सर्वोच्चले झिकायो लोकमान नियुक्तिको सक्कली फाइल
काठमाडौं : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्ति गर्दाको सक्कली फाइल झिकाएको छ।
२०६२ र ६३ सालपछि सरकारले कार्कीलाई सोधेको स्पष्टीकरणको सक्कल कागज पनि माग गरेको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिए।अख्तियार प्रमुखमा कार्कीको नियुक्ति विरुद्धको रिट खारेज गर्ने आफ्नै फैसला पुनरावलोकन गर्न अनुमति दिने कि नदिने निर्णय गर्नुअघि सर्वोच्चका न्यायाधीशत्रय दीपक कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले सरकार र सामान्य प्रशासन मन्त्रालयसँग सक्कल कागज शुक्रबार माग गरेको हो।
’तत्कालीन मुख्य अधिकृत (मुख्य सचिव) श्री लोकमान सिंह कार्कीलाई स्पष्टीकरण पेस गर्ने सम्बन्धमा लेखिएको सामान्य प्रशासन मन्त्रालयको २०६३ चैत ११ को पत्रसहितको सक्कल फायल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट उनलाई आयोगको प्रमुख आयुक्त नियुक्त गर्नेसम्बन्धी निर्णयको सक्कल फायल झिकाई आएपछि कानुनबमोजिम गर्नू भन्ने बेहोराको आदेश छ,’ प्रवक्ता सुवेदीले भने।