भक्तपुरमा जन्ती बस दुर्घटना, चालकसहित ४९ जना घाइते
भक्तपुर: भक्तपुरको सुडालमा जन्ती बस दुर्घटना हुँदा चालकसहित ४९ जना घाइते भएका छन्। नगरकोट नगरपालिका-७ बाट जन्ती लिएर कोटेश्वरतर्फ आउँदै गरेको बा ४ ख १९०५ नम्बरको बस नगरकोट–५ सुडालमा दुर्घटना भएको हो।
महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माका अनुसार जन्तीबस सुडाल चरेलीस्थित ओरालो बाटोमा दुर्घटना भई सडकमा पल्टिएको थियो। दुर्घटनामा परी घाइते भएकाहरुको तत्काल उपचारको लागि भक्तपुर र मध्यपुर अस्पताल पुर्याइएको थियो।
जसमध्ये भक्तपुर र मध्यपुर उपचार सम्भव नभएपछि दुई जनालाई काठमाडौं जोरपाटीस्थित अर्थोपेडिक अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए। बाँकी घाइतेमध्ये भक्तपुरमा २५ र मध्यपुरमा २१ जनाको उपचार भइरहेको उनले बताए। उनका अनुसार केही घाइतेहरु उपचारपछि घरसमेत फर्किसकेका छन्।
बसमा सवार सबै सामान्य घाइते छन्। दुर्घटनालगत्तै फरार चालक प्रहरी सम्पर्कमा आएको छ । दोलखा राम्चे निवासी रामकुमार भण्डारी आफै पनि घाइते रहेको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए। प्रहरीले क्षमताभन्दा बढी जन्ती बोकेकाले बस ब्रेक फेल भएर दुर्घटना भएको बताएको छ। बसमा ६० जनाभन्दा बढी सवार रहेको बताइएको छ।
नगरकोट नगरपालिका–७ का मुरारीप्रसाद तिमिल्सेनाको छोराको बिहेको लागि जन्ती बस सुडालबाट कोटेश्वतर्फ जाँदै थियो। बेहुला भने बसभन्दा अगाडि कारमा रहेकाले सुरक्षित रहेको प्रहरीले बताएको छ ।