इन्टरनेटको २५ वर्ष
यही मंगलबारदेखि इन्टरनेट २५ वर्षे लक्का जवान भएको छ । २५ वर्षे केटौले उमेरमा यसले मानव संसारमा खेलेको भूमिका भने अतुलनीय छ । आज इन्टरनेटकै कारण संसारको आयतन साँघुरिएको छ । सञ्चार सहज भएको छ । सम्भावनाका अनेक द्वारहरू खुलेका छन् । दैनिक जीवनयापनदेखि वित्तीय अभ्यास र राजनीतिक वृत्तमा इन्टरनेटले खेलेको भूमिकालाई सीमित शब्दले व्याख्या गर्न असम्भवप्रायः छ ।
विद्युत चुम्बकीय तरंगमार्फत संसारभर छरिएका सूचनाहरू र हातहातमा बोक्न मिल्ने ल्यापटप र मोबाइलजस्ता उपकरणहरूले इन्टरनेटको साम्राज्य निर्माण गरेको छ । हो, साम्राज्य किनभने इन्टरनेटबिनाको संसार अब अकल्पनीय भइसकेको छ । महिनौं लगाएर आउने चिठीको प्रतीक्षामा बस्ने पुस्ता आफ्नो जीवनको उत्तराद्र्धमा परदेश बस्ने नातिसँग भिडियो च्याट गर्ने भएको छ । इन्टरनेटकै माध्यमबाट सूचना आज सर्वव्यापी भएको छ ।
संसारको जुनसुकै कुनामा भएका घटनाको सूचना आज मिनेटभरमा संसारभर फैलिन थालेको छ । कुनै पनि घटनाप्रति इन्टरनेटकै माध्यमबाट दिइने प्रतिक्रियाहरूले निकै चर्को दबाब सिर्जना गर्न थालेका छन् । २५ वर्षे जीवनमा इन्टरनेटले पाएको सफलता सायद प्रविधिकै दुनियाँमा अनौठो घटना हो ।
इतिहास
सन् १९९१ अगस्ट २३ देखि वल्र्ड वाइड वेब (डब्लूडब्लूडब्लू)मा आम सर्वसाधारणको पहुँच सुरु भएको थियो । यसको डिजाइन र सुरुवात गर्ने श्रेय सर टिम बर्नर्स लीलाई जान्छ । वल्र्ड वाइड वेब वा इन्टरनेटको विकास टिम बर्नर्स लीले स्विटजरल्यान्डको सीईआरएन ल्याबमा गरेका थिए ।
इन्टरनेट र वल्र्ड वाइड वेब फरक भएता पनि अचेल तिनलाई संयुक्त रूपमै बुझिन्छ । इन्टरनेटले नेटवर्कलाई जनाउँछ भने वल्र्ड वाइड वेबले उक्त नेटवर्कमा उपलब्ध हुने सूचनालाई जनाउँछ । हुन त इन्टरनेटको सुरुवात सर लीभन्दा धेरै पहिलेबाट भएको हो तर सर लीले यसको आधारभूत जग तयार पार्न सफल भए ।
सन् १९८० मा सर लीले हाइपरलिंकको धारणा निर्माण गरे । जसले विभिन्न विषयवस्तुलाई एउटै पेजमा समाहित गर्यो । त्यहीँ हाइपरलिंकमा आधारित भएर सर लीले हाइपर टेक्स्ट ट्रान्सफर प्रोटोकल (जसलाई इन्टरनेटको भाषामा एचटीटीपीले जनाइन्छ) निर्माण गरे ।
सन् १९९० मा सर लीले एचटीएमएल, यूआरएल, वेभ ब्राउजर, सर्भर र पहिलो वेब पेज पनि बनाए । तर यो पेज सीमित व्यक्तिको पहुँचमा मात्र थियो । यो वेभ पेज पहिलो पल्ट अगस्ट २३, १९९१ मा सबैको पहुँचमा पुर्याइएको थियो ।
फेरिँदो सञ्चार तरिका
आज संसारभर करिब ६० करोड वेभसाइटहरू छन् । सन् २०१६ को जुनसम्ममा फेसबुक प्रयोगकर्ताहरूको संख्या एक अर्ब ७१ करोड पुगेको छ । त्यस्तै हरेक दिन करिब ५० करोड ट्विट गरिन्छन् । करिब २ अर्ब ६० करोड मानिसले प्रत्येक दिन अनलाइन प्रयोग गर्छन् ।
