क्रिकेटका नाममा ‘मानव तस्करी’

क्रिकेटका नाममा ‘मानव तस्करी’

काठमाडौंः जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएको टोलीमा केही गैरखेलाडीलाई समेत सहभागी गराइएको र उनीहरूलाई जापानमै छाडेर आएको आशंकामा छानबिन अघि बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली क्रिकेटका सरोकारवालालाई निर्देशन दिएको छ ।

यस विषयमा युवा तथा खेलकुदमन्त्रीले समेत विशेष चासो देखाउँदै आन्तरिक छानबिन प्रक्रिया अघि बढाएका छन् । गत १५ जुलाईमा नेपालको बेस्ट फुटबल क्रिकेट (एफसी) काठमाडौं क्लबले सातजना राष्ट्रिय खेलाडीसहित १८ सदस्यीय टोली जापान लिएर गएको थियो ।

जापानमा उनीहरूले स्थानीय क्लबसँग दुई दिनमा तीनवटा मैत्रीपूर्ण खेल खेलेका थिए । उक्त मैत्रीपूर्ण खेलका लागि सिनियर नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनीसहित यू १९ टोलीका प्रेम तामाङ, अमित श्रेष्ठ, सौरभ खनाल, फैजल खान, रामनरेश गिरी र राष्ट्रिय खेलाडी सोनु तामाङ जापान गएका थिए ।

मैत्रीपूर्ण खेलका लागि जापान गएकामध्ये सातैजना खेलाडी र अन्य दुई पदाधिकारी पाँच दिनको बसाइपछि नेपाल फर्किएका थिए । टोलीसँगै जापान गएका अन्य नौजना भने आफूहरूसँग नेपाल नफर्किएको एक खेलाडीले बताए ।

‘हामी १५ दिनको प्रवेशाज्ञासहित मैत्रीपूर्ण खेलका लागि जापान गएका थियौं तर हामी सात खेलाडी र दुईजना पदाधिकारी पाँच दिनपछि नेपाल फर्कियौं’, ती खेलाडीले भने, ‘खेल्न भनेर गएका अन्य नौजना भने हामीसँग फर्किएनन् ।’

ती खेलाडीका अनुसार जापान गएका अन्य नौमध्ये दुईजनाले मात्र त्यहाँ मैत्रीपूर्ण खेल खेलेका थिए । एकजनाले दुई खेल खेले भने अर्का एकजनाले एक खेलमात्र खेलेका थिए । ‘एक दिनमा बिहान र बेलुका गरी दुई खेल खेलाइएको थियो । त्यसमा हामी सातजनाबाहेक अन्य नौजनामध्ये दुईले मात्रै खेले ।

एकजनाले दुई खेल र अर्का एकले एक खेलमात्र खेले’, उनले भने, ‘अहिले जापानमै रहेका पूर्वराष्ट्रिय खेलाडी राजकुमार प्रधान र अन्य उतैका खेलाडीले पनि हाम्रो टोलीबाट खेलेका थिए ।’

खेलाडी भन्दै टोलीसँग गएका नौजनालाई आफूहरूले नचिनेको ती खेलाडीले बताए । ‘उनीहरूलाई हामीले त्यसअघि कहिल्यै देखेका थिएनौं । एउटै टोलीको ड्रेस लगाएर गए पनि उनीहरू को हुन् भन्ने हामीमध्ये कसैले थाहा पाएनौं ।

ती नौजनासँग जापान पुग्दासम्म पनि हाम्रो बोलचाल भएन’, उनले भने, ‘हामी सातजना खेलाडी पहिले नै विमानस्थल पुगेका थियौं । अन्य खेलाडीबारे सोध्दा आउँदैछन् भन्ने जबाफ पायौं । केही समयपछि जिउडाल नै नमिलेकाहरूलाई खेलाडी भनेर हाम्राअगाडि ल्याइएको थियो ।’

पछिल्लो समय नेपाली क्रिकेटको नियमनकारी निकाय नेपाल क्रिकेट संघ (क्यान) नै आईसीसीबाट निलम्बनमा परेपछि आलोचित बनेको नेपाली क्रिकेटसँग जोडिएर सार्वजनिक भएको पछिल्लो घटनाप्रति खेलाडीहरूसमेत गम्भीर देखिएका छन् ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्कालगायत खेलाडीले पछिल्लो समय जापान गएर फर्किएका सातजना खेलाडीसँग उक्त विषयमा छलफल गरिरहेका छन् । उनीहरूले जापानमा भएको मैत्रीपूर्ण खेलमा कप्तानको भूमिका निर्वाह गरेका सिद्धान्त लोहनीलगायत खेलाडीसँग लिखित जबाफसमेत लिइसकेका छन् ।

खेल्न भनेर जापान गएका अन्य नौजना हामीसँग फर्किएनन् । 

आईसीसीका एसिया हेर्ने विकास निर्देशक बन्दुला वार्नपुराले सोही विषयमा नेपाली खेलाडीसँग स्पष्टीकरण सोध्न राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटालाई निर्देशन दिएका छन् । सोहीअनुसार खेलाडीसँग लिखित जबाफ मागिएको बताइएको छ । क्यान निलम्बनमा परेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापक तोकिएका बन्दुला नेपाली टोली हेर्ने आईसीसीका विशेष प्रतिनिधि पनि हुन् ।

‘बर्नापुराले जापान खेल्न गएका खेलाडीसँग प्रशिक्षकको हैसियतमा स्पष्टीकरण सोध्न निर्देशन दिएका छन्’, टमाटाले भने, ‘त्यसअनुसार नै सम्पर्कमा आएका केही खेलाडीसँग स्पष्टीकरण सोधिसकिएको छ र अन्यसँग पनि सोधिनेछ ।’

यसैगरी खेलकुदमन्त्री दलजित श्रीपालीले समेत उक्त घटनाबारे उजुरी आएकाले त्यस सम्बन्धमा आफूले आन्तरिक छानबिन सुरु गरेको बताएका छन् । ‘खेलाडीका नाममा केहीलाई जापान लगेर छाडिएको भन्ने सूचना मैले पाएको छु । त्यसबारे उजुरीसमेत आएको छ’, मन्त्री श्रीपालीले अन्नपूर्णसँग भने, ‘त्यो घटनामा विशेष अनुसन्धान हुन्छ र सत्यतथ्य पत्ता लगाई संलग्नमाथि कडा कारबाही गरिनेछ । खेलकुद भनेको मानवतस्करी गर्ने अखडा होइन ।’

जापानमा खेलाडीले बेस्ट फुटबल क्रिकेट (एफसी) काठमाडौं क्लबकै जर्सी लगाएर खेलेका थिए । उक्त क्लबका प्रतिनिधि सुन्दर थापाले भने टोलीसँग नफर्किएका नौजनाका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।

ती नौजनालाई आयोजकले नै जापान लगेको दाबी पनि उनले गरे । ‘जापान क्रिकेट संघका पदाधिकारीले मसँग कुरा गरेका थिए । सोहीअनुसार हामीले राष्ट्रिय टोलीका सात खेलाडी लिएर गएका थियौं । हामी प्रतियोगिता खेलेर पाँच दिनमै फर्कियौं’, उनले भने, ‘तर अन्यबारे हामीलाई जानकारी छैन । उनीहरू आफ्नै तरिकाले गएका हुन् ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.