मुग्लिनको बाटो ज्यान सधैं धरापमा

मुग्लिनको बाटो ज्यान सधैं धरापमा

कालीखोला चितवनः नारायणगढबाट मुग्लिनसम्म आउने ३६ किलोमिटर सडकखण्ड जहिल्यै असुरक्षित र साँघुरो त छँदैछ । त्यहीमाथि विस्तारका नाममा सडक विभागले यो सडकको जुन हविगत बनाएको छ, यात्रुहरू हरेक क्षण ज्यान धरापमा राखेर हिँड्न बाध्य छन् ।

चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार साँघुरो सडक, धेरै खाल्डाखुल्डी र पेटी नभएका कारण नारायणगढ–मुग्लिन सडकको कालीखोलाखण्ड निकै जोखिमपूर्ण छ । ‘दुर्घटना भएको बस खसेको ठाउँमा सडक साँगुरो छ । खाल्डाखुल्डी धेरै छन् । त्यही ठाउँमा प्याराफिट पनि छैन’, उनले अन्नपूर्णसँग भने, ‘कि ड्राइभर झुक्किएर खस्यो कि निदायो भन्ने अनुमान गर्न सकिन्छ । ' ड्राइभरकै मृत्यु भएकाले बस दुर्घटनाको अनुसन्धानमा कठिनाइ भएको छ ।

घटनास्थल पत्ता लगाउन र उद्धारका लागि धेरै लागेको मुग्लिन इलाका प्रहरी कार्यालयका इन्चार्ज योगबहादुर हमालले बताए । ‘नदीको किनारबाट एकजना यात्रुले फोन गरेका थिए तर कहाँ हो कहाँ ? रातिको बेला कसरी थाहा पाउने ? ’ हमालले भने, ‘चारफेर ओहोरदोहोर गरियो होला घटनास्थल पत्ता लगाउन । बल्लतल्ल फेला त पारियो । रातिको बेला नदीकिनारमा कसरी झर्ने, पानी परिरहेको थियो । नदी बढिरहेको थियो ।’

धेरै चुनौती सामना गरेर घाइतेको उद्धार गरेको उनले बताए । साढे तीन बजे यात्रु रितेशकुमार ठाकुरले प्रहरीलाई जानकारी गराए पनि उद्धारको काम भने साढे चार बजेपछिमात्र भएको उनले बताए ।

सधैं दुर्घटनाका साक्षी

सोही ठाउँमा यसअघि पनि पटकपटक दुर्घटना भइरहेको कालीखोलामा चिया पसल गरेर बस्ने मोती गुरुङ बताउँछिन् । सोही ठाउँमा एक महिनाअघि प्रहरीको मोटरसाइकल खसेको र सिमेन्ट बोकेर आइरहेको एउटा ट्रक पनि खसेको उनले बताइन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड ज्यादै जीर्ण भएकाले दुर्घटना भइरहने उनको भनाइ छ । ‘सधैं एक्सिडेन्ट भइरहन्छ । हामी मान्छे मरेको, घाइते भएको, बेपत्ता भएको साक्षी बसिरहेका छौं’, उनी भन्छिन्, ‘कहिले पो बाटो राम्रो हुने हो अनि मान्छे मरेको साक्षी बस्नु नपर्ने हो ।’ १० वर्षदेखि यस्ता दुर्घटना दर्जनौं भोगिरहेको उनको भनाइ छ ।

मुग्लिन-नारायणगढ सडकखण्डमा सधैंजसो यस्ता घटना भइरहने मुग्लिनका विनोद श्रेष्ठले बताए । कुनै यात्रु मर्ने रहरले यात्रा नगर्ने भन्दै उनले दिनहुँजसो यात्रु मरेको आँखैअगाडि देखिरहनु परेको गुनासो गरे । ‘सबै यात्रु न मर्न यात्रा गरेका हुन्छन्, न त सकसपूर्ण यात्रा गर्न चाहेर यात्रा गरेका हुन्छन् । तर यो सडकखण्ड ज्यादै असुरक्षित भयो ।

यहाँ धेरैजसो दुर्घटना भइरहेको हुन्छ । यात्रु मरिरहेको, घाइते भइरहेको देख्नुपर्छ । सुन्नुपर्छ । यो सडकमा यस्ता घटनाको साक्षी बस्ने दिनको कहिले अन्त्य होला ? ’ यात्रुलाई सुरक्षित यात्राको ग्यारेन्टी दिन सक्नुपर्ने उनको भनाइ छ । तर अहिले सडकको स्तरोन्नतिका नाममा लामो समयदेखि बाटो झन् जीर्ण बनाइएको, यात्रुलाई कष्टकर यात्रा गर्न बाध्य पारिएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.