विश्वका अन्य धर्मावलम्बीहरूले समेत धारण गरेको पाइन्छ । संसार आज योगका माध्यमबाट निरोगी बन्न चाहिरहेको छ ।
ध्यानविना अब शान्ति मिल्दैन भन्ने निष्कर्षमा संसार पुगिसकेको छ । संसार फेरि आज प्राकृतिक शुद्धता र सामूहिक मिलापको दिशातर्फ फर्कन चाहिरहेको छ । भौतिक प्राप्तिमा अन्धो भएको मानव समुदाय अहिले दृष्टि खोजिरहेको छ, गुमेको मानवीय मूल्यहरू फेरि खोज्दै ।
पछिल्लो कालखण्डमा हामीकहाँ केही विषम परिवेश उत्पन्न भयो । सशस्त्र द्वन्द्वलाई सामाजिक परम्परा भत्काउने दिशामा उन्मुख गरियो । गौमाता सम्मानको बर्खिलापमा गौमास अभियान चलाइयो । समाज बसाल्ने आदिस्रोत संस्कृत शिक्षालाई निषेध गर्न हिंसा चक्र चलाइयो । मन्दिर, पूजन अवसरहरूमा वाधा पुर्याइयो । त्यो आगोमा घिउ थप्ने काम अन्य मूलधारका पक्षले समेत गरे, जो खासमा सनातन परम्पराका विरोधी आफूलाई कहिल्यै भन्न चाहँदैनन् ।
तर उनीहरूले सत्ता लालसामा वशीभूत भएर आफूलाई संस्कारबाट विमुख गर्न हिच्किचाएनन । यसले धर्मप्रतिको अनादर प्रोत्साहित गर्न चाहने तत्त्वहरूलाई बल मिलेकै हो । निश्चित उद्देश्य साध्य गर्न लागिपरेकाहरूको लागि लालसामा लिप्त मानिसहरू सजिला ठहर्छन् । भयो त्यस्तै, आखिर कांग्रेस, एमाले र माओवादी तीनै दलका शीर्ष नेतृत्वहरूको अनुमोदनमा नेपाल एक्कासि हिन्दु राष्ट्र रहेन ।
के त्यो जनताको म्यान्डेट थियो ?
नेताहरूले प्राणपखेरु रहुन्जेल दाबी गर्लान्, हामीले प्रजातन्त्रका लागि लड्यौँ । तर जनताको नजर, ज्ञान र निर्णय प्रक्रियाबाट लुकाएर गरिने परिवर्तन प्रजातन्त्र हो ? २०६३ को आन्दोलन जनताको इच्छाबाट प्रेरित थियो । त्यसमा मिसिएका अनेक बाह्य स्वार्थ पनि छन् । तैपनि त्यो खासमा जनताको इच्छा थियो । जनता चाहन्थे, सशस्त्र द्वन्द्व रोकियोस् अनि समस्या समाधानमा सक्षम नठहरिएका प्रयोगहरू रोकियून् । तर जनताको त्यो शान्तिकामी उत्सर्गमा राष्ट्रकै धर्महरण गर्ने चेष्टा गुप्तरूपमा मिसाइएको रहेछ ।
हिन्दु राष्ट्र रहेर पनि कहिल्यै धर्म सापेक्षताका कुनै अप्ठेरा थिएनन् नेपालमा । विश्वका सबै धर्मले खासगरी नेपालको हिन्दु छविलाई शान्तिको प्रतीकका रूपमा स्वीकार गरेको अवस्था अहिले पनि छ । नेपालमा कसैले चाहेर कहिल्यै धार्मिक सद्भाव बिग्रने घटना भएन, न कुनै खाले धार्मिक उत्पीडनको गुनासो सुनियो । मन्दिरै-मन्दिरका बीच निर्बाध रूपमा मस्जिद अनि गिर्जाघर चलेको, धार्मिक सहचार्य सर्वस्वीकृत परम्पराका रूपमा चलेको परिवेश नेपालबाहेक अन्य कुनै मुलुक सायदै छ ।
यहाँ कहिल्यै घृणा भन्ने चिजले प्र श्रय पाएन । धर्मलाई कर्मकाण्डीय नजरले मात्र हेर्ने पात्रहरू त सबैतिर छन्, नेपालमा ती पनि न्यून संख्यामा छन् । सहिष्णुताले जित्दै गएको अवस्था थियो, तर त्यसमै प्रहार गरियो ।
बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरुनले संसद्बाट बेलायतलाई क्रिश्चियन स्टेट भनेर धार्मिक समाजको श्वाश्वत पक्षलाई उजागर गरे । नेपाल पनि हिन्दु मुलुक नै हो, यो स्वयंसिद्ध तथ्य हो ।
आन्दोलनको खाका नयाँदिल्लीमा तयार भएको थियो, भारतीय संस्थापनको सहयोगमा । त्यहाँ हस्ताक्षरित बाह्रबुँदे समझदारीका आधारमा माओवादी र दलहरूबीचको सहकार्यबाट आन्दोलन भयो । राजाले संसद् पुनस्र्थापना गरिदिए ।
त्यसपछिको गन्जागोलबीच जेठ ४ को संसदीय घोषणाबाट नेपाल एकाएक धर्मनिरपेक्ष मुलुक भनियो । कसैले उठाएको माग थिएन त्यो, न बाह्रबुँदे गराउने भारतकै इच्छा । रातारात घुसाइएको त्यो निर्णय ककसको सहभागितामा भयो, त्यसमा के-के लाभ सामेल थिए भन्ने समयक्रमले पत्ता लगाउला । अब त्यसका कारण जनतामा छाएको व्यापक निराशाले निर्णयकर्ताहरूलाई सानो समस्या पारेको पक्कै छैन । तर जनताप्रति सायदै जिम्मेवार ती मनहरूलाई आफ्नो जीवनकालमा त्यसले खासै दोष अनुभव नगराउला ।
हिन्दुत्व राजनीतिक मुद्दा होइन । यो राजनीतिक निर्णय बन्नुपर्ने थिएन । अब यसलाई सर्वकालको लागि राजनीतिक मुद्दा बनाएर फाइदा लिन्छु भन्नु पनि मूर्खताशिवाय केही होइन । थोरै समयबीच यो पुष्टिसमेत भइसकेको छ । तर राजनीतिक रूपमा कोपभाजनमा परेकाले यसको उपचार एक चरणको लागि गैरराजनीतिक हुन सक्दैन । वर्तमान संविधानमा जडित केही वाक्यांश किमार्थ पर्याप्त छैनन् ।
ती त संविधानमाथि जनमत संकलन हुँदाको अपार सुझावलाई एकातिर थन्काएर थम्थमाउन फुराइएका शब्द मात्र हुन् । विश्वमा धेरै मुलुकहरूले आफ्नो धार्मिक पहिचान सगौरव प्रचार गर्छन् । यसअघिका बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले संसद्बाट बेलायतलाई क्रिश्चियन स्टेट भनेर धार्मिक समाजको श्वाश्वत पक्षलाई उजागर गरे ।
नेपाल पनि हिन्दु मुलुक नै हो, यो स्वयंसिद्ध तथ्य हो । यसलाई पछिल्लो कालखण्डमा खण्डित गर्न खोजिएको मात्र हो । यसलाई जोड्दा कसैलाई हानि छैन । नेपाल मुलुकको पहिचान र साविक मिलापकै भावना अनि अझ सुरक्षित वातावरणको लागि यो पुनर्योग जरुरी छ ।