भक्तपुरमा स्थानीय तह परिवर्तन नगर्न दबाब

भक्तपुरमा स्थानीय तह परिवर्तन नगर्न दबाब

भक्तपुरः भक्तपुरमा स्थानीय तह पुनर्संरचना परिवर्तन नगर्न दबाब परेको छ । जिल्लामा क्रियाशील बहुमत राजनीतिक दलहरुले जिल्लाको मौजुदा स्थानीय तहलाई यथावत राख्ने निर्णग गरेसँग यस्तो दबाब परेको हो ।

दुई वर्षअघि गाउँ विकास समितिविहीन बनेको भक्तपुरमा अहिले ६ वटा नगरपालिका रहेका छन् ।

दुई वर्षअघि नगरपालिका घोषित क्षेत्रका जनताले नगरपालिकाको अनुभूति नै गर्न नपाई पुनः नयाँ संरचना गरिँदा जनतामा राम्रो सन्देश नजाने भन्दै नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल, राप्रपा र जनमोर्चाले मौजुदा स्थानीय तहमा परिवर्तन नगर्ने निर्णय गरेका हुन् ।

उनीहरुले भक्तपुर देशकै सानो जिल्ला भएकाले भूगोललाई बेवास्ता गर्दै जनसंख्या र सूत्रलाई मात्रै आधार मानेर स्थानीय तह पुनर्संरचना नगर्न चेतावनीसमेत दिएका छन् ।

स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति भक्तपुरद्वारा शुक्रबार आयोजित जिल्लास्तरीय कार्यशाला गोष्ठीमा समेत उनीहरुले एकैस्वरमा भने, ‘मौजुदा ६ वटा नगरपालिकाकै स्थानीय तह उपयुक्त छ ।’

उनीहरुले यसैलाई जिल्लाको सर्वसम्मत निर्णयको रुपमा पठाएर आयोगको स्थानीय तह पुनर्संरचनासम्बन्धी निर्णय र मापदण्डमा पुनर्विचार गर्नसमेत अनुरोध गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसभापति एवम् जिल्ला विकास समिति प्रतिनिधि गणेशमान चक्रधर, एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथला, माओवादी केन्द्रका भक्तपुर संयोजक डीपी ढकाल, राप्रपा नेपालकी केन्द्रीय सदस्य युवती कार्की, राप्रपाका जिल्ला अध्यक्ष रामशरण लामिछाने र जनमोर्चाका भक्तपुर अध्यक्ष शिवहरि खनालले नयाँ घोषित नगरपालिकाका जनताले नगरपालिकाको अनुभूति नै गर्न नपाई फेरि पुनर्संरचना गरिँदा दलहरुको असफलता र अदूरदर्शितामात्रै पुष्टि हुने स्पष्ट पारे ।

नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष रमेश थापाले भने नेमकिपा तत्काल स्थानीय तहको पुनर्संरचना गर्ने पक्षमा नरहेको जानकारी दिए ।
उनले जनस्तरसम्म नपु¥याइकनै स्थानीय तह पुनर्संरचना गरिन खोजिएको भन्दै आपत्ति जनाए ।

त्यस्तै नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य राष्ट्रशमशेर थापाले भक्तपुरलाई सिंगो उपमहानगरपालिका बनाउनुपर्ने आफ्नो पार्टीको निर्णय रहेको बताए ।
उनले भक्तपुरको समानुपातिक विकास गर्न र जिल्लाकै स्रोतसाधनको अधिकतम प्रयोग गर्न सिंगो जिल्ला एउटा उपमहानगरपालिका बनाउनुपर्ने तर्क प्रस्तुत गरे ।

