मूल्य वृद्धि दोहोरो अंकनजिक

मूल्य वृद्धि दोहोरो अंकनजिक

काठमाडौंः बजारमा वस्तुको मूल्य बढेर छोइनसक्नु भएको छ । एक सय लिएर तरकारी किन्न गएमा दुई छाक पनि आउँदैन । तर, नेपाल राष्ट्र बैंकले शुक्रबार मूल्य वृद्धि खासै नभएको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार गएको वर्ष नौ दशमलब नौ प्रतिशतमात्र उपभोक्ता मूल्य वृद्धि भएको छ । यद्यपि बजारमा भूकम्प र नाकाबन्दीपछि हरेक वस्तुको मूल्य बढेर दोब्बर पुगेको छ ।

सरकारले बजेट तथा मौद्रिक नीतिमार्फत मूल्य स्थायित्व कायम गर्ने बताए पनि अघिल्लो आर्थिक वर्ष २०७२/७३ को वार्षिक उपभोक्ता मूल्य वृद्धिदर थप उकालो लागेको छ । आर्थिक गतिविधिमा देखिएको बढोत्तरीसँगै खाद्य तथा पेय पदार्थको मूल्यमा भएको उच्च वृद्धिका कारण समग्र उपभोक्ता मूल्य परिसूचक गत वर्ष २.७ प्रतिशतले बढेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको हो । अघिल्लो वर्ष समीक्षा अवधिमा उपभोक्ता मूल्य वृद्धिदर ७.२ प्रतिशत थियो ।

मागको तुलनामा उत्पादन बढ्न नसक्नु र आयातित वस्तुमा माफियाका साथै यातायातमा कायम सिन्डिकेट र बजारमा मौलाउँदै गएको नाफाखोरीका कारण मूल्य वृद्धि नियन्त्रणबाहिर गएको जानकारहरू बताउँछन् । यसले आपूर्ति प्रणाली सुदृढ बनाउन र बजारमा बढ्दो अराजकता नियन्त्रण गर्नमा सरकार असफल भएको स्पष्ट पारेको उपभोक्तावादीको भनाइ छ ।

सरकारले मूल्य वृद्धि नियन्त्रणका लागि उपयुक्त विकल्प ल्याउन नसक्दा बजार भाउ अकासिएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । ‘सरकारले खुला बजारको नाममा भाँडभैलो अर्थनीति चलाएको छ,’ उनले भने, ‘बजारमा अराजकता छ, सिन्डिकेट र कार्टेलिङको चलखेलका कारण बिचौलियाको हातमा बजार गएको छ ।’ संक्रमणकालीन अर्थ व्यवस्थाका अन्तर्राष्ट्रिय नमुना नेपालमा लागू नभएको उनले आरोप लगाए ।

सरकारले गत वर्षको बजेट तथा मौद्रिक नीतिमा उपभोक्ता मूल्य वृद्धिदर साढे सात प्रतिशतमा सीमित राख्ने प्रतिबद्धता गरेको थियो । पछिल्लो समय मूल्य वृद्धि अकासिँदै गएकाले सरकारको मूल्य नियन्त्रण गर्ने लक्ष्यमा कुठाराघात भएको छ ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य परिसूचक दोहोरो अंकले वृद्धि भएको छ भने गैरखाद्य समूहको मूल्य परिसूचकले पनि दोहोरो अंक भेट्न खोजेको छ । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकांक १० दशमलब नौ प्रतिशतले बढेको छ भने गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक नौ दशमलब दुई प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा दलहन तथा गेडागुडी, घिउ, तेल, लत्ताकपडा, जुत्ता, मसला, घरायसी सामान तथा सेवाको मूल्य वृद्धिदर उच्च रहेकोले यसको चाप समग्र मूल्यवृद्धिमा परेको हो ।

समीक्षा अवधिमा दलहन तथा गेडागुडीको मूल्य ३२ दशमलब सात, घिउ तथा तेलको मूल्य १९ दशमलब पाँच, लत्ताकपडा तथा जुत्ता र घरायसी सामानको मूल्य १४ दशमलब दुई, मसलाको १३ दशमलब पाँच प्रतिशत र सेवा समूहको मूल्यवृद्धि १२ दशमलब सात प्रतिशत रहेका कारण वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिमा थप चाप पर्न गएको राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार गएको वर्ष नौ दशमलब नौ प्रतिशतमात्र उपभोक्ता मूल्य वृद्धि भएको छ । यद्यपि बजारमा भूकम्प र नाकाबन्दीपछि हरेक वस्तुको मूल्य बढेर दोब्बर भएको छ ।

