बक्यौता रकम नतिरेको भन्दै स्वास्थ्य केन्द्रको विद्युतको लाइन काटियो
कुश्माः बक्यौता रकम नतिरेको भन्दै विद्युतीय लाइन काटिएपछि यहाँको एक विकट गाउँको स्वास्थ्य केन्द्रमा उपचारमा समस्या भएको छ। पर्वतको लुंखुदेउराली गाविसमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको विद्युतको लाइन काटिएको हो। नेपाल विद्युत प्राधिकरणको पर्वत वितरण केन्द्रले 'माथिको निर्देशन' भन्दै विद्युतको लाइन काटिदिएको हो।
केन्द्रले १ लाख ४५ हजार रुपैयाँ महशुल तिर्न बाँकी छ। ऊर्जामन्त्री जनार्दन शर्माले बक्यौता रकम नतिर्नेहरुको लाइन काट्न निर्देशन दिएपछि पर्वतमा शुरुमै उक्त स्वास्थ्य संस्थाको लाइन काटिएको हो।
सोमवारदेखि लाईन काटिएपछि स्वास्थ्य केन्द्रमा आउने बिरामीहरुको उपचारमा समस्या भएको छ। विद्युतको लाइन काटिएपछि झण्डै एक दर्जन गाविसमा लैजाने खोप सेवा र केन्द्रमा सुत्केरी हुन आउनेहरुको उपचारमा समस्या भएको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका संयोजक जीवन उच्चै ठकुरीले जानकारी दिए। अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालय पर्वतले नै केन्द्रमा विद्युत महसुल भुक्तानी गर्दै आएको थियो।
सदरमुकामदेखि झण्डै ४० किलोमिटर टाढाको दूरीमा रहेको उक्त स्वास्थ्य केन्द्रमा विद्युत अभावमा उपचारमा समस्या भएपछि स्थानीयबासिन्दाहरु समस्यामा परेका छन्। केन्द्रमा दैनिक १ सय जना सम्म विभिन्न रोगका विरामीहरु उपचारका लागि आउने गरेको ठकुरीले जानकारी दिए। तत्काल महसुल भुक्तानी गर्ने केन्द्रसँग आर्थिक अवस्था पनि नभएकाले समस्या भएको हो।