कार्यक्रममा सहभागी अधिकांश पूर्व गाविसअध्यक्ष एवं जनप्रतिनिधिहरुले पनि हालकै ६ वटा नगरपालिकाको संरचनालाई कायम राख्नुपर्ने धारणा राखेका थिए । हालको संरचना परिवर्तन गर्नैपर्ने भए भक्तपुर र मध्यपुर थिमिलाई यथावत राखी नयाँ बनेका चाँगुनारायण र नगरकोट तथा सूर्यविनायक र अनन्तलिंगेश्वर नगरपालिकालाई गाभेर दुई गरी चारवटा नगरपालिकाको पुनसंरचनामा जानुपर्ने उनीहरुको भनाइ थियो ।

समितिका संयोजक भक्तपुरका स्थानीय विकास अधिकारी ध्रुबप्रसाद कोइरालाले जिल्लाका ६ वटै नगरपालिकामा गरिएको कार्यशालामा पनि हालकै मौजुदा ६ वटा नगरपालिकालाई नै यथावत राख्नुपर्ने बढी माग भएको जानकारी दिए ।

उनले जिल्लाभर गरिएका कार्यशाला र स्थानीय राजनीतिक दलहरुले दिएको संस्थागत निर्णयको आधारमा आयोगमा प्रतिवेदन दिने बताए ।

आयोगलाई भाद्र १५ गतेभित्र जिल्लाको अन्तिम प्रतिवेदन बुझाउनुपर्ने म्याद रहेको छ ।

साविककै अवस्थामा स्थानीय निर्वाचन : बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय तहको पुनर्संरचनामा नअल्झेर तत्काल स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन् ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति भक्तपुरद्वारा शुक्रबार आयोजित जिल्लास्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले स्थानीय तहको पुनर्संरचनामा अल्झेर बसे चैत पनि स्थानीय निर्वाचन नहुने बताएका हुन् ।

उनले स्थानीय निर्वाचन रोक्ने षड्यन्त्रमूलक ढंगले स्थानीय तह पुनर्संरचनाको कार्य अघि बढाइएको आशंका व्यक्त गरे । ‘स्थानीय तहको पुनर्संरचना एकदुई वर्षमा सकिँदैन’, अध्यक्ष बिजुक्छेले भने, ‘यो स्थानीय निर्वाचन नगर्ने षड्यन्त्रले प्रेरित छ ।’

उनले जनताका दैनिक समस्यालाई कसरी सम्बोधन गर्ने र विकास निर्माणलाई कसरी तीव्र बनाउने भन्ने आधारमा स्थानीय तहको पुनर्संरचना हुनुपर्ने सुझाव दिए ।

अमेरिका, सोभियत संघ, उत्तर र दक्षिण कोरिया, भारत र पाकिस्तान तथा युरोपका विभिन्नमा देश टुक्रिँदा गरिएको सीमांकनबारे जानकारी दिँदै अध्यक्ष बिजुक्छेले नेपालमा स्थानीय तहको सीमांकन र नामाकरण आफ्नै मौलिक हुनुपर्ने स्पष्ट पारे ।

उनले विदेशी दाताहरुले सहयोग गर्ने नाउँमा स्थानीय तहको पुनर्संरचना गरिनु गलत भएको तर्क गरे । ‘विदेशीको कुरा सुनेर हुँदैन’, अध्यक्ष बिजुक्छेले भने, ‘हाम्रै देशभित्र दसपटक सोचौं, छलफल गरौं र निष्कर्षमा पुग्यौं ।’

कार्यक्रममा साँसदहरु प्रेम सुवाल, रामेश्वरप्रसाद ढुंगेल, केदार सञ्जेल र अनुराधा थापामगर तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले दलहरुको साझा सहमतिको आधारमा भक्तपुरको समग्र आर्थिक विकास र समृद्धि हुने हिसाबले अघि बढ्नुपर्ने धारणा राखे ।

उनीहरुले जिल्ला र जिल्लामा रहेका विभिन्न भाषाभाषी, जातजाति, क्षेत्रलगायतको पहिचान र सामथ्र्यको ख्याल गरेर मात्रै स्थानीय तहको पुनर्संरचना गर्नुपर्नेम जोड दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.