टिम्स रकम भागबन्डा विवाद
पोखराः पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बाट संकलन भएर पर्यटन बोर्डमा थन्किएको रकम सदुपयोग गर्ने निकास निकाल्न सरोकारवाला सहमत भएका छन् । टिम्स संकलन गरिरहेको टे«किङ एजेन्सिज अफ नेपाल (टान), बोर्ड र पर्यटन विभागका अधिकारीले नीतिगत प्रस्टता कायम गरी रकम सदुपयोगमा लाग्न सहमत भए ।
२०६६ चैतदेखि पदमार्ग क्षेत्रमा टिम्स लागू छ । पदयात्रामा जाँदा समूहमा जानेले प्रतिव्यक्ति एक हजार र व्यक्तिगत रूपमा दुई हजार रुपैयाँ तिर्नुपर्छ । पर्यटकको सूचना व्यवस्थित गर्ने, पर्यटन मजदुरको हितमा खर्च गर्ने र गन्तव्य प्रवद्र्धन गर्ने उद्देश्यले टिम्सकार्ड लागू गरिएको हो । पदयात्रामा जाने प्रत्येक पर्यटकले बोर्ड र टानमा यो कार्ड किन्न पाउँछन् ।
टिम्सबाट संकलित रकम टान र बोर्ड मिलेर खर्च गर्ने समझदारी छ । तर, २०७० साउनयता आफ्नो भागको पैसा नपाएको गुनासो टानले गर्दै आएको छ । टिम्सबाट संकलितमध्ये ३० प्रतिशत टानले, ३० प्रतिशत बोर्डले र ३० प्रतिशत दुवैले मिलेर खर्च गर्ने समझदारी छ । १० प्रतिशत भने मजदुर हितमा खर्चने समझदारी छ ।
टिम्सबाट संकलित रकम टान र बोर्ड मिलेर खर्च गर्ने समझदारी छ । तर, २०७० साउनयता आफ्नो भागको पैसा नपाएको गुनासो टानले गर्दै आएको छ ।
यसरी पाउनुपर्ने मध्येको पैसा नपाएको टानको गुनासो हो । पैसाको अभावले घाइते मजदुरलाई खर्च दिन नसकेको टान केन्द्रीय सदस्य तथा टिम्स संयोजक तारानाथ लामिछानेले बताए ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले टानमा देखिएको बेरुजु छानबिनबाट टुंगो नलाग्दासम्म रकम नदिन अख्तियारबाट निर्देशन आएअनुसार पैसा रोकिएको जानकारी दिए । ‘तर कर्मचारीलगायत शीर्षकमा खर्च गर्न हालै डेढ करोड रुपैयाँ दिइएको छ’, उनले भने ।
टानका अघिल्ला कार्यसमितिबाट भएको खर्चमध्ये लगभग १४ करोड रुपैयाँ महालेखा परीक्षकले बेरुजु देखाएको जानकारी बोर्डका वरिष्ठ सहायक प्रबन्धक नवीन पोखरेलले दिए । समझदारीभन्दा भिन्न शीर्षकमा खर्च देखिँदा टानको व्यय बेरुजुमा गएको छ ।
टानका अध्यक्ष चन्द्र रिजालले भने बेरुजु अघिल्ला कार्यसमितिबाट देखिएको हुँदा जोजससँग सम्बिन्धित हो उनीहरूमाथि नै राज्यले छानबिन गरी नयाँ समितिलाई पैसा निकासा गरिदिनुपर्ने बताए । ‘राज्यको पैसाको हिसाबकिताब छानबिन गर्ने निकाय हामी होइनौं’, उनले भने ।
टान पश्चिमाञ्चल च्याप्टर अध्यक्ष रामचन्द्र शर्माले पनि टिम्सको पैसा नआएकैले पदमार्ग क्षेत्रमा टानले चाहेजति प्रवद्र्धनात्मक कार्य गर्न नसकेको बताए ।
पर्यटन विभागका महानिर्देशक सुदर्शन ढकालले पर्यटक सूचना व्यवस्थापनबाहेकमा खर्च गर्ने हो भने टिम्स खारेजै गर्दिए हुने विचार व्यक्त गरे । ‘टिम्स कोषको पैसा खर्च गर्दा टिम्सको मुख्य उद्देश्यप्राप्तिका लागि हुनुपर्छ, टान पदाधिकारीलाई विदेश घुम्न होइन’, उनले भने ।
यस विषयमा छलफल गर्न पोखरामा आयोजित अन्तक्र्रियामा एमाले नेता सूर्य थापाले इच्छाशक्ति र जाँगरकै अभावमा धेरै काम हुन नसकेको टिप्पणी गरे । टिम्सकै बारेमा धेरै अघिदेखि समस्या देखिए पनि अहिलेसम्म नसुल्झनुलाई उनले अकर्मण्यता बताए ।
ऐन नियम, कार्यविधि केके बनाउनुपर्ने हो बनाएर निकास निकाल्नुपर्छ’, उनले भने । कांग्रेस नेता गोविन्द भट्टराई र माओवादी केन्द्रका नेता लोकेन्द्र बिष्टले पनि समस्या समाधान गर्न आफ्नो पार्टीका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । टिम्सबारेको समस्या लम्ब्याउनुभन्दा दुवै पक्ष बसेर मिलाउनुपर्ने नेपाल पर्यटन बोर्डका कार्यकारिणी सदस्य कृष्ण अर्यालले बताए ।