अघिल्लो वर्षमा खाद्य तथा पेय पदार्थ समूह र गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक क्रमशः ९ दशमलब ६ प्रतिशत र पाँच दशमलब दुई प्रतिशतले वृद्धि भएको छ ।

खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुमध्ये सुर्तीजन्य पदार्थको मूल्य वृद्धिदर सबैभन्दा बढी २५ दशमलब ६ प्रतिशत थियो । त्यसैगरी समीक्षा वर्षमा मदिराजन्य पदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्य सूचकांक क्रमशः २० दशमलब एक प्रतिशत र १७ दशमलव ६ प्रतिशत रहेको थियो ।

अघिल्लो वर्षमा गैरखाद्य तथा सेवा समूहका वस्तुमध्ये लत्ताकपडा तथा जुत्ताचप्पलको मूल्य सबैभन्दा बढी नौ दशमलब नौ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै समीक्षा वर्षमा फर्निसिङ तथा घरायसी उपकरण र विविध वस्तु तथा सेवाको मूल्य सूचकांक क्रमशः आठ दशमलब दुई प्रतिशत र आठ प्रतिशतले वृद्धि भएको थियो ।

क्षेत्रगत आधारमा मूल्य वृद्धि

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मूल्य वृद्धि काठमाडौं उपत्यकामा सबैभन्दा बढी देखिएको छ भने तराईमा सबैभन्दा कम देखिएको छ । गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा ११ दशमलब ६ प्रतिशत, पहाडमा १० दशमलब चार प्रतिशत, हिमालमा आठ दशमलब आठ प्रतिशत र तराईमा सात दशमलब एक प्रतिशत वृद्धिदर रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा सात दशमलब आठ प्रतिशत, पहाडमा आठ प्रतिशत र तराईमा ६ दशमलब सात प्रतिशत रहेको थियो । अघिल्लो वर्षमा क्षेत्रगत वार्षिक मूल्य वृद्धि पहाडमा सात दशमलब तीन प्रतिशत, काठमाडौं उपत्यकामा सात दशमलब दुई प्रतिशत र तराईमा सात दशमलब एक प्रतिशत थियो ।

गएको वर्ष थोक मूल्य वृद्धि ६ दशमलब तीन प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मूल्य सूचकांक ६ दशमलब एक प्रतिशत थियो । समीक्षा वर्षमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुको मूल्य वृद्धि १० दशमलब पाँच प्रतिशत र स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकांक ६ दशमलब दुई प्रतिशतले वृद्धि भएको छ । आयातीत वस्तुको मूल्य सूचकांक दुई दशमलब नौ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यी सूचकांकको मूल्य वृद्धि क्रमशः आठ दशमलब आठ प्रतिशत, पाँच दशमलब ६ प्रतिशत र शून्य दशमलब ७ प्रतिशत थियो ।

महिनागत मूल्य

गत जेठमा ११ दशमलब एक प्रतिशत रहेको मूल्य वृद्धि असारमा आइपुग्दा १० दशमलब चार प्रतिशतमा ओर्लिएको छ । वैशाखसम्म यस्तो वृद्धिदर १० प्रतिशत थियो भने चैतमा नौ दशमलब सात प्रतिशत थियो । फागुन, माघ तथा पुसमा क्रमशः उपभोक्ता मूल्य परिसूचक १० दशमलब दुई, ११ दशमलब तीन र पुसमा १२ दशमलब एक प्रतिशतले वृद्धि भएको थियो ।

भारतीय मूल्यको असर परेन

नेपाली मूल्य वृद्धिको प्रमुख स्रोत भारतीय बजारलाई मानिँदै आएको छ । यस विश्वासलाई चुनौती दिँदै भारतीय मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा देखिएन । पछिल्ला महिनामा भारतमा थोक तथा उपभोक्ता मूल्य न्यूनस्तरमा रहे पनि नेपालमा भने लगातार बढेर भारतको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २०७२/७३ मा नेपालमा उपभोक्ता मूल्यवृद्धि दर नौ दशमलब नौ प्रतिशत रहेको छ भने भारतमा सोही अवधिमा उपभोक्ता मूल्यवृद्धि दर चार दशमलब सात प्रतिशत छ । भारतीय बजारको प्रभाव नेपालमा पर्ने भनिए पनि समीक्षा अवधिमा यी दुई मुलुकबीचको मूल्य वृद्धिको अन्तर पाँच दशमलब दुई प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.