डिजिटल मार्केटिङ गर्दै पर्यटन बोर्ड
पोखराः गर्मीसे बेहाल, चलो नेपाल ! केही महिनाअघि भारतीय पाँच सहरका बासिन्दाको फेसबुकमा यस्तो सन्देश देखिन्थ्यो । सँगसँगै अर्काे सन्देश पनि देखियो- नेपाल अफर्स डिस्काउन्ट इन टेम्प्रेचर । तापक्रमकै छुट भन्ने सन्देश निकै प्रभावकारी पनि बन्यो । नेपाल पर्यटन बोर्डले दिल्ली, कोलकाता, मुम्बई र बैंग्लोरका फेसबुक प्रयोक्ताका वालमा यस्तो विज्ञापन छरेको थियो ।
बोर्डका सीईओ दीपकराज जोशी भन्छन्, ‘स्काइपमा नेपालीमा बोल्दा उता चिनियाँ या अर्काे कुनै भाषामा रुपान्तरण हुने सुविधा बनाउन माइक्रोसफ्टसँग कुरा गरिरहेका छौं ।’ पर्यटकलाई चाहिने एप्सको प्रतियोगिताका लागि पनि माइक्रोसफ्टसँग वार्ता गरिरहेको जोशी बताउँछन् । बोर्ड अचेल डिजिटल मार्केटिङमा केन्द्रित रहेको उनले सुनाए ।
‘सामाजिक सञ्जालसहित डिजिटल मार्केटिङमा फोकस गरिरहेका छौं, पोस्टर पम्प्लेट कम छाप्छौं’, उनले भने, ‘भारतका गुगल र फेसबुक ट्विटर प्रयोक्तामाझ फेस्टिभ होलिडेज इन नेपाल सन्देश पठाउँदैछौं ।’ मार्च र जुनमा फेसबुकमा भारतीयमाझ गरिएको विज्ञापनकै कारण पर्यटक बढेको अनुभव पनि जोशीले सुनाए ।
नेपाल पर्यटन बोर्डले दिल्ली, कोलकाता, मुम्बई र बैंग्लोरका फेसबुक प्रयोक्ताका वालमा नेपाल भ्रमण आउन आह्वान गरिएको सन्देश विज्ञापनका रूपमा छरेको थियो ।
‘अबको जमाना डिजिटल मार्केटिङको नै हो’, उनले भने, ‘मानिस उठेपछि सबैभन्दा पहिला मोबाइल चलाउँछ र सुत्नुअघि पनि मोबाइलै चलाउँछ । भनिन्छ एकजनाले दिनमा दुई सयपटक मोबाइल छुन्छ ।’ त्यही मोबाइलमा चल्ने फेसबुक, ट्विटर र गुगलमा मार्केटिङ नगरी नेपाली पर्यटनको प्रवद्र्धन हुन नसक्ने उनले बताए । नेपालभित्रकै चर्चित ट्विटेहरूमार्फत घुमफिर वर्ष २०७३ प्रचारमा जुटेको जानकारी उनले दिए । उनले भने, ‘उहाँहरूसँगको सहकार्यमा घुमफिर २०७३ को ह्यासट्याग चर्चित बनाउन सक्यौं ।’
जोशीका अनुसार डिजिटल मार्केटिङकै लागि बोर्डले बजेट विनियोजन पनि गरेको छ । पर्यटनमा विश्वकै सर्वाधिक चर्चित ट्रिपएडभाइजरमा विज्ञापन गर्नमात्रै दुई करोड ५० लाख रुपैयाँ छुट्याइएको जानकारी उनले दिए । फेसबुक ट्विटरमा विज्ञापन गर्न भने एक करोड ८० लाख रुपैयाँ बजेट बोर्डले छुट्याएको छ । युट्युबमा विज्ञापन गर्न दुईतीन मिनेटका डकुमेन्ट्री बनाउने तयारीमा बोर्ड लागेको पनि उनले जानकारी दिए । बोर्डले सहकार्य गर्न लागेको अर्काे अन्तर्राष्ट्रिय संस्था समाचार एजेन्सी रोयटर्स हो ।
बोर्डले सन् २०१६ मा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यो संख्या २०१४ कै हो । तर, भूकम्प र नाकाबन्दीका कारण पर्यटक संख्या ओरालो लागेको छ । ‘ब्याक टु नर्मल’ भनेर आठ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेका हौं’, उनले भने ।
बीबीसी र सीएनएनमा पनि बोर्डले विज्ञापन गर्दैछ । त्यसका लागि पनि बजेट विनियोजन भएको छ । प्रक्रिया पूरा गर्न केही समय लाग्ने जोशीले बताए । ‘चीनमा नेपालका कतिपय वेबसाइट नखुल्ने हुँदा चिनियाँ राष्ट्रिय कोड प्रयोग गरी ‘वेलकम टु नेपाल डट कम डट सीएन’ खोलेका छौं’, उनले भने । त्यहाँका सामाजिक सञ्जालमा पनि नेपालको प्रचार गरिरहेको जानकारी जोशीले दिए । संसारमा चल्तीका सामाजिक सञ्जाल चीनमा प्रतिबन्धित रहेकाले त्यहींका साइटमा प्रचार थालिएको हो ।