चन्द्रागिरिमा चहलपहल

चन्द्रागिरिमा चहलपहल

काठमाडौंः काठमाडौंमा नै केबलकार दौड्न थालेको तीन साता भयो । थानकोटबाट चन्द्रगिरिको डाँडोमा पुग्न लाग्ने साढे तीन घण्टाको पैदलको दूरी केबलकारले नौ मिनेटमा झारेको छ ।

साढे दुई किलोमिटरको दूरी छिचोल्न कम गतिमा जानेका लागि १४ मिनेट लाग्छ भने पूर्ण गतिको केबलबारमा गए जम्मा नौ मिनेट लाग्छ । केबलकार सञ्चालनमा आइसकेको भए पनि सञ्चालक चन्द्रागिरि हिल्सले औपचारिक उद्घाटन भने गरेको छैन । उद्घाटन नभए पनि गत साता एकै दिन १० हजारजनाले केबलकार चढेको हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए ।

महिनामा १० जना पनि नपुग्ने चन्द्रगिरि डाँडोमा रहेको भालेश्वर महादेवको मन्दिरमा केबलकार सञ्चालनपछि दैनिक एक हजारजनासम्म पुग्न थालेका छन् । चन्द्रगिरि हिल्सले व्यावसायिक प्रयोजनकै लागि निर्माण गरेको केबलकारकै कारण चन्द्रगिरि आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्ने भएको छ ।
काठमाडौं उपत्यकाबाट नजिकको गन्तव्य, उपत्यकाको धुवाँ, धुलो र कोलाहलपूर्ण वातावरण चन्द्रगिरिमा पुग्नासाथ छुट्ने भएकाले पनि आकर्षक गन्तव्य बन्ने देखिएको छ ।

महिनामा १० जना पनि नपुग्ने चन्द्रगिरि डाँडोमा रहेको भालेश्वर महादेवको मन्दिरमा केबलकार सञ्चालनपछि दैनिक एक हजारजनासम्म पुग्न थालेका छन् ।

चन्द्रगिरि पुगेपछि काठमाडौं उपत्यकालाई आकाशबाट जमिनतर्फ नियालेकै जसरी छर्लंगै देखिन्छ । चन्द्रागिरिको पहिलो विशेषता पनि चिसो, तुरुन्तै परिवर्तन हुने मौसम तथा पहाडको टुप्पोबाट गर्न सकिने दृश्यावलोकन नै हो ।

आईएमई ग्रुपका अध्यक्ष चद्रप्रसाद ढकालको लगानी रहेको चन्द्रगिरि हिल्सले काठमाडौंमा नै केबलकार सञ्चालन गरेर नयाँ काम गरेको मात्रै हैन, चन्द्रगिरिको पनि ब्रान्डिङ गरिरहेको छ । चन्द्रागिरि हिल्सले आफ्नै ब्रान्ड बनाउने अभियान सुरु गरेको जनाएको छ ।

‘पृथ्वीनाराण शाहले चन्द्रागिरिबाट अवलोकन गरेर नेपालको एकीकरण गर्ने प्रेरणा पाएका थिए भने हामीले पर्यटन एकीकरणको अभियान थाल्नुपर्छ’, आईएमई समूहका जनसम्पर्क व्यवस्थापक राजु पौडेलले भने । उनका अनुसार चन्द्रगिरि हिल्स पर्यटन विकासको नमुना क्षेत्र बनाउन चाहेकोले पनि एक सय २० रोपनी क्षेत्रफलमा नमुना पर्यटकीय स्थल विकास गर्न थालिएको हो ।

चार अर्ब लगानीमा निर्माण भएको चन्द्रागिरि केबलकार र यो क्षेत्र पर्यटन विकासको नमुना गन्तव्य हुने शाह बताउँछन् । उनका अनुसार सरकारसँग ३८ हेक्टर जमिन ४० वर्षका लागि भाडामा लिएर पर्यटकीय पूर्वाधार तयार पारिएको छ ।