मानिसहरू अघिल्लो पुस्ताले कल्पना पनि गर्न नसक्ने सूचना स्रोतसँग पहुँच स्थापना गर्न सफल भएका छन् । इन्टरनेट र सोसल मिडियाको विकासले हाम्रो काम गर्ने तरिका, जीवनशैली र हाम्रो सञ्चारको तरिका नै फेरिदिएको छ ।
आज संसारभर करिब ६० करोड वेभसाइटहरू छन् । सन् २०१६ को जुनसम्ममा फेसबुक प्रयोगकर्ताहरूको संख्या एक अर्ब ७१ करोड पुगेको छ । त्यस्तै हरेक दिन करिब ५० करोड ट्विट गरिन्छन् । करिब २ अर्ब ६० करोड मानिसले प्रत्येक दिन अनलाइन प्रयोग गर्छन् ।
कसैले सामाजिक सञ्जालहरूले मानिसलाई असामाजिक बनाइरहेको र भौतिक संसारबाट भर्चुअल संसारतर्फ लगिरहेको टिप्पणी गरिरहेको बताइरहँदा समाजशास्त्री ब्यारी वेलम्यानस्टेट्स भने फरक धारणा राख्छन् । भन्छन्, 'इमेल, म्यासेज, च्याटजस्ता अनलाइन सञ्चारले परम्परागत अफलाइन वा प्रत्यक्ष सञ्चारलाई विस्थापन गरेको छैन । यसको साटो यसले सम्पर्कको आयाम बढाएको छ ।'
इन्टरनेटले केवल सञ्चार र सम्पर्कको आयाममात्र बढाएको छैन । यसले नयाँनयाँ सम्बन्धको मौका पनि जुराएको छ । कहिल्यै नदेखेका, नचिनेका मानिसहरू भूगोलभन्दा पर गएर, देशका सीमाहरू नाघेर, फरकफरक संस्कृतिबीचमा पनि मित्रता कायम गरिरहेका छन् । सामाजिक सञ्जालको माध्यमबाट सम्बन्ध सिर्जेर घर, परिवार बसाएको उदाहरण अब नेपालकै लागि पनि नौलो रहेन ।
नेपाल टेलिकमले नोभेम्बर २०१५ मा प्रकाशित गरेको एक तथ्यांकअनुसार नेपालमै पनि ४४ प्रतिशतले इन्टरनेटको उपयोग गर्छन् । त्यसमध्ये अधिकांशले मोबाइलमार्फत इन्टरनेटको सुविधा उपयोग गर्छन् ।
शक्तिको नयाँ होडबाजी
इन्टरनेटले केवल सामाजिक सम्बन्ध र सञ्चारमात्र बढाएको छैन । इन्टरनेटकै माध्यमबाट अहिले अन्तर्राष्ट्रिय शक्तिहरूबीच होडबाजी पनि हुन थालेको छ । साइबर वार भनिने यस्ता भर्चुअल लडाइँहरूमा एकअर्कोका सूचना चोर्ने, सूचना संयन्त्र ध्वस्त पारिदिने गतिविधि हुन थालेका छन् ।
संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, जर्मन, चीन, फ्रान्स, रुस, इजरायल, दक्षिण कोरिया, इरान, भारतजस्ता देशहरू प्रमुख रूपमा साइबर वारमा संलग्न छन् । अमेरिकी सैन्य रणनीतिमै साइबर प्रतिरक्षा नीति लागू गरेको छ । यी देशहरूबीच एकअर्कोलाई साइबर आक्रमण गरेको आरोप–प्रत्यारोप बेलाबखत अन्तर्राष्ट्रिय न्युज रिलको विषय बनिआएका छन् ।
यसबाहेक स्नोडेनजस्ता ह्याकरहरूले इन्टरनेटकै माध्यमबाट चुहाइदिने 'गोप्य सूचना'हरू शक्तिशाली राष्ट्रहरूको लागि टाउको दुखाइ बनिआएका छन् ।
चुनौती
इन्टरनेटले यी २५ वर्षमा सिर्जना गरेका सम्भावनाहरू जत्ति आकर्षक छन् त्यति नै कठिन छन् चुनौतीहरू पनि । इन्टरनेटले मानवता ध्वस्त पारेको, मानिसलाई असामाजिक बनाएको, राजनीतिक द्वन्द्व बनाएको आरोप लाग्ने गरेको छ । तर, यी सबै दोष प्रविधि प्रयोगकर्ताहरूको भन्दा पनि मानिसको हो । मानवीय स्वार्थ र स्वभावको हो ।