वार्षिक साढे १३ सय पर्यटक अध्यागमन अपराधमा
काठमाडौंः नेपाल आएका विदेशी पर्यटकमध्ये एक वर्षको अवधिमा मात्रै १३ सय जनाभन्दा बढी अध्यागमन अपराधमा संलग्न रहेको फेला परेको छ । पर्यटक भिसामा नेपाल भित्रिएका १३ सय ५९ जना विदेशी विभिन्न प्रकारका अपराधमा संलग्न रहेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले जानकारी दिए ।
पर्यटकको आवरणमा आउने र यहाँ आएर विभिन्न गैरपर्यटकीय गतिविधि गर्नेको संख्या आर्थिक वर्ष २०७२/७३ मा मात्रै साढे १३ सय जना रहेको तथ्यांकले देखाउँछ । यस्तो अपराध गर्नेको संख्या अघिल्लो वर्षको तुलनामा अझै केही प्रतिशत घटेको हो ।
विभागका अनुसार कानुनले नगर्नु भनेका गतिविधि गरेका र गर्नु भनेको कार्य नगरेका विदेशीलाई अध्यागमन अपराध अन्तर्गत वर्गीकरण गरेर कारबाही गरिन्छ । अध्यागमन कानुनको उल्लंघन गरेका विदेशी नागरिकलाई सामान्यदेखि नेपालबाट निष्काशनसम्मको कारबाही गरिएको विभागले जानकारी दिएको छ ।
विभागमा विदेशी नागरिक तथा पर्यटक विरुद्ध परेको उजुरीको संख्या ६ सय ६१ जना छ । नक्कली राहदानी प्रयोग गर्नेदेखि कतव्र्य ज्यानसमेतका मुद्दाको तथ्यांक पनि ६ सय जना रहेको विभागले जानकारी दिएको छ ।
४५ जना गम्भीर अपराधमा संलग्न
विभागको तथ्यांकअनुसार एक वर्षमा ४५ जना विदेशी नागरिक पर्यटक भिसामा नेपाल प्रवेश गरेर गम्भीर प्रकृतिको अपराधमा संलग्न भएका छन् । कर्तव्य ज्यान मुद्दा, लागूऔषध कारोबार, वन्यजन्तु ओसारपसार, मानव बेचबिखनलगायतका अपराध गरेका विदेशीको संख्या एक वर्षमा ४५ जना पुगेको छ । यस्तो अपराधमा लागेका विदेशीलाई विभागले नेपालबाट कानुनअनुसार कारबाही गर्नेदेखि नेपालबाटै निष्कासन गर्नेसम्मका कारबाही गरेको छ ।
विभागका अनुसार गत एक वर्षभित्र जाली राहदानी र जाली भिसाको आरोपमा ७१ जना विदेशीलाई अदालतमा मुद्दा चलाइएको छ । अदालतमा पेस भएको मुद्दाको संख्या एक सय ७४ छ । तामेलीमा रहेका विदेशीको मुद्दा एक सय ७२ र विना भिसा नेपाल बसेर ओभरस्टे भएका दुई ३६ जना विदेशी नागरिकलाई नेपालबाट फिर्ता पठाएको वभागको तथ्यांकले देखाएको छ ।
नेपालमा आएर आपराधिक गतिविधि गर्ने विदेशी नागरिकलाई जहाँ घट्ना भएको छ सोही स्थानमा मुद्दा चलाइने महानगरीय प्रहरी महाशाखा टेकुका प्रहरी नायव उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । उनका अनुसार एक साता अगाडि मात्रै ठमेलमा एक विदेशी नागरिक बलत्कारको अभियोगमा समातिएकोले उनको महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेमै मुद्दा चलिरहेको छ ।
नेपालमा आएर जे पनि गर्न पाइन्छ भन्ने गलत मानसिकता भएका व्यक्ति अपराधमा लाग्ने गरेको अध्यागमन विभागको बुझाइ छ । विदेशीको गैरकानुनी गतिविधिलाई निरुत्साहित गर्न अध्यागमन भिसामा नै नेपाल आउनुको उद्देश्य खुलाउने व्यवस्था गर्न सकिने पर्यटन विभागका महानिर्देश सुदर्शन ढकालको बुझाइ छ ।
उनका अनुसार अध्यागमन कानुनको अभावमा गैरपर्यटकीय गतिविधि रोक्न नसकिएको हो । हाल नेपालमा पर्यटक भिसा सहजै दिने गरिएको छ । अन्य भिसाको झन्झटिलो प्रक्रियाका कारण पनि विदेशीले पर्यटक भिसा रोज्ने गरेका छन् ।
यस्ता पर्यटक आउँछन् नेपाल
नेपाल आउने विदेशी पर्यटक कम खर्चमै सामान्य घुमघाम गर्नेदेखि पर्वतीय पर्यटनमा गएर राम्रो खर्च गर्नेसम्म आउने गरेका छन् । नेपाल आउने विदशी पर्यटक सबै आफ्नो उद्देश्य र गन्तव्य तय गरेर आउछन् ।
विदेशीले आफ्नो बजेट अनुसारका पर्यटकीय प्याकेज लिने र खर्च गर्ने गरेको सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष यमबहादुर खड्काले बताए ।
उनका अनुसार दैनिक न्युनतम १० डलर मात्रै खर्च गर्नेदेखि हजार डलर पनि खर्च गर्ने पर्यटक आउने गरेका छन् । नेपालमा १० डलरदेखि नै कोठा पाइने र दुई सय रुपैयाँमा खाना पाइने भएकोले पनि पर्यटकको खर्च यति नै हुन्छ भनेर भन्न सकिदैन । सरकारले पनि खर्चको आधारमा पर्यटकको वर्गीकरण गर्ने गरेको छ ।
पर्वतीय पर्यटनमा जाने तथा हिमाल आरोहणमा जाने विदेशीले भने २०/३० हजार डलर खर्च गर्नु सामान्य भएको पर्यटन व्यवसायीको भनाइ छ ।
विवाह गर्न आउनेलाई एक वर्षको भिसा
वार्षिक ११ सय विदेशी नागरिक विवाह गर्नकै लागि नेपालमा आउने गरेका छन् । विभागबाट विवाह गर्ने उद्देश्य राखेर आउने विदेशीको संख्या गत वर्ष ११ सय ४० जना रहेको विभागको तथ्यांक छ ।
विभागका महानिर्देशक न्यौपानेका अनुसार विवाह गर्न आउनेलाई एक वर्षका भिसा दिने गरिएको छ । ‘विवाह सानो कारणले पनि रोकिने र नेपालमा साइत पनि हेर्ने प्रचलन रहेकोले एक वर्षको भिसा दिइएको हो’, न्यौपानेले भने ।
नेपाल घुम्न आउने पर्यटकलाई भने तीन महिनाको मात्रै भिसा दिने गरिएको छ । विभागले विदेशीलाई नेपाल आउँदा दिने भिसाको विभिन्न १० वटा प्रकार रहेको छ ।
आर्थिक वर्ष २०७२/०७३ मा पाँच लाख ८६ हजार सातसय जना विदेशी नेपाल आएकोमा विमानस्थलमा लाग्ने अन अराइभल भिसा, डिप्लोम्याटिक भिसा, सभा/सेमिानारसहित अन्यको विवरण बाहेक औपचारिक रूपमा निवेदन दिएर आउनेको संख्या एक लाख ६३ हजार रहेको विभागको भनाइ छ ।