धार्मिक पर्यटकीय गन्तव्यका रूपमा ब्रान्ड

चन्द्रगिरि हिल्स कम्पनीले डाँडोको टुपोमा रहेको भालेश्वर महादेवको मन्दिरसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रूपमा ब्रान्डिङ गर्न थालेको छ । यो गन्तव्यको प्रवद्र्धन गर्न केबलकारको माध्यमबाट सहज हुने र व्यापारिक उद्देश्य पनि पूरा गर्ने अभियानमा चन्द्रगिरि हिल्स लागेको छ । तीन सातादेखि विभिन्न मिडियामा आबद्ध पत्रकार, कर्मचारी, कर्पारेट क्षेत्रसहितका नाम चलेका व्यक्ति एवं राजनीतिक व्यत्तित्वलाई समेत आमन्त्रण गरेर ब्रान्ड बनाउने अभियान जारी छ ।

पृथ्वीनाराण शाहले पहिलोपटक यही डाँडोबाट काठमाडौंलाई हेरेर आक्रमणको योजना बनाएकाले यसको ऐतिहासिक महत्व छ । धार्मिक मान्यताअनुसार सतीदेवीको भाल अर्थात निधार पतन भएको स्थान भएकोले भालेश्वर महादेव स्थापना भएको पनि उल्लेख छ ।

यी महादेवलाई इच्छा पूरा हुने (इच्छेश्वर महादेव) को रूपमा पनि चिनिन्छ । यही मान्यतासँग जोडेर मन्दिरको प्रवद्र्धन गर्ने अभियान सुरु भएको छ । धार्मिक आस्थासँगै पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य, मनोरञ्जनलगायतका विशेषता पनि सँगै आउने पौडेलको बुझाइ छ ।


पर्यटक लोभिने सौन्दर्य

बिदाको दिन घुमघाममा जाने उपत्यकावासीको नजिकको गन्तव्य चन्द्रागिरि हिल्स हुन सक्छ । काठमाडौंबाट मनाकामना जान लाग्ने समय र खर्चको तुलनामा चन्द्रागिरि नजिक भएकोले पनि आन्तरिक पर्यटकको आकर्षण बन्न सक्ने महाप्रबन्धक शाहको बुझाइ छ । बिदाको दिन बिहान ८ बजे र अरू दिन ९ बजे केबलकार सुचारु हुने गरेको छ ।

बेलुका ५ बजेसम्म खुला हुने केबलकारको प्रतिघन्टा एक हजारजना क्षमता छ । यो क्षमतालाई पूर्ण प्रयोग गरेर केबलकार सञ्चालन गर्ने लक्ष्य चन्द्रगिरि हिल्सको भएकोले पनि प्राथमिकतामा आन्तरिक पर्यटक रहेको शाहको भनाइ छ ।

चन्द्रागिरिको डाँडोमा पुगेपछि काठमाडौं उपत्यका, हिम शृंखला, मकवानपुरको चित्लाङको दृश्यावलोकन गर्न सकिन्छ । डाँडोमा पुगेपछि छिनमै कुहिरोले ढाक्ने, पानी पर्ने र छिनमै खुला हुने विशेषताले पनि पर्यटक आकर्षित गर्न सक्छ । केबलकार चढेर लिने मज्जा प्रमुख विशेषता नै हो ।

केबलकारको क्षमता र लाग्ने खर्च

चन्द्रागिरिको केबलकारमा आउनेजाने यात्रा गर्दा जम्मा सात सय रुपैयाँ भाडा लाग्छ । विद्यार्थी परिचयपत्र भएका र स्थानीय बासिन्दालाई २० प्रतिशत छुट, शारीरिक अशक्तता भएकालाई ५० प्रतिशत, तीनदेखि चार फिटसम्मका बालबालिकालाई ४० प्रतिशत र सोभन्दा कमका बालबालिकालाई निःशुल्क व्यवस्था गरिएको छ ।

चन्द्रागिरिमा पुगेपछि खुला बगैंचा, चिल्ड्रेन पार्क, भ्युटावरबाट दृश्यावलोकनसहितका सबै सुविधा निःशुल्क छन् । केबलकारको टिकेट काटेपछि खानाबाहेक यहाँ उपलब्ध अघिकांश सुविधा निःशुल्क छ । पर्यटक तथा दर्शनार्थी ओसार्न ३८ वटा गोन्डोला (केबलकार) छन् । एउटा केबलकारमा आठजना अटाउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.