जुँगा कथा
सेलिब्रेटी ब्यांकर अनिल शाह केही समययता सलक्क परेको चुच्चे जुँगामा देखिन्छन् । नोभेम्बर महिनालाई 'नो सेभिङ मन्थ'का रूपमा मनाइन्छ । यो महिनाभरि दाह्री काट्दा खर्च हुने रकम क्यान्सरपीडितको सहयोगार्थ प्रदान गरिन्छ । एक महिना दाह्रीजुँगा नकाटेका अनिललाई केही समय अझै दाह्रीजुँगा काट्न अल्छी लाग्यो । सबै चिज रूपान्तरण हुँदैछन् ।
हाम्रा पुराना राम्रा कुराहरू पनि बिर्संदै गएका छौं । उनले आफ्ना हजुरबुवाहरू र पृथ्वीनारायण शाहलाई सम्झिए । उनीहरूको झपक्क परेको जुँगा देखेर जुँगाको स्याहार गर्न थाले । सलक्क परेको राम्रो बनाउन जुँगामा 'वाक्स' प्रयोग गर्न थाले । भन्छन्, 'अब त काट्छु भन्दा पनि आफ्नै परिचय हराउँछ कि जस्तो लाग्न थाल्यो ।'
काट्न अल्छी लागेर हो या जुँगाकै रहर भएर हो, युवा पुस्तामा छेउछेउमा चुच्चो पारेको कालो जुँगाको फेसन नै चलेको छ । होचो कदका लिथोग्राफी कलाकार कविराज लामाले पनि केही समयदेखि जुँगा स्याहारिरहेका छन् । मंगोलियनहरूका लागि प्रायः दाह्रीजुँगा रहरैमात्र हुने गर्छ । बीचको भाग खाली भए पनि छेउछेउमा आएको जुँगालाई बटारेर रहर सोख पुरा गरेका छन् ।
परिपक्व देखिन पनि उनलाई जुँगाको लोभ लागेको हो । 'जुँगा भएपछि परिपक्व मान्छे भनेर काम पनि छिटो गरिदिन्छन् ।' उनले भने, 'आफैं परिपक्व भएजस्तो फिल गर्छु ।' उनका नजिकका मान्छेहरू धेरैले यो जुँगा मन पराएका छन् । कति ठाउँमा त 'उ जुँगे आयो' पनि भन्छन् । उनलाई जुँगामै ठाँटिन मन पर्न थालिसकेको छ । भर्खरै जुँगे अनुहारको परिचय बन्दै गइरहेको बेला छिट्टै जुँगा काट्ने योजना बनाएका छैनन् ।
गायक युवराज चौलागाईं जुँगे लुकमा जमिरहेका छन् । उनको स्वरसँगै जुँगे लुकको फ्यान पनि बढिरहेका छन् । गायक युवराज चौलागाईं एक वर्षदेखि जुँगे लुकमा छन् । पुरुषहरू आफ्नो शानको रूपमा घमण्ड गर्दै जुँगा मठार्ने गर्छन् । तर युवराजलाई जुँगामात्र होइन, अरू कुनै कुरामा पनि घमण्ड छैन । फरक र स्टाइलिस देखिने रहरमा धेरैले जुँगा पालेका छन् । युवराजको पनि यो बेग्लै स्टाइल हो ।
बाबाले जुँगा पालेको साह्रै मन पराउने उनलाई आफ्नो जुँगा पनि त्यस्तै बनाउन मन लाग्यो । जुँगाले खान माग्दैन । त्यसैले हुर्काउन गाह्रो छैन । आफैं आउने जुँगालाई यसो बटारेपछि स्टाइलिस देखिइहाल्छ । कहिलेकाहीँ जुँगा काटिहाले भने पनि उनका शुभचिन्तकहरू जुँगा पाल्न अनुरोध गर्छन् । विशेषगरी महिला शुभचिन्तकले उनको जुँगा साह्रै मन पराउँछन् रे । भन्छन्, 'धेरैले सुहायो भन्छन्, अब त यही रूप नै मेरो परिचय बनिसक्यो ।'
जुँगाका थुप्रै स्टाइल छन् । नोभेम्बरमा जुगाको स्टाइल बढी खोजी हुन्छ । अमेरिकन स्टाइलमा लामो जुँगा धेरै देखिन्छन् भने फ्रेन्च स्टाइलमा नाकको तल छोटा जुँगाहरू देखिन्छन् । चाइनिजमा पेन्सिल स्टाइल जुँगा चलनमा छ ।
हास्यकलाकार चार्ली च्याप्लिन र हिटलर फ्रेन्च स्टाइल जुँगाबाट चर्चित छन् । नेपालमा लङ सेप जुँगा बढी चलनमा छ । जुन हाम्रै पुर्खाको स्टाइल भएको जुँगा पाल्नेहरू बताउँछन् । पुराना राजाहरूका तस्बिरमा पनि छेउमा बटारिएका लामा जुँगा देखिन्छन् ।
जुँगा पाल्ने आफ्नै तरिका र सोख हुन्छ । भारत जयपुरका रामसिंह चौहानले सात फिट लामो जुँगा पालेर सन् २०१० मा विश्वकै सबैभन्दा लामो जुँगा भएको मानिसका रूपमा कीर्तिमान राखे । उनले सन् १९८२ देखि जुँगा पाल्न सुरु गरेका हुन् ।